काठमाडौं- साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।
अभिनेता मल्ललाई दुई दशक अघि नै खेल्न मन लागेको चलचित्र हो, जार । जब उनले साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढे, त्यही बेला नै उनलाई यसमा काम गर्ने रहर थियो ।
दुई दशक पछि आफ्नो सपना पूरा भएको सौगातले बताए । २७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरे नाटकमा अभिनय गर्न नपाए पनि नाटक भने पढेको बताउँदै सौगातले भने, “म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ’, सौगात भन्छन्, ‘तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई पनि त्यस्तै भयो ।
जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो । त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ,” सौगात भन्छन्, “त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो । मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले बताए । यद्यपि, मुख्य रोलका लागि नै अफर आएपछि झन धेरै खुसी भएको उनले बताए ।
सौगातका अनुसार चलचित्रमा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउँमा काँडा नै उम्रिएको थियो । ‘मैले कागबेनीको चरित्र पछि जारलाई संगालेर राखेको थिएँ । गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो । त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो । तर मैले अरु चलचित्र साइन गरिसकेको थिएँ । तर कुनै दिन जारकै कथामा चलचित्र बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ’, सौगात सम्झन्छन् ।
कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन् । “मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेँछु,” सौगात भन्छन्, “तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ ।”
कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन् । आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए ।
इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए । “कुन भनेर चाहिँ भन्दिनँ किन भने नभएससम्म हुँदैन, त्यसैले नभन्नु भन्छन्,” उनले भने, “त्यसैले अहिले यो भनेर भन्दिनँ । तर कुनै बेला काम भयो भने भन्नेछु । २७ वर्षअघि ‘जार’ पढ्दाको उत्साह अहिले फिल्ममा काम गरेर पुरा गरेकोमा सौगात खुशी छन् । ‘नाटकमा नभए पनि त्यो सपना फिल्ममा पुरा भयो । यो फिल्ममा काम गरिरहँदा इन्द्रबहादुर राईले पनि मेरो काम हेरिरहनु भएको हो कि जस्तो लाग्थ्यो’, उनी भन्छन् ।
चलचित्र ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । चलचित्रमा सौगातले अभिनेता अनुपविक्रमको श्रीमति गीताञ्जलीलाई भगाउने चरित्र निभाएका छन् । ‘त्यो काम एकदमै डरलाग्दो थियो । किनकी सन् १८ सयको दशकमा भएको त्यो घटनालाई चरित्रमा उतार्नु निकै जोखिम र चुनौती थियो । त्यो बेलाको समाज, नियम, कानून, भाषा, परिवेशमा हामी बाँधिएका थियौं । हरेक हिसाबले मैले जोखिम मोलेको थिएँ । अझ अर्काको श्रीमति नै भगाउनुपर्दाको अवस्था झन कस्तो होला ?’ सौगात प्रश्न गर्छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् । चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ । चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया