मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रह्माण्ड

ब्रम्हाण्डमा प्रकृतिको अनुपम सिर्जना, नेबुलाबारे रोचक जानकारी र आकर्षक तस्वीरहरू

काठमाडौँ– प्रकृतिले पृथ्वीमा कैयन् धेरै सुन्दर ठाउँहरु सिर्जना गरेको देख्न पाइन्छ । यहाँका सुन्दर हिमाल, पहाड, मैदान, ताल, समुद्र, नदी हेर्दा मनै आनन्द हुन्छ ।

प्रकृतिको सुन्दरता पृथ्वीमा मात्रै होइन, अन्तरिक्षमा पनि उस्तै अनुपम देखिन्छ । राति खुला आकाशमा देखिने अनगिन्ती तारामण्डल हेर्दा पनि कति अद्भूत लाग्छ ।

शायद ब्रम्हाण्डको सबैभन्दा अद्भूत दृश्य हेर्न हाम्रो नाङ्गो आँखाले भ्याउँदैन, त्यसका लागि अत्याधुनिक टेलिस्कोप नै चाहिन्छ ।

हो, अन्तरिक्षमा पठाइएका टेलिस्कोपले खिचेका निहारिका अर्थात् ‘नेबुला’ को तस्वीर हेर्दा कुनै कलाकारको अनुपम कलाजस्तो देखिन्छ । नपत्याए हबल टेलिस्कोपले खिचेको यो बटरफ्लाई नेबुलाको तस्वीर हेर्नुहोस् !

यो नेबुला झट्ट हेर्दा पुतलीजस्तै देखिन्छ । यो नेबुला पृथ्वीबाट त्यति नजिक पनि छैन । सर्पधारी तारामण्डलमा अवस्थित यो नेबुला पृथ्वीबाट झण्डै ४ हजार प्रकाशवर्ष टाढा पर्छ ।

सुन्दर पुतलीजस्तो देखिए पनि वास्तवमा यसको विस्तार १.५ प्रकाश वर्ष बराबर छ ।

यस्तो अनुपम दृश्य भएका नेबुलाको रहस्य के हो भन्ने प्रश्न पनि स्वभाविकै छ । ल्याटिन भाषामा नेबुलाको शाब्दिक अर्थ कुहिरो भन्ने हुन्छ ।

ब्रम्हाण्डमा अस्तित्वमा रहेको अतिविशाल कुहिरोका पिण्डलाई निहारिका वा नेबुला भन्ने गरिन्छ । यस्ता कुहिरोमा खासगरी हाइड्रोजन र हिलियम रहेका हुन्छन् ।

ताराहरू जब बूढो हुँदै गर्दा शक्ति क्षिण हुन्छ तब त्यसमा रहेका ग्यास र बादलजन्य अवयव नेबुला बन्दछन् । स्पित्जर स्पेस टेलिस्कोपले खिचेको यो हेलिक्स नेबुलाको तस्बिर हेरौँ ।

पृथ्वीबाट सबैभन्दा नजिक रहेको यो नेबुला झण्डै ६ सय प्रकाश वर्ष टाढा छ । यो हेर्दाखेरी कुनै जनावरको आँखाजस्तै प्रतित हुन्छ । अक्वारियस तारामण्डलमा रहेको यो नेबुलाको विस्तार झण्डै तीन प्रकाश वर्ष रहेको ठानिन्छ ।

यो नेबुला पनि बूढो भएको ताराबाट बनेको विश्वास गरिन्छ ।

त्यसैगरी, कोही बेला विशाल ताराहरु बूढो भएर अति चम्किलो सुपरनोभाका रुपमा विस्फोट हुन्छन् । सुपरनोभा विस्फोट भएको ठाउँमा पनि बादल र कुहिरोको अवयव छरिएर रहेको हुन्छ ।

हबल टेलिस्कोपले खिचेको यो क्राब नेबुलालाई हेरौँ ।

यो नेबुला सुपरनोभा विस्फोटबाट बनेको विश्वास गरिन्छ । वृष तारा मण्डलमा यो नेबुला रहेको पाइन्छ । यो नेबुला धेरै पुरानो भने होइन ।

सन् १०५४ मा आकाशमा एसएन १०५४ नामक सुपरनोभा देखिएको थियो । त्यसबेला आकाशमा निकै चम्किलो नक्षत्र देखा परेको चिनियाँ र अरबी खगोलशास्त्रीले उल्लेख गरेका छन् । सोही सुपरनोभा विस्फोटबाट क्राब नेबुला बनेको बताइन्छ ।

त्यसबाहेक नयाँ तारा बन्ने क्षेत्रमा पनि नेबुलाको अस्तित्व पाइन्छ । नेबुलामा रहेका विशाल ग्यासलाई गुरुत्वाकर्षणले एकै ठाउँमा संकुचित गर्दै जान्छ । बादलहरु एकै ठाउँमा संकुचित हुँदै गर्दा गुरुत्वाकर्षणको बल यति धेरै हुन्छ कि त्यसबाट गुरुत्व केन्द्रमा तापशक्ति उत्पन्न हुन्छ ।

यस प्रक्रियाबाट नयाँ ताराको जन्म हुन्छ । हबल टेलिस्कोपले खिचेको ओरायन नेबुलाको यो अद्भूत तस्वीर हेरौँ ।

कालपुरुष तारामण्डलमा रहेको ओरायन नेबुला पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो नेबुला मानिन्छ । पृथ्वीबाट सबैभन्दा नजिक ताराको जन्म हुने क्षेत्र पनि ओरायन नेबुला नै हो । यो पृथ्वीबाट झण्डै १४ सय प्रकाश वर्ष टाढा छ ।

यो नेबुलाको विस्तार १२ प्रकाश वर्षभन्दा धेरै छ । यस नेबुलामा तीन हजारभन्दा धेरै ताराको जन्म भएको ठानिन्छ । त्यसबाहेक यहाँ नयाँ नयाँ ताराहरुको जन्म हुने प्रक्रिया पनि चलिरहेको बताइन्छ ।

हाम्रो ब्रम्हाण्डमा आकाशगङ्गाबाहेक अरु पनि तारापुञ्ज छन् भन्ने थाहा हुनुअघि ती सबै तारापुञ्जलाई खगोलशास्त्रीहरु नेबुला नै मान्दथे । उदाहरणका लागि आकाशगङ्गाको छिमेकी एण्ड्रोमेडा तारापुञ्जलाई पनि शुरुमा नेबुला नै ठानिएको थियो ।

हालसम्म ब्रम्हाण्डमा दशौँ हजारका सङ्ख्यामा नेबुला भेटिएका छन् । ब्रम्हाण्डमा अनेक आकृति र साइजका नेबुला भेटिएका छन् । कुनै यस्ता नेबुलाको विस्तार हजारौँ प्रकाशवर्ष हुन्छ भने कुनैको एक प्रकाश वर्षभन्दा पनि थोरै हुन्छ ।

एकपटक जेम्स वेब टेलिस्कोपले खिचेको यो टरान्च्युला नेबुलाको तस्बिर हेरौँ ।

डोराडो तारामण्डलमा रहेको यो नेबुला हाम्रो आकाशगङ्गामा होइन, लार्ज मजेलेनिक क्लाउड तारापुञ्जमा रहेको छ । पृथ्वीबाट यो नेबुलाको दूरी १ लाख ६१ हजार प्रकाशवर्ष टाढा छ ।

यो नेबुलाको विस्तार पनि ज्यादै धेरै छ । यो नेबुला झण्डै १ हजार प्रकाश वर्षमा विस्तारित रहेको बताइन्छ ।

जेवल बग नेबुलाको यो तस्बिर हबल टेलिस्कोपले खिचेको हो ।

हंस तारामण्डलमा रहेको यो नेबुला पृथ्वीबाट ३ हजार प्रकाशवर्षको दूरीमा छ । यो अन्य नेबुलाको तुलनामा आकारमा सानो मानिन्छ । यसको विस्तार जम्मा ०.२ प्रकाशवर्ष छ ।

यो नेबुला खासै पुरानो पनि होइन । यसको उमेर ६ सय वर्ष रहेको बताइन्छ ।

नेबुलाप्रति मानिसहरुको रुची धेरै पुरानो हो । ईशाको दोस्रो शताब्दीमा मिश्रका खगोलशास्त्री टोलेमीले आकाश हेर्दा सप्तर्षि र सिंह तारामण्डलबीच एक किसिमको कुहिरो वा नेबुला रहेको पत्ता लगाएका थिए ।

त्यसबाहेक मध्ययुगमा मुसलमान र चिनियाँ खगोलशास्त्रीहरुले पनि आकाशमा बादलको विस्तार फेला पारेको उल्लेख गरेका थिए ।

प्रकाशविज्ञानमा भएको खोजसँगै १७ औँ शताब्दीमा शक्तिशाली लेन्सको आविष्कार हुन पुग्यो । यसबाट खगोलशास्त्र पनि एक किसिमको क्रान्ति नै आयो । सन् १६१० मा फ्रान्सेली खगोलशास्त्री निकोलस क्लड फाब्री डे पेरेसले ओरायन नेबुला फेला पारेका थिए । पछि १६१८ मा स्विस खगोलशाास्त्री जोहान बाप्टिस्ट क्यास्टले पनि यही नेबुला देखे ।

सन् १६५० को दशकम इटालियन खगोलशास्त्री जियोभानी होडिएर्नाले अन्तरिक्षमा रहेका १९ वटा कुहिरोजस्ता पिण्ड (नेबुलस अब्जेक्ट्स) को सूची नै तयार पारेका थिए । पछि सन् १६५९ मा डच गणितशास्त्री क्रिस्टियान ह्युजेन्सले नेबुलाबारे थप खोजी गरेका थिए ।

त्यसको ५० वर्षपछि एडमण्ड हेलीले विभिन्न ६ नेबुलाका बारेमा आलेख तयार पारेका थिए ।

त्यस्तै, फ्रेन्च खगोलशास्त्री चाल्र्स मेसियरले पनि नेबुलाको अध्ययन गरेका थिए । उनले ११० वटा नेबुलाका सूची नै निकालेका थिए ।

यस समयमा नेबुलाप्रति रुची बढ्दै जाँदा खगोलशास्त्रीमा यसबारे आकर्षण पनि बढेर गयो । १९२० को दशकतिर अमेरिकी खगोलशास्त्री एडविन हबलले नेबुलाको अध्ययनमा क्रान्ति नै ल्याइदिए । उनले आकाशमा नेबुला ठानिएका कतिपय पिण्ड खासमा आकाशगङ्गाजस्तै तारापुञ्ज रहेको पत्ता लगाएका थिए ।

२० औँ शताब्दीको उत्तराद्र्धमा अन्तरिक्ष उडानले खगोलशास्त्रमा चमत्कार ल्याइदियो । प्रविधिको विकाससँगै अन्तरिक्षमा भू–उपग्रह र टेलिस्कोप पठाउने प्रविधिको विकास भएसँगै ग्रह, उपग्रह, तारा, तारापुञ्जजस्ता खगोलीय पिण्डको अध्ययनमा ठूलो सफलता हात पर्दै गएको छ ।

अमेरिकाले सन् १९९० मा अन्तरिक्षमा हबल टेलिस्कोप पठाएको थियो । त्यस टेलिस्कोपले विभिन्न नेबुलाको अद्भूत तस्वीरहरू पृथ्वीमा पठाउँदै आएको छ ।

हबल टेलिस्कोपले सन् १९९५ मा इगल नेबुलामा रहेको ‘पिलर्स अफ क्रिएसन’ नामक तस्वीर पृथ्वीमा पठाएको थियो ।

त्यस तस्वीरमा फरक उचाइ भएका तीन वटा स्तम्भजस्तै देखिने आकृति देखिन्थ्यो । त्यस तस्वीरलाई अझै पनि अन्तरिक्ष फोटोग्राफीको उत्कृष्ट नमूनाका रुपमा लिइन्छ ।

सन् २०२१ मा अमेरिका, युरोप र क्यानाडाका अन्तरिक्ष एजेन्सीले संयुक्त रुपमा जेम्स वेब टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरेका थिए । हबल टेलिस्कोपभन्दा झनै शक्तिशाली जेम्स वेब टेलिस्कोपले ब्रम्हाण्डमा रहेका नेबुलाका अझ अद्भूत र आकर्षक तस्वीरहरू पृथ्वीमा पठाउँदै आएको छ ।

सन् २०२२ मा जेम्स वेबले क्यारिना नेबुलामा रहेको ‘कस्मिक क्लिफ’ को तस्वीर पृथ्वीमा पठाएको थियो ।

नासाका अनुसार यो तस्वीरको मद्दतले यसअघि थाहा नभएको ताराको जन्म हुने क्षेत्रको अस्तित्व पत्ता लागेको थियो । अझै पनि खगोलशास्त्रमा रुचि राख्ने विश्वभरका मानिस अन्तरिक्षमा पठाइएका टेलिस्कोपले नेबुलाका तस्वीरहरू पठाउला भनेर पर्खिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?