मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

‘कलाकारले उसको कृति बेच्ने हो, कला होइन’

काठमाडौँ– बुटवलका नरेन्द्र भट्टराई पचासको शुरुवाती दशकमै कला सिर्जनातर्फ लागे । वि.सं. २०५५ सालदेखि उनी यही पेशामा छन्, निरन्तर ।

भर्खरै कला बुझ्दै गरेको अठार वर्षको उमेरमै नरेन्द्रले बनाएको चित्र पहिलोपटक एक हजारमा विक्री भएको थियो । त्यसपछि उनलाई लाग्यो, अब यही क्षेत्रमै केही गर्छु । मेरो खुबी त कलामा पो रहेछ ।

नरेन्द्रले औपचारिक रुपमा कलासम्बन्धि अध्ययन गरेका छैनन् । तर, भित्री चाहना र अभ्यासले उनी यस क्षेत्रमा सक्रिय छन् । यो बीचमा उनले केही कला प्रशिक्षण भने लिएको बताउँछन् ।

एक त उनको समयमा कला अध्ययन गर्ने शिक्षण संस्थाहरु त्यति नहुनु र अर्कोतिर बुवा हुलाकमा जागीरे भएका कारण देशका विभिन्न स्थानमा बसाइ सरिरहनुपर्ने बाध्यता थियो । त्यसैले पनि उनी कला स्कूलमा अध्ययन गर्न नपाएको बताउँछन् ।

‘त्यो समय नै त्यस्तै थियो, बुबाको जागीर पनि एकै ठाउँ बस्न मिल्ने खालको नभएकाले यससम्बन्धि औपचारिक अध्ययन गरिएन,’ उनी भन्छन् ।

ल्याण्डस्केप तथा दृश्य चित्र हुँदै हाल उनी अमूर्त कला सिर्जनातिर छन् । अरुलाई देखाउन बनाएका दृश्यचित्रभन्दा अमूर्त कलाले आफूलाई नै व्यक्त गर्न सघाएको उनी सुनाउँछन् । उनका लागि उनका पछिल्ला कलाकृतिहरु आफूलाई भावनामा व्यक्त गर्ने आधार हुन् ।

उनी चित्रकला क्षेत्र पनि व्यावसायिक हुने तर्क गर्छन् ।

‘बनाएका कलाकृतिहरु विक्री गरेर नै कलाकार बाँच्ने हो, कलाकार बाँच्ने आधार भएर नै कला बाँचिरहन्छ,’ उनी अगाडि थप्छन्, ‘कलाकारले उसको कृति बेच्ने हो, कला होइन ।’

कला सिर्जना गर्ने ललितकलाका सर्जकले बजार पनि हेर्नुपर्छ भन्ने मान्यता राख्ने उनी विगत तीन दशकदेखि कला सिर्जनामा छन् ।

स्वअध्ययनबाट कला क्षेत्रमा आफूलाई निखारेका नरेन्द्र हालसम्म दश हजारभन्दा बढी चित्रहरू सिर्जना गरेको बताउँछन् ।

उनका अधिकांश चित्र विक्री समेत भएका छन् । तर, आम कलाप्रेमी र कला माहोलबाट भने उनी ओझेल छन् ।

काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा निरन्तर भइरहने कलाकर्मीका भेटघाट र गोष्ठीहरूबाट पनि उनी टाढा छन् । ललितकला फाँटमा निरन्तर भइरहने कला प्रदर्शनी, कला कार्यशाला, कला बहस तथा अन्तरक्रियाहरुमा उनी कमै सहभागिता जनाउँछन् ।

कला सिर्जनामै व्यस्त भएकै कारण बाहिर जमघटमा निस्कन समय नमिल्ने उनले बताए ।

‘धेरै समय त म चित्र बनाउनतिरै हुन्छु, बाहिर निस्कने फुर्सद नै हुन्न,’ उनले भने, ‘कार्यक्रमहरुमा कहिलेकाहीँ निस्कने गर्छु, खासै जमघट भने भइरहँदैन ।’

नरेन्द्र कला सिर्जनाको शुरुवाती चरणमा नै अर्का कलाकार तथा कला संकलक, क्यसरेटर बेखराम (बीआर) श्रेष्ठसँग जोडिन पुगे ।

श्रेष्ठले लामो समयदेखि ‘निर्वाणा’ जस्ता आर्ट ग्यालरीमार्फत् कलालाई बजारसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । श्रेष्ठले भट्टराईका कलाकृतिहरु पनि कलापारखीहरुमाझ पुर्‍याइरहेका छन् ।

कला बेचेर नै कलाकारहरु बाँच्ने स्थिति नबनेको समयमा उनी भने यसैमार्फत् जीवन निर्वाह गरिरहेका छन् ।

‘कला सिर्जनामा लागेपछि मलाई आर्थिक पाटोमा गाह्रो महसुस कहिल्यै भएन । यसैबाट अहिलेसम्म सर्भाइभ भइरहेको छु,’ उनले सुनाए ।

कलाकारले कलालाई आफैंभित्र सीमित राख्ने भन्दा पनि अरुका लागि बाहिर ल्याउनुपर्ने उनको बुझाइ छ । कलालाई जति बाहिर फिँजारिदियो, त्यति नै त्यसले फैलन र कला सर्जकलाई बाँच्ने आधार बनाउने उनको धारणा छ ।

कला सिर्जनालाई बिक्री गर्ने वा नगर्ने कलाकारहरुमा भर पर्ने सुनाउँदै उनी कला भनेको बाहिर देखाउनुपर्ने कृतिका रुपमा परिभाषित गर्छन् । बाहिर आएको कलाबाट नै कलाकारलाई कलाप्रेमीहरुमार्फत् पाउने हौसला र प्रोत्साहन मिल्ने उनले सुनाए ।

उनले भने, ‘कला भनेको अरुलाई देखाउने चिज हो, अरुले कति राम्रो भनिदिएमा पनि हामीलाई अर्को सिर्जनामा हौसला मिल्छ ।’

उनले कला सिर्जना शुरु गर्दा कलाको माहोल त्यति खुल्ला रुपमा आएको थिएन । त्यतिबेला फाट्टफुट्ट प्रदर्शनी बाहेक कलाकाहरुले भित्र नै बसेर कला सिर्जना गर्ने माहोल थियो ।

तर अहिले आम मानिसको घरको भित्तादेखि सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, होटेल, क्याफेहरुका भित्ताहरुमा समेत कलाकृतिहरु कोरेको या झुन्ड्याएको देख्न सकिन्छ ।

यसरी बिस्तारै कला बाहिर आएको प्रवृत्तिलाई उनी सकारात्मक रुपमा लिन्छन् । यसले कला सिर्जना फाँटलाई आर्थिक रुपमा समेत मजबुत बनाउने उनको आशा छ । यसले नयाँ पुस्तालाई समेत यसतर्फ आकर्षित गरिरहेको उनको ठम्याइँ छ ।

कला सिर्जनामा आउन चाहने र आएका नयाँ पुस्तालाई भने उनको सुझाव छ, ‘कलामा ठूलो सपना बोकेर, होइन संघर्ष गरेर सफल हुन्छु भन्ने कुरा बुझ्नुपर्छ, आफू यहि क्षेत्रमा नै लाग्छु भनेर तयार भएर मात्र आउनुभयो भने राम्रो हुन्छ ।’

शुरुमै पिकासो (विश्वचर्चित स्पेनिस चित्रकार) जस्ता कलाकार बन्छु भनेर कला क्षेत्रमा होमिने नयाँ पुस्ताहरुको सपना टुट्न सक्ने कुरामा उनी शतर्क गराउँछन् । यसमा सङ्घर्ष तथा चुनौतीलाई सम्झौता गरेर आउन नयाँ पुस्तालाई उनको आग्रह छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?