मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’

काठमाडौँ – इलाम सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । 

सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।  

यति बेला पालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ ।

जिल्लाका १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिका स्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् ।

रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उनले बताए ।  १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने उनले जानकारी दिए । 

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो ।

उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो ।

यस पटक पनि आगामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबिच प्रतिस्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताए 

“उहाँहरू आ–आफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ” – बाँस्तोलाको भनाई छ । 

गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ ।

आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । 

माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक विद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए  ।

नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ । 

जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा  विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखनीय भूमिका खेलेको बताए । 

माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा रु १५ लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिइन।

सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा रु ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए ।

नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिए । 

यस पटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आवमा खेलकुदका लागि रु २० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताए ।

“आर्थिक रूपमा सबै पालिकाले समान लगानी गर्नुपर्छ, अर्को वर्ष फेरि अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो”, अध्यक्ष राईले भने ।

पालिकास्तरबाहेक वडागत रूपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएकाे छ । पालिकाले प्रतियोगितासँगै खेलमैदान निर्माणको कामसमेत गरिरहेका छन् । 

यस पटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साता हुँदै छ । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सल आर्टका सबै विधाका खेल हुनेछन् ।

पालिका स्तरबाट छनोट भई जिल्ला स्तरमा र जिल्ला स्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन् । रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् ।

जिल्लामा विगत वर्षमा माईभ्याली गोल्डकप आयोजना हुँदै आएकामा यस वर्ष माईभ्याली गोल्डकप स्थगित गरिएको छ । इलाम गोल्डकप हुने भएपछि ठूलो टुँडिखेलमा यति बेला बासको प्यारापिट निर्माण भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?