मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानव जीवनको अस्तित्वलाई बुझाउने १५ लाखको प्रतिस्थापन कला

काठमाडौँ– दाउराको चितामाथि सेतो कपडामा मान्छेकै एउटा स्वरुप लमतन्न छ । उसको शरीर नीलो रंगका ट्याटु आकृतिहरुले भरिएका छन् ।

शरीरको कम्मर मुनि थोरै ढाकिएको सेतो कपडाभन्दा बाहेक सबै निर्वस्त्र छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको भन्ने कुरा लगाइएका ब्यान्डेजहरुबाट प्रस्ट हुन्छ । चिताकै छेउमा धूप बालिएको छ भने केही थान हजार रुपैयाँका बन्डलहरु, सुन तथा गहनाहरु र केही काजगपत्र रातो कपडामाथि राखिएका छन् ।

त्यसकै वरिपरि मानिसहरुको भीड देखिन्छ । लाग्छ, ती मानिसका भिड एउटा शबको मलामी बनेर उभिरहेका छन् ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा यही दृश्य हेर्ने मानिसहरुको भिडमा एक भावुक माहोल थियो । प्रतिष्ठानले शुरु गरेको बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत कलाकार टाशी सलाका शेर्पाले प्रतिस्थापन कलाका रुपमा प्रदर्शन गरेका हुन् ।

‘मरि लानु के छ र’ शीर्षक राखिएको यस कलाले मानिसको जीवनकालभरी रहेको धन, सम्पत्ति जस्ता भौतिक वस्तुहरु मरणपछि महत्वहीन बन्ने अर्थलाई प्रस्ट्याएको शेर्पाले बताए ।

मान्छे बाँचुन्जेल संघर्षरत रहन्छ । बिहानबेलुका हातमुख जोड्न मात्र होइन, भोलिका लागि पनि मान्छे बाँचिरहेका छन् । उसलाई आजको जोहो गरेर पुग्दैन, भोलिका लागि समेत ऊ मरिमेटी गरिरहेको छ ।

‘आज बाँचिरहेको मान्छेले के भोलि देख्न सक्ला र, यदि भोलिको समय टुंगो छैन भने आज हामीले आर्जन गरेका सम्पूर्ण वस्तुहरु कसका लागि हुन्, हामी नै छैनौं भने हाम्रा निजी भनिएका धन दौलत कसका लागि हुन् ?’ शेर्पाका प्रतिस्थापन कलाले उपस्थित सम्पूर्णलाई यही प्रश्नहरुको कठघरामा उभ्याइरहेको थियो ।

त्यही कला छेउ शान्त रुपमा उभिएका थिए कलाकार शेर्पा ।

मान्छेकै आकृतिमा सिलिकनबाट बनाएको कलाको मूल्य उनले १५ लाख रुपैयाँ राखेका छन् । उनका अनुसार तीन महिना समयावधिमा उनले उक्त कला तयार पारेका थिए । शुरुमा एकजना मानव मोडल नै राखेर उनले त्यसकै नमुनामा सिलिकनको हुबहु कला तयार गरेको बताए ।

त्यसमा ट्याटु कला कोर्न समेत उनले निकै समय लगाए । शरीर आकृतिमा कपाल समेत रोपिएको छ । शेर्पाको कलाकृति अवलोकन गर्दै गर्दा जोकोहीलाई पनि मान्छेको मृत्युपछिको अन्तिम दाहसंस्कारको दृश्य झल्को आउँछ । कला अवलोकन गर्दा त्यही दृश्य आओस् भन्ने उद्देश्यले नै कला तयार गरिएको उनले सुनाए ।

खासमा शेर्पा ट्याटु कलाकार हुन् । काठमाडौं जोरपाटीका उनी भिजुअल कलाकार समेत हुन् । काठमाडौं विश्व विद्यालयबाट उनले स्नातक गरेका छन् । विशेषत ट्याटु र भिजुअल कलाका माध्यमबाट युवापुस्तालाई कलात्मक तवरमा शरीर, आत्मा तथा मानव जीवनका कथाहरुबारे बुझाउँदै आएका छन् ।

नेपालमा ‘ट्याटु च्यारिटी एक्सपो–२०२४’, तथा भारतमा ‘कलाः ए ग्लोवल ग्यादरिङ ट्याटु सम्मेलन २०२४’ लगायत प्रदर्शनीमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन् । साथै नेपालका विभिन्न कला प्रदर्शनीमा समेत उनले सहभागिता जनाएका छन् ।

आफ्नो कलाले मानिसलाई सादगी जीवन जिउन उत्प्रेरत गर्ने कलाकार शेर्पाले बताए । उनले भने, ‘जसरी कलामा मान्छे चितामा आरामसँग सुतिरहेको छ, त्यसरी नै हामी मरेपछि केही चाहिँदैन । धन सम्पत्ति सबै कुरा छोडेर हामी यसैगरी जानुपर्छ । यही कुरा मान्छेलाई बुझाउन यो आर्ट तयार गरेको हुँ ।’

आफ्नो नजिकका साथीभाइ तथा आम मानिसहरुले गरिरहेको घमण्ड, पैसाकै लागि गरिरहेको अनैतिक कार्य देखे/भोगेपछि यस्तो कलाकृति बनाउने प्रयास गरेको उनले सुनाए । उनका अनुसार भौतिक सम्पत्ति मानिसका लागि क्षणिक मात्र हुन् भन्ने बुझाउँछ ।

उनका अनुसार बाँचुन्जेल मान्छेले लोभ, लालचभन्दा पनि आपसी प्रेम तथा नम्र भावले बाँच्न सिक्नुपर्छ भन्ने सन्देश उनको कलाले दिने जमर्काे गरेको छ । उनी कला शीर्षककै शैलीमा फेरि दोहोराउँछन्, ‘आखिर हामी मान्छेले मरिलानु के छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?