मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

इन्टरनेटको बढ्दो प्रयोगले कसरी युवापुस्ता लतमा फस्दै गइरहेका छन् ?

घट्दैछ भर्चुअल दुनियाँमा रमाइरहेका युवापुस्ताको स्मरण शक्ति

काठमाडौँ– केही दशकयता व्यापक रुपमा बढ्दै गइरहेको प्रविधिको उपयोगले आम मानिसको जीवनशैली फेरिदिएको छ ।

अब इन्टरनेट व्यक्तिको दैनिक जीवनको आधारभूत आवश्यकतासँग जोडिएसँगै आफन्त, साथीभाइ तथा परिवारसँग कुरा गर्न पनि अनिवार्य रुपमा इन्टरनेटको उपयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।

भिडियो गेम खेल्न, च्याट गर्न होस् या अनलाइनमार्फत पढ्नका लागि समेत अहिले युवापुस्तादेखि वृद्धवृद्धासम्म सबैका हातमा मोबाइल डिभाइस हुनु अनिवार्यजस्तो भइरहेको छ । म्यासेन्जरबाट परिवार या साथीभाइसँग भिडियो कल गर्न, सन्देश आदानप्रदान गर्न पनि मोबाइलको प्रयोग अनिवार्यजस्तो भइसकेको छ ।

इन्टरनेटले मानिसको जीवनशैलीलाई धेरै सहज बनाइदिए पनि युवापुस्ताले भने इन्टरनेटमै अत्यधिक समय बिताउँदा आफ्नो जीवनको उर्वर समय पनि नाश गरिरहेका हुन्छन् ।

खास गरेर युवापुस्ताले राति अबेरसम्म इन्टरनेटका माध्यमबाट फिल्म हेर्ने, गेम खेल्ने गर्दा पछिल्लो पुस्तामा विभिन्न किसिमका समस्याहरू समेत देखा परिरहेका छन् ।

यस क्षेत्रका विज्ञहरूले युवापुस्तामा इन्टरनेटको ‘एडिक्सन’ बढ्दै गएको बताउँदै आएका छन् ।

बढ्दो इन्टरनेट लतका कारण ढाड दुख्ने, घाँटी दुख्ने, अनिद्रासँगै दीर्घकालीन तथा अल्पकालीन मानसिक र सामाजिक समस्याहरु देखा पर्ने विभिन्न अध्ययन र अनुसन्धानले देखाएका छन् ।

पछिल्लो पुस्तामा यो एक विकराल समस्याका रुपमा त देखिएको छ नै । अझ अर्कातिर युवापुस्ताले इन्टरनेटको दुरुपयोग गर्दा कानूनको कठघरामा समेत पुग्नुपरेको छ ।

केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा मोबाइल फोन या कम्प्युटरको प्रयोगले व्यक्तिको स्मरण शक्ति कमजोर हुँदै गइरहेको बताएका थिए । त्यतिबेला उनले मोबाइल फोन नहुँदा आफूलाई दिनमा पाँच सयभन्दा बढी टेलिफोन आउने गरेको तर अहिले कतिले त आफ्नै मोबाइल नम्बर पनि स्मरण गर्न नसक्ने बताएका थिए ।

‘हिसाब गर्न मोबाइलमा क्याल्कुलेटर झिक्न थाल्छौँ, प्रविधिको उपलब्धताले परनिर्भरता बढ्दैछ,’ उनको भनाइ थियो ।

उनले मोबाइल फोन र इन्टरनेटको बढ्दो प्रयोगले व्यक्तिको सिर्जनसिलता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

ओलीले भनेजस्तै अहिले प्रविधिको बढ्दो प्रयोगले व्यक्तिमा परनिर्भरता बढ्दै गएकोबारे यस क्षेत्रका विज्ञहरूको पनि एकै मत छ । अझ पछिल्लो समय त ‘इन्टरनेट एडिक्सन’ नेपाली समाजका लागि डरलाग्दो समस्या बनिरहेको छ ।

डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययनरत छात्र दान बहादुर बोहरा आफ्ना उहिलेका बुढापाकाहरुले एकै छिनमा गर्न सक्ने गणितीय हिसाब पनि आफूले क्याल्कुलेटरको सहायताविना गर्न नसक्ने बताउँछन् ।

‘हरेक कुरा अनलाइनमै हुने भएकाले हामीलाई यसैको बानी परिसक्यो, अहिले त झन् एआईले नै सबै थोक गरिदिन लागिसक्यो,’ उनी भन्छन्, ‘मलाई पनि इन्टरनेटमै भर पर्नु त्यति सही हो जस्तो त लाग्दैन तर समाजअनुसार चल्नै पर्‍यो ।’

इन्टरनेटमाथिको परनिर्भरताले विद्यार्थीहरू पढाइमा त्यति ध्यान नदिने र उस्तै अवस्था पर्दा राम्रोसँग लेख्न पनि नसक्ने अवस्था सिर्जना भइसकेको शिक्षाविदहरू बताउँछन् ।

काठमाडौँस्थित एक विद्यालयका शिक्षक भन्छन्, ‘अहिलेका विद्यार्थीहरू पढाइमा धेरै कमजोर छन्, उनीहरू मोबाइलमा गेम खेल्ने र सामाजिक सञ्जालमा झुम्मिने गर्छन् ।’

अवस्था यस्तो पनि छ कि, कतिपयले इन्टरनेटको लतका कारण के गरिरहेको छ, के खाइरहेको छु भन्नेसम्म भेउ पाएका हुँदैनन् ।

बिहान उठ्नासाथ मोबाइल हेर्ने र राति पनि मोबाइल हेर्दै निदाउने बानीले पढाइमा ध्यान दिन पाएका हुँदैनन् । यसले हाम्रो मष्तिष्क र आँखालाई धेरै असर गर्ने विज्ञहरू बताउँछन् । यो समस्या नेपालमा मात्र नभएर विश्वकै प्रमुख समस्या बन्दै गइरहेको छ ।

केही समयअघि ‘नेशनल स्लीप फाउण्डेसन’ ले अमेरिकामा गरेको एक सर्वेक्षणले ८९ प्रतिशत युवा र ७५ प्रतिशत बच्चाहरुले राति अबेरसम्म इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । उक्त अध्ययनले यस्ता डिभाइस (उपकरण) हरू धेरै उपयोग गर्दा थकान महसूस हुने, निद्रामा असर पुग्ने र स्मरण शक्ति कम हुँदै गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

मनोचिकित्सक डा. कपिलदेव उपाध्याय प्रविधिको अधिक प्रयोगले बालबालिका र युवापुस्तामा स्मरण क्षमतासँगै सामाजिक र मनोवैज्ञानिक समस्याहरू पनि उत्पन्न भइरहेको बताउँछन् ।

उनका अनुसार बालबालिकामा मोबाइल, ल्यापटप र भिडियो गेमको लत यस्तो हुन्छ कि, इन्टरनेटमा झुम्मिने धेरै बालबालिका र युवापुस्तामा अरुसँग बोल्दै नबोल्ने, सामाजिक उपस्थिति जनाउनै नखोज्ने स्वभाव हुन्छ ।

‘धेरै इन्टरनेट चलाउने युवापुस्ताले अरुका लागि समेत समय छुट्याउनै सक्दैनन्, यो एक खालको समस्या नै हो,’ जोय नेपालसँगको कुराकानीका क्रममा उनी अगाडि थप्छन्, ‘ग्याजेटको बढ्दो प्रयोगले विद्यार्थीको पढाइ लगायतका कुरामा पूरा ध्यान लगाउन नसक्ने हुन्छ ।’

डा. उपाध्याय इन्टरनेटको नशा रक्सी र चुरोटको नशाभन्दा पनि खतरनाक हुने बताउँछन् ।

उनका अनुसार मोबाइल ल्यापटप, कम्प्युटर, ट्याबलेटजस्ता उपकरणले दैनिकी हाम्रो सहज बनाइदिए पनि लामो समयसम्म इन्टरनेट चलाएर बस्दा बालबालिका तथा युवापुस्तामा विभिन्न किसिमका शारीरिक र मानसिक समस्या उत्पन्न हुन्छ । यद्यपि यसलाई मानसिक समस्याकै रुपमा भने लिइँदैन ।

‘मानसिक समस्या फरक पाटो हो, तर इन्टरनेटको धेरै प्रयोगले मानसिक असर भने पार्छ,’ उनी अगाडि थप्छन् ।

त्यस्तै अर्का मनोविद् शिशिर सुब्बा अहिलेका युवापुस्तामा एन्जाइटी हुने, सोसियल एक्सपोजर कम हुने, र इन्टरनेट एडिक्सन हुँदै गएको तर्क गर्छन ।

‘अहिले धेरैजसो बालबालिका भर्चुअल रियालिटी (अवास्तविक दुनियाँ) मा हराउन थालेका छन्, जसका कारण ज्ञान बढे पछि काम गर्ने क्षमता भने ज्यादै कम हुन्छ,’ उनी भन्छन् ।

अहिले इन्टरनेटमा चाहिने र नचाहिने जस्तो कुरा पनि भेटिने र इन्टरनेटमा लत भएकाले भर्खरैको कुरा पनि एकैछिनमा बिर्सिने क्रम बढेको सुब्बा बताउँछन् ।

‘यस्ता समस्याबाट जोगिन इन्टरनेटको कम उपयोग गर्ने र सामाजिक कार्यमा बढी केन्द्रित हुनुपर्छ ।,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?