मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निफ इन्टरनेशनल फिल्म फेस्टिभल

‘बलिउडबाट चोरेर सिनेमा बनाउने फिल्मकर्मीले राज्यले सुविधा दिनुपर्छ भनेको सुहाउँदैन’

‘दुई दशकअघि दयाहाङ राईले अभिनय गरेका सिनेमालाई सिनेमा नै मानिन्नथ्यो’

नीर शाह

काठमाडौँ– वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको लापरवाहीले नेपाली सिनेमा उद्योग केही पछाडि परेको अनुभूति हुन थालेको छ । तथापि नेपाली सिनेमा उद्योगमा केही उच्च कोटीका सिनेमा समेत निर्माण हुँदा सिनेमा क्षेत्रले आफ्नो अभियानलाई सही दिशातर्फ तीव्रता हासिल गर्दै गइरहेको छ ।

एउटा कोणबाट विश्लेषण गर्दा सिनेमा उद्योगमा यस्तो नभइदिए हुन्थ्यो भन्ने पनि छन् । अथवा, यस्तो भएको भए पनि हुने भन्ने द्वन्द्वबाट सिनेमा उद्योगले अग्रगामी छलाङ पनि मारेको छ ।

थोरै मात्रामा भए पनि नेपाली सिनेमा उद्योगले उत्कृष्ट सिनेमाहरू पाएको छ । त्यसले हाम्रो सिनेमा कर्मलाई निश्चित रुपमा पनि एउटा अध्यायबाट अर्को अध्यायसम्म पुर्‍याउनलाई धेरै मद्दत पुर्‍याएको छ ।

यो सकारात्मक पक्ष हो ।

केही सिनेमाले यो क्षेत्रलाई यति क्रेडिबिलिटी (साख) दिएको छ कि, त्यसको बोझ अरू निर्माण भइरहेका सिनेमाको भन्दा बढी छ । केही सिनेमाले सिनेमा कर्मलाई ‘ड्यामेज’ गरेका छन् भने त्यसको तुलनामा राम्रा सिनेमाहरूले दिएको साख उच्च कोटीमा छ । ती उत्कृष्ट सिनेमाका कारण हाम्रो सिनेमा कर्म यहाँसम्म आएको हो ।

विना कुनै सङ्कोच हामीले त्यस्ता सिनेमालाई आभार व्यक्त गर्नुपर्ने हुन्छ । हुन त त्यस्ता सिनेमाहरू औँलामा गन्न सकिने मात्र छन् । ती सिनेमालाई हामीले अहिले ब्राण्ड भनेर चिन्ने गरेका छौँ ।

हरेक वर्ष असफल हुने ९५ वटा सिनेमाका कारण सिनेमा उद्योग यहाँसम्म आएको होइन । बरु त्यस वर्ष सफलताको श्रेणी चढेका अरु पाँच सिनेमाका कारण नेपाली सिनेमा उद्योग यहाँसम्म आएको हो ।

तसर्थ त्यो पाँच, ‘चार’मा नझरुन्जेल, ‘चार’, ‘तीन’मा नझरुन्जेल हामीले दुःख मनाउ गर्नुपर्ने कुनै पनि कारण नै छैन । पाँचबाट ६, ६ बाट सात, सातबाट आठ हुन सकेको दिन यो क्षेत्रका लागि अझै बढी हर्षित हुने अवस्था सिर्जना हुनेछ भन्ने हामीले आशा राख्न सकिन्छ ।

तमाम सिनेमा दर्शक, संघ–संस्थाले राखेको अपेक्षा पनि त्यही हो । तसर्थ त्यस्तो दिन सकेसम्म चाँडो आओस् भन्ने चाहन्छु ।

नेपालको सिनेमा कर्मले अन्तर्राष्ट्रिय स्तरमा जुन गरिमा प्राप्त गर्न सफल भएको छ । त्यो सह्रानीय छ ।

केही समयअघि चलचित्र मेकर अविनाश शाहले कान्स फिल्म फेस्टिभलमा पटकथा विधातर्फ अवार्ड हात पार्नुभएको थियो । विश्वका उत्कृष्ट सिनेमा उत्सवहरुमा अर्का मेकर मीन बहादुर भामले पनि आफ्नो जबरजस्त उपस्थिति पेश गर्नुभएको छ ।

यी त स्मरणयोग्य अथवा नाम लिन योग्य समारोहहरु भए । वर्षभरि नै हुने यस्ता उत्सवहरुमा नेपाली सिनेमा कर्मले गौरवशाली इतिहास रच्न सफल भएको छ ।

गौरवशाली इतिहास रच्ने आफ्नै क्षेत्रमा हो । जसरी सिनेकर्मीहरुले सिनेमा कर्मलाई अन्तर्राष्ट्रिय क्षेत्रको त्यो श्रेणीमा पुर्‍याउन सफल हुनुभयो, त्यसबाट अरु–अरु कर्मका मानिसहरुले पनि सिक्नुपर्छ ।

विशेष गरी मेरो यो आग्रह नेपालको राजनीतिक दलहरुलाई छ । यसबाट हामीले दुईवटा अभूतपूर्व शिक्षा लिन सक्छौँ । जसबारे शिक्षित हुने प्रयत्न चाहिँ हामीले गरेको जस्तो देखिँदैन ।

एउटा मान्छेले जीवनमा राम्रो काम गर्ने भनेको एउटै मात्र हो । जुन काम फिडेल देवकोटा, भुषण प्रजापति, मीन बहादुर भाम, अविनाश शाह लगायतका उम्दा सिनेकर्मीले गरिरहनुभएको छ ।

उहाँहरुले नेपाली सिनेमा उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन इमान्दारपूर्वक र निष्टापूर्ण ढङ्गले मिहिनेत गरिरहनुभएको छ । त्यसैले त उहाँहरुले आफूलाई प्रतिष्ठित स्थानमा राख्न सफल हुनुभएको छ ।

नेपालमा उहाँहरु कुन स्थानमा हुनुहुन्छ थाहा छैन, अन्तर्राष्ट्रिय स्तरमा सिनेमा मेकरका रुपमा उहाँहरुको नाम अत्यन्त प्रतिष्ठाका साथ लिइने गरिन्छ । प्रत्येक पेशा अभ्यास गर्दा त्योसँग जोडिएको निष्ठा कति महत्त्वपूर्ण हुने रहेछ भन्ने कुरा हामीले पनि सिक्नुपर्छ ।

नेपालको ‘मेन स्ट्रिम’को सिनेमाले त्यो लेभलको पुरस्कार जित्यो भन्ने आजसम्म सुन्नुभएको छ ?

जुन सिनेमालाई हामी ‘मेन स्ट्रिम’को सिनेमा भन्छौँ, जुन सिनेमाको विकास भएन भनेर रातदिन रोइलो गर्छौँ । धुनचक्र रुपमा अर्काले देखाइसकेका कुरालाई नक्कल गर्छौं, यो हाम्रो हो, यो तपाईँले हेर्नैपर्छ, तैँले किन हेरिनस् भनेर नहेर्नेलाई रिस गर्छौँ ।

नेपालले अलौकिक ढंगमा संसारको सिने भूमिमा आफ्नो विशिष्ट स्थान हासिल गर्न सक्छ भने, त्यो सर्ट सिनेमाको आधारमा मात्र गर्न सक्छ । हिजोसम्म छिमेकी देश भारतको मुम्बईका सिनेमाहरुबाट नक्कल गरिन्थ्यो ।

दक्षिण भारतीय र कोरियन सिनेकर्मीहरुबाट नक्कल गरिएका सिनेमाले हामीलाई उच्च स्थान दिँदैन । तर, हामीले विश्व मस्तिष्क जित्न सक्ने पाँच मिनेटको सिनेमा बनाउन सक्यौँ भने एउटा नेपाली सिनेकर्मीले नेपाली सिनेकर्मलाई पहिचान दिलाउन सक्छ ।

हामीले अर्जुनदृष्टि राखेर हाम्रा ग्रामिण भेगमा भेटिने हाम्रा लोक र दन्त्य कथाहरु, हाम्रा संस्कारयुक्त प्रत्येक समुदायमा पाइला पाइलामा भेटिने आफ्नै कथाहरुलाई सके जति सारांशमा विश्वको प्लेटफर्ममा हामीले राख्न सक्यौं भने हामीले यो कर्ममा समृद्धि प्राप्त गर्नेछौं ।

सर्ट फिल्म (छोटा चलचित्र) लाई त सिनेमाको श्रेणीमै नराखेको देशको जनता हौँ हामी । जुन किसिमका सिनेमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतले निर्माण गर्नुहुन्थ्यो ।

अहिले उपेन्द्र सुब्बा, रामबाबु गुरुङ लगायतका मेकरले पनि यस्ता सिनेमाहरू निर्माण गरिरहनुभएको छ । यो सबल पक्ष हो ।

अर्कातिर नेपाली सिनेमा उद्योगमा कस्तो पनि समय थियो भने, दयाहाङ राईलाई नायकका रुपमा प्रस्तुत गरेका सिनेमालाई त सिनेमामै वर्गीकरण गरिँदैनथ्यो ।

धेरै टाढा नै पुग्नुपर्दैन । दुई दशक अगाडिसम्म पनि यो अवस्था नेपाली सिनेमा उद्योगमा थियो । तसर्थ, यदि कसैले बदल्नु छ भने, सबैभन्दा पहिले दृष्टिकोण बदल्नुपर्छ ।

अब हामीले ‘मेन स्ट्रिम’ सिनेमा भनेर सातवटा गीत राखिएको, हिरो र हिरोइन नाचेको, बीच–बीचमा खलनायक आएर दुःख दिने गरेको, हिरोइनलाई लुटेर लगेको, हिरोले मुक्का हानेर ढालेको, हिरोइनलाई जितेर ल्याएको सिनेमा बनाएर अझ त्यसमा पनि राज्यले सके जति सुविधा दिनुपर्छ भनेर कराएर कहीँ पनि पुग्नेवाला छैन ।

अब हाम्रो फोकस सर्ट सिनेमामा हुनुपर्छ, जसले विश्वमा प्रभाव पारिसक्यो । हामीले विश्वभरका दर्शकका लागि भनेर नेपाली सिनेमा बनाउनुपर्छ । त्यस सम्बन्धमा राष्ट्रिय नीति बन्नुपर्छ ।

सातौं इन्टरनेशल फिल्म फेस्टिभल ‘निफ’ले आफ्नो यो यात्रा तय गरिसक्दा जुन रुपमा चिनिनुपर्ने त्यो तहमा यसले आफूलाई रुपान्तरण गरिसकेको छ । नेपाली सिनेमाले पाउने यो अत्यन्त दुरगामी सफलता हो ।

अन्तर्राष्ट्रिय स्तरमा निफको उपस्थितिलाई सकारात्मक सोचका साथ ग्रहण नगरिएको भए ६ दर्जन मुलुकबाट ८/९ दर्जन ‘एक से एक’ राम्रा सिनेमाहरु र त्यही मात्रामा त्यही कालखण्डमा सिनेमाकर्मलाई माथि उठाएका सिनेकर्मीहरुको सहभागिता ‘निफ’मा हुँदैनथ्यो ।

अन्तर्राष्ट्रिय स्तरमा ‘निफ’ ले आफूलाई चिनाइसकेको छ । राष्ट्रिय स्तरमा यसले प्राप्त गर्न सक्ने सफलता पाइसकेको छ ।

सरकारी सुविधा प्राप्त गर्नमा यो सफल हुन सकेको छैन कि भन्ने आभास हुन्छ । यसका लागि पनि सरकारले आर्थिक सहयोग गर्नुपर्छ । किनकि यस्ता महोत्सवहरू हुनु भनेको एक हिसाबले नेपाली सिनेमा उद्योगलाई नै लाभ हो ।

(काठमाडौँमा जारी सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को उद्घाटन समारोहमा वरिष्ठ कलाकार नीर शाहले प्रस्तुत गरेको मन्तव्यको सम्पादित अंश) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?