आईसीसी विश्वकप टी २० मा बंगलादेशले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनिडेनसको किङग्सटाउनमा भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा १५९ रन बनाएको थियो । जवाफमा नेदरल्याण्ड्सले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा केबल १३४ रन बनाउन सक्यो ।
बंगलादेशको जितमा भेट्रान खेलाडी शाकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । ४६ बलको सामना गरेका उनले ९ चौका प्रहार गरेका थिए । त्यस्तै, ओपनिङ ब्याटर तन्जिद हसनले २६ बलमा ३५ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पउल भान मिकेरनले समान दुई विकेट लिएका थिए ।
१ सय ६० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्सका सिब्राण्ड इङ्गलब्राख्टले सर्वाधिक ३३ रन जोडे भने विक्रमजीत सिंहले २६ रन बनाए । बंगलादेशका रिशद होसेनले तीन विकेट लिए ।
यो नतिजासँगै समूह डीको समीकरण थप रोचक बनेको छ । समूह डीमा बंगलादेश र नेदरल्याण्ड्ससँगै नेपाल, दक्षिण अफ्रिका र श्रीलंका पनि छन् । यो समूहबाट दक्षिण अफ्रिका यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको छ । यो खेलको नतिजासँगै श्रीलंका भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
५ टिम रहने हरेक समूहबाट दुई टिम सुपर ८ मा जाने प्रावधान छ । अब समूह डीबाट दक्षिण अफ्रिकासँगै अर्को कुन टिम सुपर ८ मा जान्छ भन्ने चासो छ । यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाको ६ अंक छ । तीन खेलमा शत प्रतिशत नतिजा निकालेको दक्षिण अफ्रिकाले बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।
दोस्रो स्थानमा रहेको बंगलादेशले तीन खेलमध्ये दुईमा जित निकालेको छ । अंक तालिकामा ४ अंक रहेको बंगलादेशले श्रीलंका र नेदरल्याण्ड्सलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । समूहको तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले तीनमध्ये एउटामा जित र दुईमा हार व्यहोरेको थियो । दुई अंक बटुलेको नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
समूहको क्रमशः चौथो र पाचौँ स्थानमा रहेका नेपाल र श्रीलंकाको समान एक अंक छ । यी दुई टिमबीच भएको खेल वर्षाका कारण रद्द भएकाले अंक बाँडेका हुन् । श्रीलंकाले तीन खेल खेलेको छ भने नेपालले केबल दुई खेल खेलेको छ । श्रीलंका बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । दुई खेल खेलेको नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
समूह डीको समीकरण रोचक बनिरहँदा सारा नेपाली समर्थकलाई अझै दुई खेल खेल्न बाँकी नेपाल सुपर ८ मा जान सक्ला कि नसक्ला भन्ने चासो छ । नेपाल सुपर ८ मा जानका लागि बंगलादेश र दक्षिण अफ्रिका दुबै टोलीलाई पराजित गर्नैपर्ने दबाबमा हुनेछ ।
नेपालले भोलि दक्षिण अफ्रिकाको सामना गर्ने छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानेडिनेसको किङ्ग्सटाउनमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुने खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको खण्डमा नेपालको सुपर ८ पुग्ने सम्भावना कायमै रहने छ । भोलि नेपालको पक्षमा नतिजा आए तीन अंकसँगै समूहको तेस्रो स्थानमा उक्लिनेछ । पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिने निश्चित छ ।
त्यसपछि नेपालले सोही मैदान र समयमा जुन १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा पनि जित हासिल गरेको खण्डमा नेपालको ५ अंक हुनेछ भने बंगलादेश ४ अंकमै सीमित हुनेछ । यस्तो भएको खण्डमा नेपाल सुपर ८ मा प्रवेश गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया