मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिका पुग्यो नेपाली टोली

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाली टोली दक्षिण अफ्रिका पुगेको छ । शुक्रबार काठमाडौंबाट गएको नेपाली युवा टोली शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ ‘क्यान’ ले जनाएको छ ।

यू-१९ विश्वकप क्रिकेट जनवरी १९ ‘माघ ५ गते’ देखि सुरु हुँदैछ । त्यसअघि नेपाल यू-१९ टिमले दक्षिण अफ्रिकामा तयारी गर्नेछ । नेपालले जोहानेसबर्गमा एक साता बिताउनेछ । त्यसक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई प्रशिक्षण म्याच खेल्ने क्यानले जनाएको छ ।

यू-१९ विश्वकप अघि नेपालले आईसीसीको कार्यक्रम अनुसार दुई वार्म अप म्याच खेल्नेछ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ । नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । पछिल्लो पटक नेपालले सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप खेलेको थियो ।

यू-१९ विश्वकप यसअघि श्रीलंकामा गर्ने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि युवा विश्वकप दक्षिण अफ्रिका सारिएको छ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू-१९ विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा दक्षिण एसियाका पाकिस्तान र अफगानिस्तानसँगै न्युजिल्याण्ड रहेको छ ।

नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका छ । नेपालले एसीसी यू-१९ एसिया कपमा पनि पाकिस्तान र अफगानिस्तानसहित भारतसँग खेलेको थियो । त्यसबेला तीनवटै खेलमा पराजित भएको नेपालले त्यसलाई बिर्सेर दक्षिण अफ्रिकामा उच्च प्रदर्शन गर्ने प्रशिक्षक जगत टमाटाले बताए ।

नेपालको लक्ष्य सुपर सिक्समा पर्ने रहेको र त्यसका लागि न्यूजिल्याण्ड विरुद्धको पहिलो खेल लागि महत्वपूर्ण हुने उनले बताएका छन् ।
यस पटक यू-१९ विश्वकपमा फर्म्याटमा केही परिवर्तन गरिएको छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि हरेक समूहको शीर्ष टिम सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

सुपर सिक्स चरणमा १२ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह ए को शीर्ष तीन र समूह डी को शीर्ष तीन टिम सुपर सिक्स एडी मा पर्नेछ र भने समूह बी को शीर्ष तीन र समूह सी को शीर्ष तीन टिम सुपर सिक्स बीसी मा पर्नेछ । नेपालले समूह डी मा शीर्ष तीनमा रहेमा सुपर सिक्समा समूह ए का भारत, अष्ट्रेलिया र इंग्ल्याण्ड जस्ता टिमसँग खेल्ने अवसर पाउनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?