काठमाडौँ– हामीले प्रयोग गर्दै आइरहेको इन्टरनेट यति द्रुत गतिमा कसरी चलिरहेको होला भन्ने तपाईँलाई पनि लाग्छ होला ।
इन्टरनेटको विश्वव्यापी बिस्तार र यसको गतिका लागि अप्टिकल फाइबरको अहम् भूमिका हुन्छ । यसले प्रकाशको सहायतामा संसारको कुनै पनि कम्प्युटरमा रहेको डाटा तपाईँको कम्प्युटरसम्म पुर्याउँछ ।
त्यसो त अप्टिकल फाइबर इन्टरनेट बाहेक अरु प्रयोजनमा पनि प्रयोगमा आउँछ । तर, विश्व सञ्जालमा इन्टरनेटलाई जोड्न यसको व्यापक प्रयोग गरिएको छ ।
अप्टिकल फाइबर पातलो तथा पारदर्शी फाइबर मार्फत प्रकाशको स्वरुपमा डाटा, आवाज, र चित्रहरु प्रसारण गर्ने विधि हो । दूरसञ्चारमा फाइबर अप्टिक टेक्नोलोजीले लामो दूरीको टेलिफोन लगायतका लाइनहरूमा तामाको तार (कपर वायर) लाई लगभग प्रतिस्थापन नै गरेको छ ।
पछिल्लो केही वर्षयता अप्टिकल फाइबर डाटा ट्रान्समिसनको भरपर्दो माध्यम बनेको छ । यसले द्रुत गतिमा प्रकाशको सहायता लिएर डिजिटल डाटा प्रसारण गर्दछ । अप्टिकल फाइबरमा प्लाष्टिक, काँच र सिलिका प्रयोग गरेर बनाइएका धेरै तारहरु हुन्छन् । जसको प्रयोगले लामो दूरीमा असीमित डाटा चुहावट र झन्झट बिनै एकैपटक पठाउन सकिन्छ ।
| यो पनि पढ्नुहोस्: यसरी शुरु भयो इन्टरनेट युग
त्यसैले पनि इन्टरनेटका लागि यो विशिष्ठ माध्यम मानिँदै आएको छ । यद्यपि कालान्तरमा यसको वैकल्पिक र अझ तीव्र गतिको कुनै माध्यमको विकास नहोला भन्न सकिँदैन ।
अप्टिकल फाइबरको प्रयोग इन्टरनेट, टेलिभिजन र टेलिफोनजस्ता दूरसञ्चार सेवाहरूमा पनि प्रयोग गर्ने गरिन्छ ।
अप्टिकल फाइबरको निर्माण कोर, क्ल्याडिङ र ज्याकेट अर्थात् कभर गरी तीन तहमा समेटिएको हुन्छ । जसमध्ये भित्री भागमा रहने कोरले डाटा आदानप्रदान गर्ने काम गर्छ । कोरभन्दा बाहिर रहने तह क्ल्याडिङ हो । यो काँचबाट निर्माण गरिएको हुन्छ । जसलाई बफरट्युव अर्थात ज्याकेटले सुरक्षा प्रदान गर्ने गर्छ ।
अप्टिकल फाइबरमा प्रकाशको माध्यमबाट डाटा ट्रान्समिट हुन्छ । उक्त डाटालाई कोरको बाहिरपट्टि हुने क्ल्याडिङ तहले अन्ततिर परावर्तन हुन लागेको डेटालाई पुनः कोरतिरै फर्काउने काम गर्छ । पारदर्शी काँच भएका कारण डाटा सिग्नलहरुले स्याटालाइट प्रविधिभन्दा चार हजार गुणा तीव्र गतिमा डाटा ट्रान्सफर गर्न सक्छ ।
डाटा प्रवाहको गति कम नहोस् भन्नाका लागि लामो दूरीको अप्टिकल फाइबर ट्रान्समिसनको बीचबीचमा ‘रिपिटर्स’ को समेत प्रयोग गरिन्छ । यस्ता रिपिटर्सहरूले अप्टिकल सिग्नलहरुलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्ने काम गर्छ ।
त्यसपछि फेरि ती विद्यतीय सिग्नलहरुलाई संशोधन गरेर अप्टिकल सिग्नलमा नै परिवर्तन गरेर प्रसारित गरिन्छ ।
यस्ता अप्टिकल फाइबर केबलहरूले करीब एक सय जीबीपीएससम्म सिग्नलहरु प्रसारण गर्न सक्छन् । सामान्यतया, फाइबर अप्टिकल केबलको ब्यान्डविथ क्षमता बढ्दै जाँदा, यो अझ महँगो समेत पर्दै जान्छ ।
यस्तो डाटा प्रसारण गर्न मल्टिमोड फाइबर र सिङ्गल मोड फाइबर गरी दुई प्रकारका अप्टिकल फाइबर प्रयोग हुन्छ । लामो दूरीमा सिग्नलहरु प्रसारण गर्नका लागि सिङ्गल मोड फाइबरको प्रयोग गरिन्छ । किनभने अप्टिकल फाइबर कोरमा भएका कम शक्तियुक्त सिग्नलहरुको क्षीण हुने सम्भावना कम हुन्छ ।
जसले सिग्नलहरुलाई लामो दूरीको यात्राका लागि सक्षम तुल्याउन मद्दत गर्छ ।
सिङ्गल मोड फाइबरमा मल्टिमोड फाइबरको तुलनामा धेरै हदसम्म व्याण्डविथ अर्थात् अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुने गर्दछ । यसमा सामान्यतया एक प्रकारको लेजर लाइटको प्रयोग गरिएको हुन्छ । यो मल्टिमोड फाइबरको तुलनामा केही महङ्गो समेत हुने गर्दछ ।
यस्तै मल्टिमोड फाइबर भने कम दुरीमा सिग्नल प्रसारणका लागि प्रयोग गरिन्छ । यस फाइबरमा प्रसारण हुने प्रकाशयुक्त सिग्नलहरु धेरैतिर परावर्तन हुन सक्छन् । जसका कारण धेरै डाटा ट्रान्समिसन हुने गर्दछ ।
यसको अर्थ मल्टिमोड फाइबरमा सिग्नलमा क्षतिसँगै कम डाटा प्रसारण वा बाह्य हस्तक्षेपले समेत प्रभाव पार्ने सम्भावना बढी हुन्छ ।
अप्टिकल फाइवरको प्रयोग
पछिल्लो समय स्वास्थ्य, सञ्चारलगायत प्राय: सबै क्षेत्रमा अप्टिकल फाइबरको प्रयोग व्वयापक रुपमा बढिरहेको छ । अप्टिकल फाइबरको डाटा सञ्चारित गर्न तथा उच्च व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को कारण कम्प्युटर नेटवर्किङलाई एक सामान्य अप्टिकल फाइबरको प्रयोग नै मान्न सकिन्छ ।
यस्तै इन्टरनेट तथा केवल टेलिभिजनको सन्दर्भमा पनि अप्टिकल फाइबरको प्रयोग बढ्दो छ । केही स्थानमा कम्प्युटर नेटवर्ककको एकआपसमा कनेक्सनको लागि समेत फाइबर अप्टिकल्सको प्रयोग गर्ने गरिएको हुन्छ ।
यसका अतिरिक्त यसको प्रयोग धेरै जोखिम हुने स्थान जस्तै समुन्द्रको पानीभित्र पनि गर्ने गरिन्छ । विश्वभर नै इन्टरनेटको पहँच पुर्याउनका लागि समुद्रमुनि यस्ता केबलहरू बिछ्याइएका हुन्छन् ।
विश्वको ९९ प्रतिशत सञ्चार र डाटा ट्रान्सफर समुद्रमुनि राखिएका यिनै सञ्चार केबलहरूबाट हुने बताइएको छ ।
यस्तै सैन्य तथा अन्तरिक्ष अनुसन्धानका लागि पनि सञ्चारसँगै सिग्नल आदानप्रदान गर्नका लागि पनि अप्टिकल फाइबरको प्रयोग गरिन्छ । त्यस्तै चिकित्सा क्षेत्रमा पनि अप्टिकल्स फाइबरको प्रयोग गर्ने गरिन्छ ।
यसमा विद्युतीय तथा चुम्वकीय हस्तक्षेप नहुने भएकोले एमआरआई स्क्यान, एक्स रे इमेजिङ्ग, एण्डोस्कोपी, लाइट थेरापी तथा सर्जिकल माइक्रोस्कोपीजस्ता परिक्षणहरुमा पनि अप्टिकल फाइबरको प्रयोग हुन्छ ।
अप्टिकल फाइबरको बढ्दो लोकप्रियता
तामाका तारहरु दुरसञ्चार, नेटवर्किङ्ग तथा केबल कनेक्सनका लागि धेरै पहिलेदेखि परिचित थिए । तर, पछिल्ला केही वर्षयता अधिकांश टेलिफोन कम्पनीहरुले पनि लामो दूरीको लाइनमा त्यस्ता लाइन हटाएर अप्टिकल फाइबर नै प्रयोग गर्न थालेका छन् ।
अप्टिकल फाइबरले उच्च ब्याण्डविथ क्षमताको समर्थन प्राप्त गरेको छ । अप्टिकल फाइबर तामाको तारका तुलनामा हलुका र बलियोसँगै कम संवेदनशील पनि हुने भएकोले यसको प्रयोग व्यापक हुँदै गएको छ ।
(विभिन्न रिपोर्टहरूमा आधारित)
यो पनि पढ्नुहोस्: इन्टरनेटको बढ्दो प्रयोगले कसरी युवापुस्ता लतमा फस्दै गइरहेका छन् ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया