काठमाडौँ– केही समययता सूर्यमा लगातार साना ठूला विस्फोटहरू भइरहेका छन् । अमेरिकी स्पेस एजेन्सी (नासा)ले गत शुक्रबार र शनिबार सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको छ । पृथ्वीमा समेत यसको प्रभाव अरोराहरू र अस्थायी रेडियो ब्ल्याकआउटका रूपमा हुने गरेको वैज्ञानिकहरूको दाबी छ ।
गत महिना अर्थात् मे २७ मा मात्रै अमेरिकी स्पेस एजेन्सी (नासा)ले सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको थियो । जसका कारण अन्तरिक्षमा छरिएको प्रकाश अर्थात् अरोरा विश्वभर देखिएको थियो ।
यसैबीच नासाले फेरी अर्को सौर्य आँधीको चेतावनी जारी गरेको छ । यस कारण, अरोराहरू पृथ्वीमा फेरि देखिन सक्ने बताइएको छ ।
नासाका अनुसार सूर्यमा ठूलो विस्फोट भएपछि ऊर्जा, प्रकाश र उच्च गतिका कणहरू अन्तरिक्षमा घुमिरहेका वैज्ञानिकहरूको भनाई छ ।
यद्यपि, यसले मानिसमा प्रत्यक्ष प्रभाव पार्दैन, किनभने पृथ्वीको चुम्बकीय क्षेत्रले सौर्य आँधीहरूलाई ग्रहमा प्रवेश गर्न दिँदैन । यदि, सौर्य आँधी धेरै शक्तिशाली भएको अवस्थामा, यसले हाम्रो बिजुली ग्रिडलाई असर गर्न सक्छ । तल्लो(पृथ्वी कक्षमा तैनाथ गरिएका भूउपग्रहहरूलाई नष्ट गर्न सक्छ ।
हाम्रो सूर्य धेरै सक्रिय चरणमा रहेकोले ज्वाला निस्किरहेको र त्यसको प्रभावले पृथ्वीमा सौर्य आँधी आउने गरेको नासाले जनाएको छ । यो क्रम सन् २०२५ सम्म जारी रहन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया