काठमाडौँ। आजबाट तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र गुरुआमा, मालती मंगले र लालीबजार एकसाथ प्रदर्शनमा आएका हुन् ।
तीनमध्ये गुरुआमा र मालती मंगले पूर्वनिर्धारित मितिमै आएका हुन् भने लालीबजार विवादका कारण अघिल्लो शुक्रबार प्रदर्शन हुन नपाएर आजबाट रिलिज भएको हो ।
लालीबजार उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशपछि अघिल्लो शुक्रबार रिलिज हुन नपाएर आजबाट प्रदर्शनमा आएको हो । बादी समुदायको कथामा आधारित यस फिल्मलाई बुधबार उच्च अदालत पाटनले प्रदर्शनका लागि खुला गरेको हो । षड्कोण आर्ट्सले निर्माण गरेको यो फिल्ममा स्वस्तिमा खड्काले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्रमा स्वस्तिमाका अलावा रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बाल कलाकार समाइरा थापा र डेब्यु कलाकारहरू विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनय छ ।
चलचित्र यम थापाले निर्देशन गरेका छन्। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई रहेका छन् ।
यस्तै, गायक रामकृष्ण ढकालले निर्माण गरेको चलचित्र ‘मालती मंगले’ पनि आजैबाट प्रदर्शनमा आएको छ । प्रकु पाण्डेको निर्देशन रहेको चलचित्रले ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशलाई समेटेको छ । चलचित्रमा विजय बराल र वर्षा राउतको मुख्य भूमिका छ ।
चलचित्रमा विजय र वर्षाको अलावा मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरी र बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटा लगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
यस्तैगरी, आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘गुरुआमा’। प्रेम सोनी सुनारले निर्माण तथा निर्देशन गरेको यस चलचित्रले किशोर–किशोरी कसरी दुर्व्यसनमा फस्छन् र यसमा अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने सन्देश दिन्छ। चलचित्रमा दिग्गज कलाकार मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु र सुस्मा थापाको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया