काठमाडौँ– आगामी शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटोः रोड टु डेथ’ को राजधानीमा प्रिमियर गरिएको छ ।
सस्पेन्स थ्रीलर भनिएको यो फिल्मको ललितपुरस्थित लबिम मलमा बुधवार भव्य प्रिमियर गरिएको हो । प्रिमियरका फिल्म टिमसहित कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।
फिल्म हेरिसकेपछि कलाकारले यो फिल्मको प्राविधिक पक्षको तारिफ गरेका छन् । काठमाडौँबाट धरान जाने क्रममा बाटोमा आइपर्ने अस्वभाविक समस्यालाई फिल्ममा मुख्य कथानक बनाइएको छ । यो फिल्मलाई मदन थापाले निर्देशन गरेका हुन् ।
प्रिमियरमा फिल्म हेरेका दर्शकले यसको प्राविधिक पक्षको खुलेर प्रशंसा गरे । यस्तै केन्द्रीय भूमिकामा देखिएकी रक्षा थापाले पनि तारिफ बटुलिन् ।
प्रिमियरमा उपस्थित कलाकार राजाराम दाहालले फिल्मको प्राविधिक पक्ष उत्कृष्ट लागेको र नेपालमा बन्दै आएका फिल्मभन्दा पृथक बनेको प्रतिक्रिया दिए । साथै उनले निर्देशकको कामको तारिफ पनि गरे ।
यस्तै निर्देशक ज्ञानेन्द्र देउजाले पनि फिल्मको प्राविधिक पक्ष बलियो भएको धारणा राखे । उनले कतिपय दृश्यहरु डरलाग्दा भएको समेत बताए । साथै उनले थ्रीलर जनराका फिल्म मन पर्ने दर्शकलाई ‘बाटो’ सिफारिस गरे ।
त्यस्तै अर्का कलाकार दिव्य देवले पनि फिल्मको सकारात्मक प्रतिक्रिया दिए ।
फिल्मका निर्देशक लेखक तथा सम्पादक मदन थापाले फिल्ममा पाएको प्रतिक्रियाले आफू थप उत्साहित भएको र यो फिल्म नेपालीबाहेक तमिल, तेलुगु र हिन्दी भाषामा समेत निर्माण गरिएको बताए ।
उनले भने, ‘अहिले फिल्ममेकरभन्दा दर्शक धेरै अगाडि हुनुहुन्छ, हामीले उत्कृष्ट फिल्म निर्माण गर्नैैपर्छ ।’
प्रिमियरमा सेलिब्रेटीले कलाकारको अभिनयको समेत तारिफ गरे । पूर्वेली लवजमा प्रस्तुत भएका सुलक्षण भारतीको कामको पनि धेरैले तारिफ गरे ।
यो फिल्ममा सुलक्षण भारती, रक्षा थापा, मिथिला शर्मा, आशान्त शर्मा, उत्पल झा, राजेन थापा, आभास अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको भीएफएक्स लगायतको काम भारतको चेन्नईमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया