काठमाडौँ– विश्वकप टी २० अन्तर्गत मङ्गलवार सम्पन्न नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न हजारौँ दर्शक अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी मैदान पुगे ।
मैदान पुगेका नेपाली समर्थकलाई डच बलर लोगन भान बिकले पनि राम्रै प्रसंशा गरे । खेलको इनिङ्ग्स ब्रेकमा उनले भनेका थिए, ‘मलाई कन्फ्युजन भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’’
नेपाली समर्थकको प्रसंशा खेलका कमेन्टेटर इयान बिसपले पनि गरे । नेपाली समर्थकको प्रशंसा गर्न आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी पनि पछि परेन । उसको सामाजिक सञ्जालका पोस्टहरुमा पनि नेपाली समर्थकको वाहवाही गरेको देखियो ।
हुन पनि ग्राण्ड प्रेरी मैदान नेपाली जर्सी लगाएका दर्शकले खचाखच भरिएको थियो । टेलिभिजनमा खेलको प्रसारण हुँदै गर्दा पृष्ठभूमिमा नेपाली पञ्चेबाजा घन्किएको सुन्न पाइएको थियो ।
तर, तपाईँहरुलाई थाहा छ यो खेलको टिकट मूल्य कति थियो ?
आईसीसीका अनुसार नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा टिकटको मूल्य ३५ डलर तोकिएको थियो । नेपालले अर्को खेल आगामी जुन ११ मा श्रीलंकाविरुद्ध अमेरिकास्थित फ्लोरिडाको लौडरडेलको ब्रोवार्ड रंगशालामा खेल्ने छ । यो खेलमा टिकटको मूल्य भने ६० डलर तोकिएको छ ।
त्यसैगरी नेपालले दक्षिण अफ्रिकाविरुद्ध आर्नोस भेल रंगशाला, सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेनसमा जुन १४ मा खेल्ने खेलमा भने टिकट मूल्य केबल २५ डलर तोकिएको छ । नेपालले समूह चरणको अन्तिम खेल जुन १६ मा बंगलादेशविरुद्ध सोही मैदानमा खेल्नेछ । उक्त खेलमा टिकट मूल्य भने केबल १७ डलर तोकिएको छ ।
यो प्रतियोगितामा भारत र पाकिस्तानबीच हुने खेलको टिकटको मूल्य सबैभन्दा धेरै तोकिएको छ । आगामी जुन ९ मा अमेरिकाको नसाउ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने खेलको टिकटको मूल्य ३ सय डलर निर्धारण गरिएको छ ।
यो प्रतियोगितामा तीन वटा खेलको टिकट मात्र ६ डलरमा किन्न पाइन्छ । यी खेलहरुमा पपुवा न्यु गिनीविरुद्ध युगाण्डा, ओमनविरुद्ध स्कटल्याण्ड, र अफगानिस्तानविरुद्ध पपुवा न्युगिनी रहेका छन् । पपुवा न्यु गिनी र युगाण्डाको खेल जुन ५ मा गुयानाको राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।
त्यसैगरी, ओमन र स्कटल्याण्डको खेल भने जुन ९ मा सर भिभियन रिचडर्स रंगशाला एन्टिगुवा एण्ड बारबुडामा हुनेछ । अफगानिस्तान र पपुवा न्यु गिनीको खेल भने ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एण्ड टोबेगोमा आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया