मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्य/संगीत

‘महाकवि देवकोटाको सिर्जना हीरा थियो, त्यसलाई बालुवाले पुरेको थियो’

महाकवि देवकोटाको गजलमा स्वर भर्ने गिनिज बूकमा नाम लेखाएका सन्तोष

काठमाडौँ– आकाशमा शशी छन् पृथ्वी बसेर रुन्छु

ती मेघका अटाली हेरेर नेत्र धुन्छु

जुनमा सुरेली खेली मन पुग्न खोज्छ माथि

ओर्लन्छ बीचबाटै खस्दा झसङ्ग हुन्छु

महाकवि लक्ष्मी प्रसाद देवकोटाका यी शताब्दी पुराना गजलका शेरहरुमा आफ्नै सिर्जनाका धुन भरेका संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ हिजोआज आफैंप्रति गर्व गर्छन् ।

बेला–बेलामा उनी आफ्नो धुनसँगै बज्ने सेरहरु सुनिरहन्छन् । महाकवि देवकोटाका सिर्जनामा धुनसँगै आफ्नै गायकी लय समेत उनले दिएका छन् । हुन त उनको परिचय सांगीतिक फाँटमा गायकभन्दा पनि संगीतकारका रुपमा स्थापित छ । त्यसो त उनले ५० देशका ५० भाषाका गीतहरुमा संगीत भरेर ‘गिनिज बुक’ मा ‘विश्व कीर्तिमानी संगीतकार’का रुपमा आफूलाई चिनाइसकेका छन् ।

उनले गत शुक्रवार मात्र सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको गीत ‘तिलिचो ताल’बाट पनि दोस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को प्रमाण पत्रसमेत पाएका छन् ।

संगीत क्षेत्रमा उनका एकल संगीतबद्ध ४४ वटा एल्बमहरु सार्वजनिक भएका छन् । उनले ८ सय वटा गीतमा संगीत भरेका छन् भने सयौं लोक दोहोरी गीतको संकलन र गायन गरेका छन् । र पनि महाकविको सिर्जनामा हात हाल्न शुरुमा उनलाई केही डर महसूस भएको थियो ।

त्यही डरैडरमा उनले चुनौतीलाई सामना गर्दै महाकविको गजल सिर्जनालाई गीतका रुपमा बाहिर ल्याउने काम गरे । महाकविको सिर्जनामा स्वर भरेर उनले आफ्नो आवाजले संगीतप्रेमीलाई अर्को अमूल्य सिर्जना उपहार स्वरुप समर्पण गर्ने काम गरे ।

श्रेष्ठको संगीत तथा स्वर समावेश महाकविको गजललाई गजलगायनको रुपमा गएको माघ महिनामा मैतीदेवीस्थित देवकोटा संग्रहालयमा सार्वजनिक गरिएको थियो । देवकोटाको उक्त गजल उनको नाटक ‘सावित्री सत्यवान’ भित्र समावेश गरिएको छ ।

जुन नाटकलाई साझा प्रकाशनले वि.सं. २०२४ सालमा प्रकाशित गरेको थियो । महाकविका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले सञ्चार माध्यममा जानकारी दिए अनुसार ‘सावित्री सत्यवान’ उनको पहिलो कृति हो । यसै कृतिमा गजल पनि समावेश छन् भन्ने कुरा अग्रज स्रष्टा प्रा.डा. कृष्णहरि बरालले उनको विद्यावारिधिको शोध अनुसन्धानका क्रममा थाहा पाएका थिए । त्यसपछि बरालले करीब चार वर्षअघि श्रेष्ठलाई गजल गायनका निम्ति प्रस्ताव गरेका थिए ।

महाकवि जस्ता दीवंगत धरोहरको सिर्जनालाई चलाउन उनले तत्काल नै साहस गरेनन् । श्रेष्ठका अनुसार बरालभन्दा अघि गीतकार नृपध्वज खड्काले करिब ९ वर्षअघि महाकविको सिर्जनामा संगीत गर्न भनेका थिए । त्यतिबेला यही नै हो भनेर एकिन चाहिँ थिएन ।

बरालको आग्रहलाई टार्न नसकेर उनले महाकविको सिर्जनामा आफ्नो धुन भर्ने निधोसहित नाटक ‘सावित्री सत्यवान’को खोजी गरे । त्यसभन्दा अघि उनले बरालको ‘गजलः सिद्धान्त र परम्परा’ पुस्तक अध्ययन गरिसकेका थिए ।

साझा प्रकाशनमै पुगेर उनले नाटकको पुस्तकलाई खरिद गरेर ल्याए र त्यसमा अझै गम्भीर रुपमा नियाल्ने काम गरे । गजलका सेरहरु पढेपछि उनको ध्यान त्यतैतिर तानियो । उनको मुटु ढक्क नफुलेको पनि होइन तर उनले आँट गर्ने जमर्को गरे ।

‘महाकवि देवकोटा नभई सामान्य रुपमा कलम चलाइरहेको मान्छे भएको भए फरक मूल्यांकन हुन्थ्यो होला’, उनले जोय नेपालसँगको कुराकानीमा भने,’ ‘महाकवि जस्तो श्रद्धेय मान्छेको सिर्जना चलाउनु मेरो लागि ठूलो चुनौती र अवसर दुवै थियो ।’

महाकविका छोराछोरी पद्मप्रसाद र अम्बिकादेवी रिमाल लेखन र समालोचनामा उत्तिकै श्रद्धेय र ख्यातिप्राप्त छन् । यसले गर्दा पनि श्रेष्ठले आफ्नो संगीत सिर्जनामा विशेष ख्याल पु¥याउन जरुरी थियो ।

महाकवि देवकोटाको गजलमा शास्त्रीय छन्द र कतिपय संस्कृत शब्दको गहन अर्थलाई केलाउन पनि उनलाई निकै सास्ती भयो । महाकविको शब्द सिर्जनामा डुबेर गजलको चरित्रमा ढाल्न समेत उनलाई हम्मेहम्मे पर्‍यो ।

‘मेरा लागि लागि गजलमा संगीत भर्नु रहर मात्र थिएन, चुनौती पनि थियो, त्यसमा शास्त्रीय मान्यतामा आधारित रहेर मैले सकेको प्रयत्न गरेँ, म व्यावसायिक गायक त होइन तर यसमा गाउन पनि प्रयास गरेँ, मलाई यसमै मुख्य डर थियो,’ उनले भने ।

कथा, कविता, निवन्ध तथा उपन्यास महाकाव्य, खण्डकाव्य जस्ता सिर्जनामा चिनिएका महाकविलाई गजलकारका रुपमा चिनाउन श्रेष्ठको गजलगायनले टेवा पुर्‍याएको देखिन्छ । यसलाई उनी महाकविप्रति आफूले अर्पण गरेको श्रद्धाको रुपमा लिन्छन् ।

उनको स्वरमा गजल गीत सार्वजनिक भएपछि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाकविको बारेमा सोधीखोजी गर्ने अध्येताहरु बढेको खबर उनले सुनेका छन् । महाकविकै सन्तानहरु पद्मप्रसाद र अम्बिकादेवीले समेत उनको सिर्जनालाई मन पराएपछि अझै उनलाई उत्साह मिलेको छ । उनकै समकक्षी संगीतकर्मीहरुबाट पनि उनलाई प्रोत्साहन मिलिरहेको छ ।

अग्रज स्रष्टाको सिर्जनामा श्रेष्ठको धुन

कुनै पनि शब्दमा संगीत सिर्जना गर्नु काम सहज र सरल होइन । अझै अग्रज स्रष्टाको सिर्जनालाई चलाउने आँट गर्नु आफैमा त्यसै चुनौतीहरु छन् । र पनि, संगीतकार श्रेष्ठले अग्रजका शब्दलाई धुन भरेर नयाँ पुस्ता समक्ष पुर्‍याइरहेका छन् ।

उनले यसभन्दा अघि कविशिरोमाणि लेखनाथ पौड्यालको गजल ‘हे मातृभूमि’, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्द रहेको ‘माया रानीलाई’मा सङ्गीत र स्वर दिएका छन् । त्यस्तै राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको ‘पश्चिम रुन्छ महाकाली’ उनको सङ्गीत दिइसकेका छन् ।

राष्ट्रकवि घिमिरे र शताब्दी पुरुष जोशीको जीवनकाल छँदै उनले सिर्जनामा सहकार्य गरेका थिए । अग्रजहरु दुवै घिमिरे र जोशीले उनको कामलाई प्रशंसा गरेको उनी स्मरण गर्छन् । जसरी महाकवि देवकोटाको संग्रहालयमा उनले महाकविको सिर्जना वाचन गरी मूर्ति अगाडि बसेर गजल गायनको छायांकन गरे, त्यसरी नै अगाडि देवकोटा भइदिएको भए कस्तो परिस्थिति हुन्थ्यो होला भन्ने उनले कल्पना गरेका थिए ।

राष्ट्रकवि र शताब्दी पुरुषले जसरी नै उनको सिर्जना महाकविले प्रत्यक्ष सुन्न पाउँथे होला भन्ने कुरा उनी सोच्न पुग्छन् । अग्रजको सिर्जनालाई आत्मसात् गरेर आफ्नो सिर्जनामा मिसाउन पाउँदा उनी त्यसैमा अझ गर्व महसूस गर्छन् । यसलाई उनी आफ्नो संगीतकर्मको धर्मका रुपमा व्याख्या गर्छन् ।

अग्रजका सिर्जनालाई बाहिर ल्याउन चुनौती

एउटा रचनालाई धुन भरेर गीतकै रुपमा प्रस्तुत गर्न पछिल्लो समयमा त्यही सरल छैन । संगीत सुन्ने भन्दा पनि हेर्ने प्रवृत्तितिर लम्केपछि म्युजिक भिडियो अनिवार्य जस्तै बनेको छ ।

स्रष्टाको सिर्जनामा आर्थिक पाटोको कुरा महत्वपूर्ण रुपमा जोडिएर आउँछ । त्यसैले त आजका अधिकांश युवा संगीत सर्जकहरु बजारको बिकाउ सिर्जना गर्न रुचाउँछन् । बजारमा कुन बिक्छन्, कस्ता सिर्जनाहरुले बजार ढाकेका छन् भन्ने सर्जकहरुको चासोले संगीत बजार क्षणिक बनिरहेको स्वयं सर्जकहरुले गुनासो गरिरहेको सुनिन्छ ।

‘यस्तो माहोलमा अग्रज स्रष्टाको सिर्जनालाई किन खोजिरहनुभएको छ’ भन्ने प्रश्नमा श्रेष्ठ जवाफ दिन्छन्, ‘सिर्जना एक प्रकारको सन्तुलनसहितको पागलपन पनि हो, अरुले भन्दा फरक र नौलो के गर्ने भन्न बारे म पनि हरेक क्षण सोचिरहेको हुन्छु, अग्रज स्रष्टाका लागि मेरो तर्फबाट गरिएको यो श्रद्धा पनि हो ।’

क्षणिक सिर्जनाले तत्काल प्रभाव पारेपनि सिर्जना र सर्जकको आयतन नबढाउने उनको भनाइ छ । सबै कुरा पैसा र प्रशिद्ध होइनन् भन्ने कुरालाई उनले मनन गरेका छन् । उनको कार्यलाई समकालीन संगीत क्षेत्र र राज्यले कसरी मूल्यांकन गरिरहेको छ भन्ने कुरामा समेत उनको कुनै गुनासो छैन । त्यसो त बाँचिरहेको समयमा कुनै पनि व्यक्तिको मूल्यांकन हुन्न भन्ने यथार्थतालाई समेत उनले बुझेका छन् ।

उनले भने, ‘व्यक्तिलाई तिरस्कार गरेर मूर्तिलाई पूजा गर्ने हाम्रो चलन छ, महाकवि देवकोटाले पनि बाँचेकै समयमा सम्मान र पुरस्कारहरु पाउनुभएको थिएन ।’

जसरी उनी जस्ता सर्जकहरुले व्यक्तिगत रुपमा अग्रज स्रष्टाका सिर्जनालाई ल्याउने काम गरे, त्यसरी राज्यतर्फबाट पनि यस्तो पहल भए निकै राम्रो हुने उनको बुझाइ छ । भाषासाहित्यमै जीवन समर्पण गर्नेहरुलाई यसले केही मात्रामा भएपनि प्रोत्साहन मिल्ने उनले सुनाए ।

‘महाकविको सिर्जना हीरा थियो, त्यसलाई बालुवाले छोपिराखेको थियो, उहाँका अरु सिर्जनाहरु संगीतमा ल्याउन सकेमा अझ राम्रो हुन्थ्यो’, उनले सुनाए ।

संगीतकर्मी भएको नाताले संगीतमार्फत् उनले आफ्नो दायित्व पूरा गरेकोमा उनी सन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?