मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होली विशेष

होली खेल्न कस्तो रंग किन्ने? आफ्नो छालालाई कसरी जोगाउने?

बजारमा बेच्न राखिएका रंगहरूमा हुने केमिकलले छालामा समस्या

रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होली काठमाडौँ उपत्यका लगायत नेपालका पहाडी जिल्लामा आज (आइतवार) मनाइँदैछ भने तराई क्षेत्रमा भोलि (सोमवार) मनाइँदैछ। सप्तरङ्गी रंग लगाएर हामी आफ्ना स–परिवार र साथीभाइ जम्मा भएर होली खेल्ने गर्छौँ ।

केही समय पहिला होलीको धेरै व्यापकता नभए पनि पछिल्लो समय अन्य चाडपर्वहरु सरह नै होली मनाउन थालिएको छ । उपत्यकामा लोला, रंग तथा पानी छ्यापेर होली खेल्ने गरिन्छ । होली खेल्दै गर्दा रसायनिक केमिकल मिसाएर बनाइने रंगहरुले हाम्रो स्वास्थ्यमा कति असर गर्छ भन्ने कुरामा भने हामीले ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

होली खेलेपश्चात् विभिन्न समस्याहरु लिएर बिरामीहरु अस्पताल आउने गरेको चिकित्सकहरु बताउँछन् । होलीको रंगबाट कसरी जोगिने ? कस्तो शर्तकता अपनाएर होली खेल्न सकिन्छ ? होलीका रंगहरुले कस्ता जटिलता निम्त्याउन सक्छ भन्ने सन्दर्भमा छाला रोग विशेषज्ञ डा. उमा केएलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

होलीका रंगहरु हाम्रो स्वास्थ्यका लागि कत्तिको हानिकारक हुन्छन् ?

अहिले होलीमा प्रयोग गरिने प्रायः सबैमा नै केमिकल (रसायन) मिसिएको पाइन्छ । जसले गर्दा छालामा असर गर्छ । तर केमिकलसँगै त्यो रंग कति समय तपाईको छालामा रह्यो भन्ने कुरा पनि अर्को महत्वपूर्ण हुन्छ । कलर लगाउने बित्तिकै पखालिहाल्यो भने त्यति असर गर्दैन तर रंग लगाएर लामो समय स्किनको कन्ट्याकमा भयो र सनएक्सपोजर भयो भने यसले अझ बढी हानी गर्छ ।

हाम्रो छालामा गढेका रंगहरु सहजै नजाने हुँदा हामी स्क्रबहरु पनि गर्छौं । जसकारण छाला झन पोल्ने, बिबिरा आउने समस्या समेत देखिन्छ । त्यसमाथि रंगले कपाल एकदमै ड्राई (सुख्खा) बनाउँछ र नङमा समेत इन्फेक्सन (संकम्रण) हुनसक्छ ।

होली खेल्नुपूर्व हामीले कसरी संयमता अपनाउन सक्छौं ?

हामीले होली खेल्नुपूर्व कपालमा तेल लगाउनुपर्छ । तर तोरीको तेलको भने प्रयोग गर्नु हुँदैन । नरिवलको तेल, ओलिभ ओयल, आल्मन्ड जस्ता तेलहरुको प्रयोग गर्नुपर्छ । त्यसपछि शरीरमा बढी लोसन, मोस्चराइजरको प्रयोग गर्नुपर्दछ । आँखामा चश्मा लगाएर रंगका कणहरु पस्नबाट जोगाउनुपर्दछ । सकेसम्म ड्राई पाउडरको प्रयोग गर्नुहुँदैन । किनकि, पानीमा मिसाएर प्रयोग भएको रंगले सुख्खा रंगको तुलनामा कम प्रभाव पार्छ । यसले अनुहारमा सनस्क्रिनको प्रयोग गर्न भुल्नु हुँदैन ।

होली खेलिसकेपछि कसरी सरसफाइमा ध्यान दिने त?

होली खेलिसकेपछि होलीको रंग हाम्रो छालाबाट हटाउँदा जहिले पनि चिसो पानीको प्रयोग गर्नुपर्छ । किनभने तातो पानीले रंग झनै छालामा टाँसिन्छ र हटाउन गाह्रो हुन्छ । रङ छालाबाट हटाउनको लागि स्कर्बको प्रयोग गर्नुहुँदैन । जहिले नरम र आयुर्वेदिक सफ्ट क्लिन्जिङ्गको प्रयोग गर्नुपर्छ ।

होली खेलेपछि नुहाउँदा हामीले मिल्ड साबुन, फ्री क्लिनजरको प्रयोग पनि गर्न सक्छौं । हामीले होली खेलिसकेपछिको एक साता अनुहार र छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । त्यसका लागि नियमित भन्दा बढी ‘बडी लोसन’ लगाउने र मोस्चराइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

जसले गर्दा स्क्रिन बढी सुख्खा हुन पाउँदैन । कपालबाट होलीको रङ हटाउन मनतातो पानीको प्रयोग गर्नुपर्छ । त्यसपछि मिल्ड स्याम्पुसँगै  प्रोटिन वा हाइ मोस्चराइजर स्याम्पुको प्रयोग गर्न सकिन्छ । स्याम्पुपछि कन्डिसनर अनिवार्य प्रयोग गर्नुपर्छ ।

हामीले कस्ता रंगहरुको प्रयोग गर्नु हुँदैन ?

आजभोलि सडकपेटीहरुमा खुल्ला रुपमा रंगहरु बेच्न राखिएको पाइन्छ । न त त्यसमा केही प्रिन्ट हुन्छ न केमिकलहरुको मात्रा नै राखिएको हुन्छ । यस्ता रंगहरुमा छालामा असर गर्ने हानिकारक केमिकलहरु धेरै मात्रामा हुन्छ । यसकारण रंग किन्दा प्रिन्ट भएको प्याकेटको रंग मात्रै किन्नु हुँदैन ।

विभिन्न रंगहरुमा थरी–थरीका केमिकलहरु प्रयोग हुन्छ । यसकारण सकेसम्म आधिकारिक विवरणहरु उल्लेख गरिएका प्रिन्टेड रंगहरु मात्रै प्रयोग गर्नुपर्छ ।

कस्ता व्यक्तिहरुका लागि यस्ता रंगहरु बढी हानिकारक हुन्छन् ?

विशेष गरी बालबालिका र वृद्ध व्यक्तिहरूमा रंगको असर बढी पर्छ । बालबालिकाहरुको स्क्रिन निकै कोमल हुन्छ । यसकारण रंगहरुले छिट्टै एलर्जी बनाउने, छाला रातो हुने र वृद्ध व्यक्तिको छालामा पनि चिल्लोपन हुँदैन । यसकारण रंगहरुले यस्तो छालामा निकै प्रभाव पार्ने हुन्छ र धेरै मात्रामा गढ्ने हुन्छ ।

शरीरको कुन भागमा यस्ता रंगहरुले बढी असर देखाउँछन् ?

मुख्यगरी आँखामा यस्ता रंगहरु पस्यो भने निकै समस्या हुन सक्छ । यसकारण कालो चश्मा लगाएर मात्रै होली खेल्नुपर्छ । कतिपयले कन्टयाक लेन्सको प्रयोग गर्ने गरेको पनि पाइन्छ तर यो भन्दा उत्तम चश्माकै प्रयोग हुन्छ । साथै आँखा र कानलाई पनि होलीको रंगबाट जोगाउनुपर्दछ ।

अन्त्यमा पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

होली खेल्न घरबाहिर निस्कनुपूर्व कपालमा तेल लगाएर निस्किन सुझाव छ । शरीरमा बडी लोसन लगाउन नभुल्नुहोस् । जतिसक्दो छिटो नुहाउनुपर्छ । यसो हुँदा रंगहरुको धेरै असर शरीरमा पर्दैन । त्यसपछि लोलाहरुले प्रहार नगर्नुहोला । लोलाहरुले बच्चाहरुको कानमा लाग्यो भने कानभित्र पानी पस्ने, बहिरोपनाको खतरा पनि बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?