मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बहसमा नेपाली सिनेमा

मौलिकताका नाममा कसरी डुबिरहेको छ नेपाली सिनेमा उद्योग?

अब हामीले कस्ता सिनेमा बनाउने भनेर पुनर्विचार गर्नुपर्छ

काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व सिनेमा बजार लामो समय ठप्प भयो । संसारका ठूला सिनेमा उद्योग बन्द गरिए भने ठूला बजेटका हलिउड सिनेमाहरूको प्रदर्शन नै स्थगित गरियो । यसको मारमा नेपाली सिनेमा उद्योग पनि नपर्ने कुरै भएन ।

विश्वभर आर्थिक सङ्कट ल्याएको कोरोना महामारीको युग त सकिएको छ । तर, नेपाली सिनेमा उद्योग भने अझै पनि थला परिरहेको छ ।

हलिउड/बलिउड सँगसँगै दक्षिण भारतीय सिनेमाले नेपालबाट करोडौँ रुपैयाँ हाराहारीमा कमाइ गरिरहेका छन् । तर, अपवादलाई छाड्ने हो भने नेपाली सिनेमाले हलमा पर्याप्त शो समेत नपाएको सिनेकर्मीले गुनासो गर्दै आइरहेका छन् ।

हालै प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महाजात्रा’ ले राम्रै व्यापार गरेको निर्माण टिमले दाबी गरे पनि पछिल्लो व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन । समीक्षकको औसत र दर्शकको मिश्रित प्रतिक्रिया पाएको यो सिनेमा प्रदर्शनकै क्रममा रहेकाले कस्तो कमाइ गर्नेछ, अहिले भन्न सकिन्न ।

त्यो बाहेक बाहेक यस वर्ष प्रदर्शनमा आएका सिनेमा जारी, नाङ्गो गाउँ, परदेशी २, दिमाग खराब लगायतका केही सिनेमाले आफ्नो लगानी सुरक्षित गरे । अरु सिनेमालाई भने निर्माण गर्दा लागेको लगानी उठाउन समेत हम्मे हम्मे पर्‍यो ।

नेपालमा सम्भावना बोकेका सेलिब्रेटी कलाकार र निर्देशकका सिनेमाले पनि दर्शकको अपेक्षा पूरा गर्न सकेका छैनन् । एक हिसाबले भन्ने हो भने नेपाली सिनेमा र दर्शकबीचको सम्बन्ध झनभन्दा झन् टाढिँदै गएको छ ।

आखिर नेपाली सिनेमामा के तालमेल मिलिरहेको छैन त?

निर्देशक दीपेन्द्र के. खनाल भन्छन्, ‘समयसँगै दर्शकको टेस्ट फेरिएको छ, यसले नेपाली सिनेमा क्षेत्रलाई झन् अप्ठेरोमा पारेको छ ।’

उनका अनुसार दर्शकको सिनेमाप्रतिको दृष्टिकोण फेरिँदै गएको छ । तर, नेपाली सिनेमा अहिले पनि उही सामाजिक कथाको पछाडि लागिरहेका छन् ।

‘दक्षिण भारतीय मेकरले दर्शकको सिनेमाप्रतिको स्वाद नै बदलिदिएका छन्, अहिले दर्शकले सामाजिक र मौलिक कथाभन्दा पनि लार्जर देन लाइफ सिनेमामा रुचि देखाएका छन्, तर हामीले अहिले पनि उनै सामाजिक कथाको खोजीमा लागेका छौँ,’ निर्देशक खनाल भन्छन् ।

उनको बुझाइमा नेपालमा अहिले ‘एनिमल’, ‘केजीएफ’, ‘सलार’ जस्ता सिनेमा निर्माण हुन सक्दैनन् । यसका लागि ठूलो लगानीको त खाँचो छ नै, अर्कातिर नेपाली समाजले यस्ता सिनेमाको विरोध गर्छन् । नेपालमा ‘एनिमल’ जस्ता सिनेमा निर्माण गर्ने हो भने ‘सेन्सर’ मा पनि समस्या झेल्नुपर्ने हुन्छ ।

फरक खालका सिनेमा निर्माण गर्न निकै झण्झट पनि छ ।

‘दर्शकले उस्तै खालका नेपाली सिनेमा हेर्न बाध्य छन्, नयाँ कलाकार पनि आएका छैनन्, उनै कलाकारको उस्तै खालको अभिनय दोहोरिएको छ, त्यसैले पनि नेपाली सिनेमा उही भुमरीमा थलिएका छन्,’ निर्देशक खनाल जोय नेपालको कुराकानीमा सुनाउँछन्, ‘म आफै पनि फरक शैलीको सिनेमा निर्देशन गर्न पाए हुन्थ्यो भन्नेमा छु, हाम्रा सिनेमामा नयाँपन केही दिन सकिएन ।’

निर्देशक खनालले भनेझैँ घरेलु सिनेमाको बजार झनभन्दा झन् खस्किँदै जाँदा कतिपय निर्माता सिनेमा निर्माणको घोषणामा मात्र सीमित छन् ।

नेपाली सिनेमाको यो हविगत हुँदा केही समयअघि प्रदर्शनमा आएको दक्षिण भारतीय सिनेमा ‘सलार’ ले नेपालमै करोडौँको व्यापार गर्‍यो । यो सिनेमाले दक्षिण भारतमा त धमाका मच्चायो नै । विदेशमा समेत राम्रो व्यापार गर्‍यो । पहिले दक्षिण भारतीय भारतमा मात्र केन्द्रित भएका मेकरहरुले अहिले आफ्ना सिनेमालाई विश्व बजारमा स्थापित गरिसकेका छन् ।

‘सलार’ मात्र होइन ।  प्राय: विदेशी सिनेमाले नेपालमा ‘इन्ट्री’ गरेपछि धमाकेदार कमाइ गरेरै बाहिरिने गरेका छन् । शुरुमा नेपालमा रिलिज नगरिएको दक्षिण भारतीय सिनेमा ‘हनुमान’ त अझ केही समयपछि मात्र प्रदर्शनमा ल्याइएको थियो । त्यसले समेत नेपाली बजारमा राम्रो व्यापार गर्‍यो ।

त्यसो त ‘लार्जर देन लाइफ’ क्यानभासका कैयन् दक्षिण भारतीय सिनेमाले बलिउडलाई समेत चक्मा दिन थालिसकेका छन् ।

भारतीय सिनेमा उद्योगमा एसएस राजामौली, प्रशान्त नील, राजकुमार हिरानी लगायतका केही निर्देशक छन्, जसको सिनेमा भने पनि दर्शकमा छुट्टै खालको उत्साह पैदा हुने गर्छ ।

तर, नेपालको हकमा भने न त निर्देशकको स्टारडम छ । न त कलाकारको नै भयंकर स्टारडम छ । पछिल्लो अवस्थामा न त कुनै कलाकारप्रति दर्शकको क्रेज छ, न त कुनै निर्देशकलाई नै दर्शकले पूर्ण रुपमा विश्वास गर्न सकेका छन् ।

निर्देशक तथा समीक्षक मनोज पण्डित नेपाली मेकरले दर्शकको मनोविज्ञान बुझेर सिनेमा निर्माण गर्न नसकेको स्वीकार्छन् । उनी भन्छन्– कुनै बेला हामीले मौलिक सिनेमा बनाउनुपर्छ भनेर म पनि लागेँ तर अब हामीले दर्शकको रुचि अनुसारका सिनेमा निर्माण गर्नुपर्छ भन्ने लाग्छ ।

‘कुनै समय हामी ठीक थियौँ, तर समयानुकुल परिवर्तन हुन सकेनौँ,’ उनी भन्छन् ।

अहिले विश्व सिनेमा बजारमा पात्रको चरित्रमाथि गहिरो अनुसन्धान गरेर सिनेमा निर्माण गर्ने गरिएको तर नेपाली मेकर यथार्थपरक सिनेमाको पछि दौडिएको उनी बताउँछन् ।

‘दक्षिण भारतीय तथा हिन्दी सिनेमाले पनि पात्रको मनोविज्ञान बुझेर दर्शकको चाहना अनुसारका सिनेमा निर्माण गरिरहेका छन्, हामी भने यथार्थपरक भन्दै दौडियौँ, यसले समस्या देखिएको हो,’ पण्डित भन्छन् ।

उनी तर्क गर्छन्, ‘अब हामीले मानवीय चरित्रलाई केलाएर त्यही अनुसारका पात्रमा सिनेमा निर्माण गर्नुपर्छ ।’

उनका अनुसार मानवीय मनोविज्ञानले समाजमा ठूलो प्रभाव पार्छ । मानवीय चरित्रका दुई महत्त्वपूर्ण पात्र हुन्छन् – पूरुषत्व र स्त्रीत्त्व ।

बलिउड र दक्षिण भारतीय सिनेमामा अहिले पुरुषत्त्वलाई बढी देखाइएको छ । तर, नेपाली सिनेमामा यथार्थपरक पक्षलाई मात्र समेट्न खोजिएको छ ।

‘हामीले अध्ययनविना सिनेमा बनाइरहेका छौँ, पहिले हामी मार्क्सवादी चिन्तनमा रहेर सिनेमा निर्माण हुनुपर्छ भन्यौँ, अब त्यही एउटै चिन्तनले मात्र हुँदैन,’ निर्देशक पण्डित भन्छन् ।

उनको निचोड छ, ‘अब हामीले कस्ता सिनेमा बनाउने भनेर पुनर्विचार गर्नुपर्छ ।’

निर्देशकको पण्डितको बुझाइमा नेपालमा मनोवैज्ञानिक ज्ञानको तह एकदमै न्यून छ । त्यसैले एउटै खालका सिनेमा निर्माण भइरहेका छन् ।

नेपालमा पदर्शन हुने प्रायः सिनेमाहरु उस्तै प्रकृतिका हुन्छन् । जसले गर्दा दर्शकलाई पनि नेपाली सिनेमाप्रति खासै चासो रहेको पाइँदैन । एकाध सिनेमाले बाहेक अरु सिनेमाले राम्रो कमाइ गर्न सकेका छैनन् । निर्माताले करोडौँ रुपैयाँको लगानी डुबाइरहेका छन् ।

नेपाली सिनेमा अब फरक धारको र दर्शकको मनोविज्ञान बुझेर व्यावसायिक रुपमा पनि सफल हुनुपर्ने कतिपयको बुझाइ छ ।

निर्देशक दीपेन्द्र के खनाल पनि अब सिनेमामा नयाँपन आउनुपर्ने तर्क अगाडि सार्छन् ।

‘हामीले उही प्रकृतिका सिनेमा धेरै बनायौँ, यसले नेपाली सिनेमाको बजार झन् सानो बनाइरहेको छ, अब हामीले कुनै जादु गर्ने खालको सिनेमा बनाउनुपर्छ, त्यसका लागि म पनि प्रतीक्षा गरिरहेको छु,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?