मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

किन हुन्छ ग्यास्ट्रिक? के दूध चिया मुख्य कारण हो?

आम मानिसको दैनिक जीवनशैलीमा आएको परिवर्तनका कारण औसतमा प्रत्येक परिवारमा कुनै न कुनै सदस्य बिरामी हुन्छन् । अरु केही नभए पनि नेपाली समाजमा सामान्य रुपमा लिइने ग्यास्ट्रिक त कसै न कसैलाई भएकै हुन्छ । अझ ग्यास्ट्रिकलाई सबैको साझा रोग हो भनेर समेत भन्ने गरिन्छ ।

दैनिक खानपानमा आएको व्यापक परिवर्तन, बजारमा सहजै पाइने जङ्क फूड बढी खाँदा र आयातित तेलमा हुने मिसावटका कारण ग्यास्ट्रिकका रोगी बढ्दै गएका छन् । यद्यपि यसलाई त्यति जटिल रोगमा रुपमा लिइँदैन ।

ग्यास्ट्रिकलाई सामान्य रुपमा लिइए पनि दीर्घकालमा यसबाट अल्सर हुने र क्यान्सरसम्मको खतरा हुने भएकाले यसबारे बेलैमा सचेत हुनुपर्ने चिकित्सकहरू बताउँछन् । ग्यास्ट्रिकलाई नियन्त्रणमा राख्न के खाने र के नखाने विषयमा पनि आम मानिसमा एकनासको मत पाइँदैन ।

वास्तवमा ग्यास्ट्रिक किन हुन्छ? यो कत्तिको जटिल रोग हो? के यसलाई पूर्ण रुपमा निर्मुल गर्न सकिन्छ लगायतका विषय वरिपरि रहेर काठमाडौँको ह्याम्स अस्पतालमा कार्यरत बेरियाट्रिक तथा मेटाबोलिक सर्जन डा. कोशिश नन्दन पोखरेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले कुराकानी गरेकी छिन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:

ग्यास्ट्रिक कस्तो रोग हो ?

हामीले सामान्य बोलीचालीको भाषामा ग्यास्ट्रिक भने पनि मेडिकल टर्मअनुसार यसलाई ग्यासट्राइटिस भनिन्छ । खाली पेटमा वा खाना खाइसकेपछि पेट पोल्ने वा छातीमा मुटु दुखेजस्तो हुने समस्या नै ग्यास्ट्रिकको मुख्य समस्या हो । सामान्यतया खानपानको समय नमिल्दा नै यस्तो समस्या उत्पन्न हुने हो । कसैकसैलाई भने कुनै रोग र ब्याक्टेरियाका कारणले पनि ग्यास्ट्रिक हुने गर्छ । तर अधिकांशलाई खानपान कै कारण ग्यास्ट्रिक हुने गरेको पाइन्छ ।

ग्यास्ट्रिक हुने मुख्य कारण के हो ?

हामीले सही समयमा खानपान ग¥यौं भने धेरै रोगहरुबाट बच्न सकिन्छ । ग्यास्ट्रिक हुने मुख्यकारण भनेको पनि सही समयमा खानपान नगर्नु नै हो । खाना तथा खाजा समयमा नखाने, खाएपनि धेरै समयको अन्तरालमा खाने, बढी चिल्लो, पिरो खानेकुराहरुको सेवन गर्ने, धेरै फास्टिङ बस्ने जस्ता कारणहरुले गर्दा ग्यास्ट्रिकको समस्या निम्तिने गर्दछ ।

ग्यास्ट्रिकको समस्या कसरी उत्पन्न हुन्छ ?

मुख्यतयाः दैनिक खाना समयमा नखानाले, चिया तथा कफी बढी मात्रामा पिउनाले, पानी कम पिउनाले, चिल्लो, पिरो र तेलयुक्त खाना खाने गर्नाले ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

यसलाई नियन्त्रण गर्न कस्तो खानपान र जीवनशैली अपनाउने ?

पहिलो कुरा त चिकित्सकको सुझाव अनुसार नै औषधी खानुपर्छ । ग्यास्ट्रिकको औषधी लामो समय खानुपर्दैन । सुगर, प्रेसर जस्ता रोगका बिरामी छन् भने मात्रै लामो समय औषधी खानुपर्छ । खानपिनमा अनुशासित हुनुपर्छ । समयमा खाने हो भने ग्यास्ट्रिक आफै हराएर जान्छ । त्यस्तै दैनिक व्यायाम गर्ने र पर्याप्त सुत्ने हो भने ग्यास्ट्रिक कम गर्न सकिन्छ । ग्यास्ट्रिक हुनेहरूले धुम्रपान र मद्यपान पनि गर्नु हुँदैन साथै चिल्लो, तारेको र मैदा प्रयोग भएको खाना सकेसम्म खानुहुँदैन ।

ग्यास्ट्रिक भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–कस्ता हुन्छन् ?

हाम्रो पेटमा एक प्रकारको एसिड हुन्छ, जसको नाम हो ‘हाइड्रोक्लोरिक एसिड’ । यसले हाम्रो शरीरमा रहेका ब्याक्टेरिया र हामीले खाएको खानालाई पचाउने काम गर्दछ । यसलाई पनि बाइकार्बोनेटले ब्यालेन्स गरिरहेको हुन्छ । यो दुईमध्ये एक बढी भयो या घट्यो भने त्यसले हाम्रो शरीरमा पोल्न थाल्छ र यसैलाई नै ग्यास्ट्रिक भएको भनिन्छ ।

पेट फुल्ने, खाना खाएपछि पेट ढुस्स हुने, पेट पोल्ने, पेटको माथिल्लो भाग दुख्ने, बान्ता हुने, ढ्याउ–ढ्याउ आइरहने समस्या हुनु यसका मुख्य लक्षणहरु हुन् ।

ग्यास्ट्रिक हुँदै अल्सरक्यान्सरको जोखिम पनि उत्तिकै बढ्दो छ ? ग्यास्ट्रिक भएकै कारण के–कस्ता जटिलताहरु निम्तिन सक्छन् ?

ग्यास्ट्रिकले धेरै जटिलता निम्त्याउन सक्छ । सामान्यतया एसिड बढेर पेट पोल्ने मात्रै भयो भने त्यति समस्या भएन । तर बिस्तारै–बिस्तारै बढ्दै गयो र अत्यधिक मात्रामा पेट पोल्दै गयो या एसिड एकदमै धेरै मात्रामा निस्कियो भने सानो–सानो घाउ बनाउँदै जान्छ र घाउबाट क्यान्सर नै नभए पनि पेटमा प्वाल पर्ने, पेटमा भएका नशाहरु फुटेर रगतहरु बग्ने हुँदा निकै जोखिम हुनसक्छ ।

बिहानै खाली पेटमा दूध मिसाइएको चियाको सेवन गर्‍यौं भने पनि ग्यास्ट्रिकको समस्या हुन्छ भन्ने हाम्रो आम बुझाइ छ, यसमा कतिको सत्यता छ ?

यो पूर्ण रुपमा सत्य हैन । तर खाली पेट र ग्यास्ट्रिक भने एक–अर्कामा सम्बन्धित छन् । हामीले साँझ खाना खाएर सुतेपछि रातभर केही खाँदैनौँ र पेटमा एसिड जम्मा भएर बसिरहेको हुन्छ । बिहानै खाली पेटमा दूध चिया पिउँदा एसिडलाई झन् बढवा मिल्छ । यसकारण खाली पेटमा चियाको सेवन हानिकारक बन्न सक्छ ।

अन्त्यमा आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

शुरुमा त वास्तवमै ग्यास्ट्रिकको समस्या हो कि तपाईँलाई त्यस्तो भान वा अनुभव मात्रै भएको हो भन्ने कुरामा प्रष्ट हुनुपर्छ । ग्यास्ट्रिककै समस्या छ भने चिकित्सकसँग परामर्श लिएर औषधी खानुपर्छ । यदि पोलिरहेको छ । अलि–अलि ग्यास्ट्रिकको समस्या छ भने फास्टिङ बस्नु हुँदैन । अर्को कुरा भनेको बिहान उठ्नेबित्तिकै हामीले मनतातो पानी पिउने र साथमा ब्रेकफास्ट पनि गर्नुपर्दछ ।

बिहानभर खाली पेट बस्नु हुँदैन । धेरै समयको ग्याप राखेर खाना तथा खाजा खानु हुँदैन । ग्यास्ट्रिकबाट बच्नलाई तीन–चार घन्टामा खाइरहने र साथमा फलफूलहरु पनि खानुपर्छ । स्वस्थ खाना खाएर बाहिरी जङ्क फूडको मात्रा कम गरियो भने यो समस्याबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?