मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च

आकाशको बाटो हेरी बस्ने घरदेशीहरु

काठमाडौँ– बूढी आमा ओछ्यानमा थला परेकी छिन् । उनलाई अस्पतालसम्म पुर्‍याउने ‘बूढा बा’को ताकत छैन । भएकी एउटी छोरी स्कुल जाने उमेरकी छिन् । जवान छोरो परदेशमा छन् । बुहारीलाई आफ्नै दैनिकीको मात्र मतलब छ ।

यही बाध्यतामा बूढी आमा घरी छोरो आउने आशामा आकाशको बाटो हेर्छिन् भने घरी छोरो घर आएको सपना देखेर निद्रामै बर्बराउँछिन् ।

यो त पछिल्लो समयमा अधिकांश नेपालीहरुको घर घरमा देखिएको दुर्दशा हो । आकाशको बाटो गरी परदेशिएका छोराहरु फर्कन्छन्, भन्ने आशामा कैयौं बुढ्यौली उमेर काटिरहेका घरदेशी बाआमाहरु बाटो कुरेर बसिरहेका छन् ।

नेपाली समाजको यिनै नमीठो यथार्थलाई नाटकको रुपमा रङ्गमञ्चमा रङ्गकर्मी प्रदीपकुमार चौधरीले ल्याएका छन् ।

थापागाउँस्थित मण्डला थिएटरमा फागुन १८ देखि चेत्र १८ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पना, लेखन तथा निर्देशन रङ्गकर्मी चौधरीले नै गरेका छन् । उनले मुख्य रुपमा वैदेशिक रोजगारीको पीडा र यसले विथोलिएको नेपाली समाजलाई चित्रण गर्ने जमर्को गरेका छन् ।

परदेशको विषयसँगै उनले समकालीन समयमा आम नेपाली समाजले भोगिरहेको यथार्थताहरुलाई नाटकमा समेटेका छन् । जसमा भ्रष्ट ठेकेदार, राजनीतिक नियुक्ति, नैतिकहीन शिक्षक, महिला चरित्र, देशमै केही गर्ने हुटहुटी बोकेका युवा जमात, गाउँ–गाउँमा पुगेका सहकारीसम्मका मुद्दाहरु नाटकमा देख्न सकिन्छ ।

नाटकको शुरुवाती दृश्यमै छोरा परदेश गएपछि मानसिक एवं शारीरिक रुपमा थकित् आमाको अवस्थालाई देखाइएको छ । दृश्य अनुसार घनश्यामका छोरा उदय लामो समयदेखि परदेशमा छन् । घनश्यामकी बुहारी सविता सासू ससुराको स्याहारसुसार भन्दा पनि आफ्नै व्यक्तिगत काम कुरामा अभ्यस्त छिन् ।

बिरामी सासूभन्दा पनि आफ्नो घुमघाममा उनलाई चासो छ । श्रीमानले कमाएको सम्पत्ति समेत उनकै हातमा भएकोले उनको जीवन निकै रमाइलो साथ बितेको छ ।

यता घनश्यामले पैसाकै अभावमा बिरामी श्रीमतीलाई अस्पताल समेत लैजान सक्दैनन् । बुहारी सविताले यसमा बेवास्ता गर्छिन् । छोरी उमा एसईईको तयारीमा छिन् ।

विद्यालयकै एक शिक्षकको गिद्धे नजर उनीमाथि पर्छ । त्यही शिक्षकको साहरामा उमाकी आमालाई अस्पतालसम्म लैजाने सहायता मिल्छ । त्यही मौकामा उमामाथि यौनहिंसाको घटना समेत हुन्छ । यता सविता आफ्नै जन्मदिनको पार्टीमा व्यस्त हुन्छिन् ।

नाटकमा धेरै विषयहरु एकसाथ प्रस्तुत गर्दा मुख्य विषय नै केही ओझेल परेको हो कि भन्ने नाटक हेर्दै गर्दा भान हुन्छ । तथापि रङ्गकर्मी चौधरीले आकाशको बाटो गरी परदेश गएका उदय परिवार सम्झेर घर फर्कन्छन् या फर्कदैनन् भन्ने पाटोलाई दर्शकलाई प्रतीक्षा गर्न दिएर केही राहत दिएका छन् ।

नाटकमा उठान भएका विषयहरु समकालीन समयका मुख्य मुद्दाहरुभित्र पर्छन् । सबै विषयहरु एकैसाथ ल्याउँदा नाटकको प्रस्तुति नै फितलो भएको हो कि भन्ने दृश्यहरु हेर्दै गर्दा लाग्न सक्छ ।

दर्शकले एउटा विषयमा प्रवेश नपाउँदै अर्को विषयप्रति नाटकले फड्को मार्न पुग्छ । सत्ता र शक्तिको आडमा भएका शिक्षक नियुक्तिको विषय थोरै उठान छन् ।

अर्कातिर दुई युवाहरु स्वदेश फर्केपछि पनि केही गर्न नसकेको गुनासाहरु नाटकमा छन् । जसले कृषिमा केही गर्ने प्रयास गरे पनि मल तथा बजारको अभाव बेहोर्छन् । विद्यालयहरुमा बढ्दै गइरहेको यौनहिंसा जस्तो अपराधलाई भने नाटकमा सशक्त रुपमा उठान गरिएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जानेहरुले पसिना बगाएर कमाएको सम्पत्ति नेपालमा बस्ने श्रीमतीहरुले कसरी उडाइरहेका छन्, भन्ने पाटो समेत नाटकमा छन् । यी सबै विषयहरु एकपछि अर्को गर्दै नाटकमा आउँदै गर्छन् ।

विविध मुद्दाहरु नाटकमा मिसिन आउँदा मुख्य मुद्दा बीचमा ओझेल परेको महसूस हुँदै गर्दा नाटकको अन्तिम दृश्यले भने केही सहानुभूति दिन सफल भएको छ ।

यद्यपि समाजमा विद्यमान समस्याहरु र अराजकतालाई नाटकले समास्याभित्र नै छोडिदिएको छ । वैदेशिक रोजगारीको पीडा र नेपाली समाजमा देखिएको विकराल समस्याहरु भने नाटकमा उजागर भएका छन् ।

नाटकमा मण्डलाका थिएटर ल्याबका १३ औं ब्याजका विद्यार्थीहरुले अभिनय गरेका छन् ।

मञ्चमा:

सोहित रावल, समस्ती राई, सुसन बस्नेत, आकृति केसी, प्रमिला राई, झरना चोखाल, मेलिना चाम्लिङ राई, विपना बस्नेत, कृष्ण गुरुङ, दिया दुमी राई, कोहिनुर विश्वकर्मा, दीपक श्रेष्ठ, मञ्जिल श्रेष्ठ, सुशान्त पन्त, जीवन ठाकुर, मनोज केसी, प्रवीण तामाङ, जिवय तामाङ, मान बहादुर तामाङ, मुकेश पाण्डे, रविन शाहशंकर, शीतल वाग्ले र प्रभात आङ्गबो लिम्बु ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?