मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लोक संस्कृति

‘आधुनिकताको सिको गर्दा देउडा गीतको मुटु हराउँदै गएको छ’

देउडा भाकामा अटाउन छोडे समाजका कथा

काठमाडौँ– ‘वारीको खेत बगाइ लैगो, वारीको खेत बगाइ लैगो

पारीका खोलाले बाज, ओ बाज झुम्रौली बाज

राधिकाको दर्शन भैगोराधिकाको दर्शन भैगो

कृष्णको चोलाले बाज ओ वाज झम्रौली बाज’ 

वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले यही देउडा गीतलाई २०३४ सालमा राजधानीमा सँगै लिएर आए । रेडियो नेपालमा जोशीले यही देउडा गीतका हरफलाई लय हालेर गाउँदै गर्दा धेरैजसो सुन्नेलाई अनौठो लाग्थ्यो ।

सुदूरपश्चिमको गाउँघर, वनपाखामा र मेलापातमा गुञ्जिने देउडा भाकालाई जोशीले नै पहिलोपल्ट काठमाडौं आएर रेकर्ड गराएका थिए । जोशीले सुदूरको भाका मात्र नभएर त्यहाँको लय, भाषा र संस्कृति र त्यहाँको अभावलाई देउडामार्फत् राजधानीको सत्ता र शासकलाई सुनाउने काम गरे ।

जोशीका अनुसार गाउँघर तथा वनपाखामा एक्लोपन मेटाउन गाइने गीत नै खास देउडा गीत हुन् । कानमा हात लगाएर विरही भाकामा घर, प्रेम, समाज, देश तथा विभिन्न देविदेवताका गाथामा आधारित भएर गाइने गीत अर्थात् ठाडीभाका मौलिक देउडा गीतको भिन्न प्रकार भएको उनले बताए ।

जुन अहिले विरलै सुनिने गरेको पाइन्छ ।

पैया गुडन लाग्या, मुम्बई जान्या रेलगाडीका,

पैया गुडन लाग्या अब छुट्न लाग्या,

पहाडका डाँडाखोला अब छुटन लाग्या’

यस्ता गीतहरु अहिले पनि सुदूरपश्चिममा उत्तिकै लोकप्रिय छन् । सुदूरपश्चिममा गाइने देउडा गीतले त्यहाँको प्राकृतिक सम्पदा, त्यहाँको मौलिकता, तथा गरिबी तथा भौगोलिक विकटताको कारण मुम्बई (भारत) जानुपर्ने अवस्थालाई पनि चित्रण गर्छन् ।

जोशीका अनुसार उबेलामा वनजंगल, मेलापात जाँदा सुदूरपश्चिमका महिलाहरु सुमधुर स्वरमा देउडाभाका गुनगुनाउँथे । बाटो हिँड्ने मानिसहरु उकालो–ओरालो हिँड्दै गर्दा सुमधुर देउडा भाकाको आनन्द लिँदै रुखको छहारीमा आराम गर्थे ।

जसले शरीरसँगै मनलाई पनि आराम मिल्ने उनको अनुभवले बताउँछ । केटा र केटीबीच मायाप्रेम, जन्मदेखि मृत्युसम्मका भोगाइ र कहानीहरु, समसामयिक राजनीतिक अवस्थालाई देउडा गीतहरुमा समावेश गरेको पाइन्छ ।

केही दशक पहिले घर, मेलापर्व, गोठालो तथा घाँसदाउरा, कृषि कर्ममा समेत गुन्जिने देउडाभाका अचेल विभिन्न आधुनिक प्लेटफर्ममा सुन्न सकिन्छ । संगीतमा आएको आधुनिकताले देउडा भाका पनि अछूत छैन ।

देउडामा जति नयाँ पुस्ता भित्रियो त्यति नै यसमा मौलिकता हराउँदै गएकोप्रति जोशीले चिन्ता व्यक्त गरे ।

सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडाले अहिले आमसञ्चार र संगीतप्रेमीमाझ लोकप्रियता पाए पनि मौलिकताको स्वाद लिन नपाएको गायक जोशीले भावुक भावमा जोय नेपालसँगको कुराकानीमा सुनाए ।

जोशीकै भनाइ जस्तै अहिले देउडाले प्राथमिकता पाएको जस्तो देखिए पनि मौलिकताको कमी खड्केको सुदूरपश्चिममा सक्रिय अन्य देउडा गायक तथा कलाकार महेश कुमार औजी र भानुभक्त जोशी सुनाउँछन् । उनीहरुका अनुसार देउडाको लोकप्रियता बढ्दै गए पनि पछिल्लो समय उच्छृङ्खलता भने भित्रिँदै गएको छ ।

केही समयअघि जोय नेपालसँगको कुराकानी गर्दै गायक भानुभक्त जोशीले भनेका थिए, ‘देउडा गीतले लोकप्रियता कमाउँदै गइरहेका बेलामा मौलिकता नै मास्ने गीत गाइनु ठीक होइन, मैले लामो समय यो क्षेत्रमा काम गरेँ, तर अहिलेका कति कलाकारले गाएका गीत आफैलाई सुन्दा पनि नराम्रो लाग्छ ।’

लोकप्रियतासँगै विसङ्गति भित्रिने हो कि भन्नेमा उनको चिन्ता थियो ।

लामो समय देउडा संस्कृतिको उत्थानमा बिताएका गायक नन्दकृष्ण जोशी सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रख्यात मानिएको देउडा संस्कृति र गीतले सहजै सबैको मन जित्ने बताउँछन् । उनका अनुसार अहिले बजारमा ल्याइने देउडा गीतहरूमा नेपाली लोकदोहोरी र आधुनिक गीतको प्रभाव परेर मौलिकतामै धमिलोपन आएको छ ।

त आइगै डोटी है, म आया बझाङबाटै, त आया डोटी है

क्या माया लोटी है, भेटघाटै नहुन्या ठौर क्या माया लोटी है’

यस्ता शब्दहरु आउने गीतहरु नै मौलिक देउडा गीत भएको उनको भनाइ छ । जसमा मौलिक शब्द तथा भाषामा पनि कुनै धमिलोपन नभएको उनको भनाइ छ ।

अहिलेका नयाँ पुस्ताका केही कलाकारहरुले मौलिक विषयवस्तुको ज्ञान नै नराखी गीत गाएकाले देउडा गीतहरु एकछिनको रमाइलो मात्रै हुने गरेको उनले सुनाए । देउडा गीत र डोटेली भाषा नै फरक भएको उनको भनाइ छ ।

छड्के नन्द केश, हाल वौजु तोरीका तेल, छड्के नन्द केश

हामी जन्म्या देश, विशु पर्व आउनै लाग्यो, हामी जन्म्या देश’

अहिले उत्पादन गरिएका गीतहरुमा भने यस्ता शब्द नपाइने उनले बताए । गायक नन्दकृष्णका अनुसार अहिले देउडा गीतहरु नै बिगारिएको छ ।

वि.सं. २०४३ सालमा रेडियो नेपालमा भएको लोकगीत सम्मेलनमा ‘छमक–छमक नेपालगञ्ज शहरमै’ भन्ने  गीत गाएर प्रथम पुरस्कार पाएको स्मरण गर्दै जोशीले आफ्नो मौलिकता बिर्सेर जति राम्रो भनेर गाए पनि मान्छेको मन मुटुमा बस्न नसकिने तर्क गरे ।

सबैभन्दा समुद्धशाली संस्कृति सेती महाकाली र कर्णालीको भएको उनको दाबी छ । सुदूरको संस्कृति देशका अन्य ठाउमा पाउन मुस्किल पर्ने भएकोले यसको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने जोशीको सुझाव छ ।

उनले जोय नेपालसँगको कुराकानीमा भने,‘ मौलिक देउडा गीत गाउने भनेको गाउँघरका महिलाहरु नै हुन् । तिनले गाउने भाषा, तिनका शब्द तथा भाकामा गीत बनाए मात्र सुदूरपश्चिमको भाषा, संस्कृतिको सम्मान हुन्छ ।’

मौलिक देउडा, ठाडी भाका, न्याउले खेल लगायतका देउडा संस्कृतिलाई बचाउन यसलाई सांस्कृतिक पर्यटनको रूपमा विकास गर्नु आवश्यक देखिएको उनको भनाइ छ ।

विश्वविद्यालयकै पाठ्यक्रममा देउडा संस्कृति मात्र नभई सुदूरपश्चिम तथा कर्णाली प्रदेशको सबै संस्कृति झल्कने विषयवस्तु समावेश हुनुपर्ने उनको तर्क छ । पढाउने तथा यससम्बन्धी खोज तथा अनुसन्धान समेत हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?