मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

गोर्खा वारियर: गोर्खाली सैनिकको बहादुरीको कथा [फिल्म समीक्षा]

काठमाडौँ– दोस्रो विश्वयुद्धमा जापानले बेलायती शासनअन्तर्गत रहेको मलाया (हालको मलेसिया) कब्जा गर्‍यो । पछि युद्धमा जापानको पराजयसँगै त्यहाँको कम्युनिष्ट पार्टीले विदेशी सेना लखेटेर साम्यवादी झण्डामुनि स्वतन्त्र मलायाको स्थापना गर्ने भन्दै छापामार युद्ध शुरु गर्‍यो ।

मलायाको पूर्ववर्ती शासक बेलायत दक्षिणपूर्वी एसियामा कुनै हालतमा साम्यवादी शासन स्थापना हुन नदिनेमा दृढ थियो । यस्तोमा बेलायतले मलायामा साम्यवादी छापामार लडाकुलाई परास्त गर्न सैनिक अभियान सञ्चालन गर्‍यो । सन् १९४८ देखि १९६० सम्म चलेको यस युद्धमा गोर्खाली सेनाले वीरतापूर्वक लडेका थिए ।

अझै पनि बेलायती सैनिक अधिकारी र आम सर्वसाधारणले मलायामा गोर्खाली सैनिकले प्रदर्शन गरेको अदम्य साहस र वीरताको मुक्त कण्ठले प्रसंशा गर्दै आएका छन् ।

सोही युद्धमा गोर्खाली सैनिकहरूले लडेको युद्धलाई कथानक बनाएर निर्माण गरिएको सिनेमा गोर्खा वारियर शुक्रवारदेखि प्रदर्शनमा आएको छ । निर्माण टिमका अनुसार यो सिनेमा सत्य घटनामा आधारित छ ।

नेपालमा माओवादीले गरेको दश वर्षे जनयुद्धको अमिट छाप अझै पनि धेरैको मानसपटलमा ताजै छ । यो सिनेमाले गोर्खाली सैनिकको कथालाई उठान गरे पनि सिनेमा हेर्दा कता कता नेपालकै जनयुद्धकालीन समयलाई चित्रित गरिएको हो कि भन्ने आभास हुन्छ । सिनेमा हेर्दा यस्तो लाग्छ, मानौँ नेपालमा नेपाली सेना र छापामार शैलीमा जङ्गलबाट युद्ध थालेका माओवादीहरूले युद्ध गरिरहेका छन् ।

परिवेश उस्तै लागे पनि ‘गोर्खा वारियर’ मा देखाइएका हात हतियार र तत्कालीन नेपाली परिवेशले सत्तरी वर्ष पहिलेको नेपाली समाजलाई चित्रित गरेको प्रष्ट हुन्छ ।

विश्वभर बहादुरको सैनिकको छाप बनाएका गोर्खाली सैनिक कसरी आफ्नो देश र परिवारको मायालाई खल्तीमा राखिएको एक ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीरमा सीमित राखेर युद्धमा होमिन्छन् र उनीहरूको मनोदशा कस्तो हुन्छ भन्ने सिनेमामा देखाइएको छ ।

सत्तरी वर्ष पहिलेको नेपाली समाज, त्यतिखेरको बेरोजगारी समस्या र विदेशी भूमिमा गएर युद्धमा होमिन बाध्य हुने नेपाली परिवेशलाई निर्देशक मिलन चाम्सले मिहिन ढंगले प्रस्तुत गरेका छन् । त्यसताकाको नेपालको पहाडी भेगमा बाँच्ने यथार्थ जीवनशैलीलाई उनले पर्दामा उतार्ने प्रयास गरेका छन् ।

निर्देशक चाम्सले यसअघि निर्देशन गरेका सिनेमाका तुलनामा यो सिनेमा स्तरीय छ, उत्कृष्ट होइन । सिनेमामा कलाकारले गरेको अभिनय तारिफयोग्य छ । युद्धमा होमिएका गोर्खाली सैनिकले आफ्नो परिवारप्रति कस्तो प्रेमभाव व्यक्त गर्छन् भन्ने मनोभाव उनले पात्रका माध्यमबाट जोडेका छन् । अर्कातिर अहिलेको जस्तो इन्टरनेटको सुविधा नहुँदा सात समुद्रपारि अर्काको देशमा लडाइँ लड्न गएको छोराको परिवारमा के बितिरहेको छ, त्यसले परिवारमा कस्ता कठिनाइहरू निम्त्याउन सक्छ भन्नेमा पनि उनी सचेत देखिएका छन् ।

सिनेमाको सबैभन्दा राम्रो पक्ष भनेको यसको पार्श्वध्वनि हो । यो सिनेमामा प्रयोग भएको पार्श्वध्वनिले सिनेमालाई सशक्त बनाएको छ । सिनेमामा प्रयोग भएका हात हतियार पनि तत्कालीन समयमा प्रयोग गर्ने हतियारहरू नै छन्, त्यतिबेला कस्ता हतियार प्रयोग हुन्थे भन्नेमा निर्देशक चाम्स सचेत देखिएका छन् । युद्धका लागि सिनेमामा देखाइएका सेटहरू वास्तविक दृश्य हुन् कि भन्ने लाग्छन् । सिनेमामा शीर्ष भूमिका निभाएका रितेश चाम्स र रेविका गुरुङले उत्कृष्ट अभिनय गरेका छन् भने अन्य कलाकारको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । छोटो भूमिकामा देखिएका विजय लामाको अभिनय पनि उत्कृष्ट छ ।

यति हुँदाहुँदै पनि सिनेमामा प्रशस्त समस्याहरू पनि छन् । यो सिनेमालाई कुनै हलिउडको सिनेमा हेर्ने नजरले हेर्ने हो भने यसमा कैयन् समस्या छन् । मुख्य समस्या सिनेमाको कथामा छ । यदि निर्देशक चाम्सले कथा र संवादमा अझै केही समय खर्चिएको भए यो सिनेमा उत्कृष्ट हुने थियो ।

सिनेमा हेरिरहँदा यसको कथा निकै स्लो बगेको अनुभूति हुन्छ । सिनेमाको पहिलो हाफ निकै धीमा गतिमा अगाडि बढ्छ । सिनेमाको स्टोरी टेलिङमा त्यति दम छैन । केही दृश्यहरू सिनेमालाई लामो बनाउन जबरजस्ती थोपरिएको जस्तो लाग्छ । प्रस्तुति राम्रो हुँदाहुँदै पनि परिवारमा देखिएको विचलन नाटकीय लाग्छ । तत्कालीन नेपाली समाजलाई उठान गर्न मेहनत गरे पनि संवाद चयनका कारण वास्तविकताको नजिक पुग्न निर्देशक चाम्स चुकेका छन् । बोलीचालीका संवादलाई प्रयोग गर्न खोजिए पनि धेरै संवाद मात्र देखिरहँदा दर्शकलाई झर्को लाग्न सक्छ ।

यो सिनेमा भयंकर सिनेमा नभए पनि नेपाली सिनेमा उद्योगमा निर्माण हुँदै आएका हेर्नलायक सिनेमामध्ये एक हो । सिनेमाले उठान गरेको विषय, कलाकारको अभिनय र पार्श्वध्वनिले सिनेमा राम्रो भए पनि प्रयोग गरिएका संवाद, धीमा गतिमा कुदिरहेको कथानक र गोर्खाली सैनिकलाई हिरोगिरी बनाउन थोपरिएका केही अनावश्यक संवादले भने तपाईँलाई केही निराश बनाउन सक्छ । यद्यपि यो सिनेमा विश्वले तारिफ गरेर नथाक्ने वीर गोर्खालीको उत्कृष्ट कथा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?