काठमाडौँ – नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् । केही साता अघि मात्र प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ मा ‘टाइमलुप’को प्रयोग गरिएको थियो । जसलाई दर्शकले रुचाए ।
यही जेठ ३२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बाटोः रोड टु डेथ’ नेपालमा पहिलोपटक ‘रोड थ्रिलर’ विधामा तयार गरिएको सोही चलचित्रका अभिनेता उत्पल झाले बताए। “नेपालमै यो विधामा चलचित्र निर्माण भए जस्तो लाग्दैन । केही नयाँ गर्ने प्रयास हामीले गरेका छौँ । कोरोना महामारीको समयमा एउटा यात्रा तय गर्नुपर्ने हुन्छ । त्यही यात्रामा भेटिने साथी र हुने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । यो एउटा यात्राको कथा हो”, अभिनेता झाले भने ।
अभिनेता झा रङ्गमञ्चबाट चलचित्रमा अभिनय सुरुआत गर्दै छन् । विज्ञान विषयको विद्यार्थी भए पनि चलचित्रसम्बन्धी अध्ययन गराइने संस्था अस्कर कलेजमा अध्ययन गरेर रङ्गमञ्च हुँदै उनी अभियनमा आएका हुन् । उनी ‘बाटोः रोड टु डेथ’ मा सुरुमा ‘कास्टिङ डिरेक्टर’ को रुपमा जोडिएका थिए ।
“मैले निर्देशन पढेको छु । धेरै नाटकमा अभिनय गरेपछि यस चलचित्रमा मलाई ‘कास्टिङ डिरेक्टर’को जिम्मेवारी दिइयो । निर्देशक र निर्माताले मेरो काम हेरेकाले एउटा भूमिका गर्न आग्रह गरे । नयाँ विषय र प्रयोग भएकाले मैले पनि चलचित्रमा आउने उपयुक्त समय देखेर अभिनय गरेको हुँ”, उनले भने ।
उनले चलचित्रमा मञ्जिल केसीको भूमिका निर्वाह गरेका छन् । आफ्नै बाध्यताले कोरोनाको बन्दाबन्दीमा एउटा यात्रा गर्नै पर्ने बाध्यता र त्यहाँ भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अप्रत्यासित असामान्य गतिविधिमा चलचित्रको कथावस्तु केन्द्रित छ ।
चलचित्रमा झासँगै मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, विजय आनन्द ताम्राकार, राजेन थापालगायतका कलाकारले अभिनय गरेका छन् । मदन थापाको लेखन र निर्देशन रहेको यस चलचित्रमा शरण ऋषिले छायाङ्कन, एनबी महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । निर्देशक थापाले कथाको पात्रमा अभिनेता झा उपयुक्त लागेर नै अभिनयको प्रस्ताव गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया