मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना–प्रविधि

आफ्नै लापरवाहीका कारणले बढिरहेका छन् साइबर अपराधका घटना, कसरी जोगिने?

काठमाडौं– प्रविधिको विकासले आम मानिसको जीवन सहज बनाएसँगै यसले उत्तिकै जोखिम पनि निम्त्याएको छ । केही वर्षयता विश्व नै सामाजिक सञ्जालमार्फत एक आपसमा जोडिएर ‘सानो संसार’ बनेको छ ।

प्रयोगकर्ताबीच अन्तर्क्रिया गर्न, साम्रगीहरू पोस्ट एवम् शेयर गर्न अनलाइन कम्युनिटी बनाउन तथा अन्य विभिन्न प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । एक हिसाबले इन्टरनेट अब मानिसको जीवनको अभिन्न अंग बनिसकेको छ ।

सामाजिक सञ्जालका कारण हाम्रो दैनिकी जति सरल भएको छ, त्यति नै यसले नकारात्मक असर समेत देखाउन थालेको छ । सामाजिक सञ्जालको प्रयोग बढिरहँदा यससम्बन्धी सुरक्षा जटिलताहरू पनि थपिएका छन् ।

इन्टरनेटमा हुने विभिन्न आपराधिक गतिविधि हेर्ने साइबर ब्यूरोको तथ्यांक अनुसार गत वर्ष साइबर अपराधसम्बन्धी ९ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । जसमा ४६ बालक, १ सय ३० बालिका, ४ हजार ५ सय ९० महिला तथा ३ हजार ७ सय ३५ पुरुष र ५ सय १२ अन्यले साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन् ।

यो तथ्यांकलाई केलाएर हेर्ने हो भने पुरुषभन्दा महिला बढी इन्टरनेटका कारण पीडित भएको पाइएको छ ।

साइबर ब्यूरोका अनुसार यस वर्ष साइबर अपराधका घटनामा वृद्धि भएको छ । ब्यूरोका अनुसार यस वर्षको माघसम्मको तथ्यांकअनुसार ९ हजार ९ सयभन्दा बढी उजुरी ब्यूरोमा दर्ता भएका छन् । जसमध्ये १ सय २० बालक, १ सय ८३ बालिका ४ हजार ४ सय ५८ महिला तथा ४ हजार ८ सय २ पुरुष र ३ सय ७५ अन्य रहेका छन् ।

साइबर विज्ञहरूले यस्ता घटना दिनानुदिन बढ्दै गएको बताउँछन् ।

पछिल्लो समय नेपालमा पनि सामाजिक सञ्जाल विशेषगरी फेसबुकका साथै टिकटक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, इमो, भाइबर लगायतबाट पनि साइबर अपराधका घटना ब्यापक रुपमा बढिरहेको नेपाल प्रहरी, साइबर ब्यूरो भोटाहिटीका प्रहरी निरिक्षक राजकुमार खड्गी बताउँछन् ।

उनका अनुसार नेपालको सामाजिक सञ्जालमा मात्र नभएर बैकिङ क्षेत्र र सरकारी वेबसाइटहरूमा समेत आक्रमण तथा ह्याकिङको प्रयास भएका घटना पनि दोहोरिएका छन् । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, एयरलाइन्स लगायतका कम्पनीका सिष्टममा पनि आक्रमण हुने गरेका छन् ।

‘केही वर्षयता सामाजिक सञ्जाल ह्याक भएका घटना निकै बढेका छन्, अझ सामाजिक सञ्जालमा कसैका नक्कली खाता बनाएर रकम माग्ने, आपत्तिजनक तस्वीर राखेर ब्ल्याकमेल गर्ने घटना पनि बढिरहेका छन्,’ प्रहरी निरीक्षक खड्गी भन्छन्, ‘प्रयोगकर्ताले राखेका पोस्ट तथा तस्वीरमा नकारात्मक कमेन्ट गर्ने, संघसंस्था र व्यक्तिका आइडी ह्याक गर्ने गरेका घटना पनि बढिरहेका छन् ।’

के हो साइबर अपराध ?

कम्प्युटर तथा कम्प्युटर नेटवर्कको प्रयोग गरेर गरिने जुनसुकै प्रकारका अपराधहरूलाई पनि साइबर अपराधका रुपमा बुझिन्छ ।

समाजमा पहिलेदेखि नै अपराध वा कसुर भनी पहिचान गरी कानुनले रोक लगाएका कार्यहरू यदि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिन्छ भने त्यसलाई समेत साइबर अपराध भन्ने गरिन्छ । अनधिकृत पहुँच, हस्तक्षेप, उपकरणहरूको दुरुपयोग, कम्प्युटरको माध्यमबाट हुने जालसाजी, किर्ते, बालयौन दुराचार, प्रतिलिपि अधिकार र सोसँग सम्बन्धित अन्य अधिकारको उल्लंघनलाई समेत साइबर अपराध भनेर परिभाषित गरिएको छ ।

नेपालमा साइबर अपराधको हालको प्रवृति

भोटाहिटीस्थित साइबर ब्यूरोका प्रहरी निरिक्षक राजकुमार खड्गीका अनुसार हालसम्मका साइबर अपराधको प्रवृति हेर्दा विभिन्न किसिमका नग्न तस्वीरमा व्यक्तिको अनुहार जोडेर अनलाइन प्रविधि (सामाजिक सञ्जाल) मा राख्ने, अश्लील तस्वीर तथा भिडियो पोस्ट गरिदिने घटना बढेका छन् ।

‘व्यक्तिका सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, अन्य व्यक्तिको सामाजिक सञ्जाल बनाएर गलत सूचना दिने, सरकारी तथा अन्य साइटहरू ह्याक गरेर ठगी गर्ने पाइन्छ,’ उनी भन्छन् ।

किन बढ्दैछन् साइबर अपराधका घटना ?

पछिल्लो समय मानव अस्तित्वका लागि अनिवार्य जस्तै भएको इन्टरनेटमा सबैको पहुँच भएपछि साइबर अपराधका घटना बढ्न थालेको प्रहरी निरिक्षक राजकुमार खड्की बताउँछन् ।

‘प्रविधिको सही सदुपयोग नहुँदा समाजमा साइबर अपराधका घटना बढिरहेका छन्, प्रयोगकर्तालाई इन्टरनेटमा सामाजिक सञ्जाल कसरी चलाउने भन्ने ज्ञान हुँदैन, त्यसैले यस्ता घटनाले प्रश्रय पाइरहेका छन्,’ उनी भन्छन् ।

उनका अनुसार अरुलाई प्रलोभनमा पारेर ह्याक गर्ने गरेको पाइएको छ । साइबर अपराधका घटना वृद्धि हुनुमा इन्टरनेट प्रयोगकर्ताको आफ्नै लापरवाहीले गर्दा यस्ता घटना घट्ने गरेका छन् ।

साइबर अपराधबाट कसरी जोगिने?

सूचना र प्रविधिको अहिलेको युगमा इन्टरनेटको प्रयोग सबैका लागि अपरिहार्य भए पनि प्रयोगकर्तालाई यसको नकारात्मक पक्षको समेत ज्ञान हुनु आवश्यक रहेको खड्की बताउँछन् ।

‘सामाजिक सञ्जालको प्रयोग गर्दा नचिनेको व्यक्तिलाई साथी नबनाउने, आफ्ना गोप्य कुराहरू अरुसँग शेयर नगर्ने, अनावश्यक लिंकहरू नखोल्ने, आफूले चलाउने एपहरूमा बलियो खाता राख्ने गरेमा साइबर अपराधका घटनाबाट बच्न सकिन्छ,’ उनी भन्छन् ।

साइबर सुरक्षाका लागि कम्प्युटर तथा ल्यापटपमा राम्रो (मोडिफाइ नगरिएको) अपरेटिङ सिस्टम राख्नुपर्छ भने आफूले प्रयोग गर्ने इमेलको पासवर्ड बलियो र लामो राख्नुपर्छ । अहिले प्रायः एपहरूले टु फ्याक्टर अथेन्टिकेसन, ओटीपी र फिङ्गर प्रिन्टको सुविधा दिएका छन् । त्यसलाई सक्रिय बनाउँदा पनि साइबर अपराधका घटनाबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ ।

कस्तो छ नेपालमा साइबर अपराधसम्बन्धी कानून ?

विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाइ विद्युतीय अभिलेखको सिर्जना, उत्पादन र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानूनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि नेपालमा हाल ‘विद्युतीय कारोबार ऐन, २०६३’ कार्यान्वयनमा रहेको छ ।

यस्तै सूचना प्रविधिको विकास तथा बढ्दो प्रयोगसँगै देखिएको साइबर सुरक्षाको जोखिमको पहिचान, त्यसबाट हुने असरको न्यूनीकरण र अनलाइनको माध्यममा बालबालिकामाथि बढ्दो दुव्र्यवहारका घटना रोक्न ‘अनलाइन बाल सुरक्षा निर्देशिका, २०७६’ समेत कार्यान्वयनमा रहेको छ ।

यस्तै नेपाल दुरसञ्चार प्राधिकरणले समेत साइबर सुरक्षा विनियमावली, २०७७ लागु गरेको छ । यस्तै ‘मुलुकी देवानी सहिंता ऐन, २०७४’ तथा ‘मुलुकी अपराध सहिंता ऐन, २०७४’ पनि कार्यान्वनमा रहेको छ ।

साइबर सुरक्षा विश्वकै संवेदनशील विषय भइसकेको छ । यस क्षेत्रका विज्ञहरूका अनुसार यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अझ नेपालजस्ता देशमा साइबर ह्याकिङ र ठगीका घटना बढिरहेका छन् । नेपालमा मुख्यतः विद्युतीय कारोबार ऐन २०६३ को प्रावधान बमोजिम साइबर सुरक्षा तथा अपराधका विषयहरू नियमन तथा नियन्त्रण भइरहेका छन् ।

प्रविधिको रुपान्तरण तथा सूचना प्रविधिका क्षेत्रमा आइपरेका परिवर्तनसँगै साइबर सुरक्षासँग सम्बन्धित नीतिगत, कानूनी तथा संस्थागत व्यवस्थामा समयानुकुल परिवर्तन ल्याउनुपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?