मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ऊनको स्वीटर’ वर्षौसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

काठमाडौँ- अभिनेता विपिन कार्कीका अनुसार ‘ऊनको स्वीटर’ आफूले वर्षौंसम्म सम्झिरहने चलचित्र बनेको छ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले केही वर्षपछि आफ्नै अभिनय फर्केर हेर्दा ‘ऊनको स्वीटर’ र यसमा आफूले निभाएको धरणीधर काफ्ले पात्रको चर्चा हुने दाबी गरे।

उनले भने, “चलचित्रको व्यावसायिक नतिजाका विषयमा भन्न सक्दिनँ, तर उठाइएको विषय र यसको निर्माण शैलीका कारण यो चलचित्र वर्षौंसम्म सम्झिने खालको बनेको छ। यो नयाँ पुस्ताका लागि ग्रामीण जीवनको दस्तावेज पनि हुनेछ। मैले आफ्नो उत्कृष्ट पाँच चलचित्रमा यसलाई राख्छु।

यसअघिका ‘जात्रा’, ‘हरि’, ‘नाका’ र ‘सेल्फी किङ’ चलचित्रमा निभाएका पात्रहरू पनि आफूलाई विशेष लाग्ने उनले बताए। व्यावसायिकताभन्दा पनि ती चलचित्रको कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उल्लेख गरे। “मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनुको कारण त्यहाँका पात्र र विषयवस्तु हुन्। ती अहिले हेर्नुस् वा पाँच वर्षपछि, उस्तै ताजै लाग्नेछन्,” उनले भने।

चलचित्र ‘ऊनको स्वीटर’ मा गुरुङसेनी युवती र काफ्ले ब्राह्मण युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको छ। विपिन कार्कीको जोडीका रूपमा अभिनेत्री मिरुना मगर प्रस्तुत छिन्। मगरका अनुसार निर्देशक नवीन चौहानले पहिलोपटक कथा सुनाउँदा पात्रसँग सहजै जोडिने अनुभव भएको थियो। “निर्देशकले पात्र र परिवेशसँगै एउटा गीतको सानो अंश सुनाए, त्यही बेलामा मैले काम गर्ने निर्णय गरेँ,” उनले भनिन्।

चलचित्रमा उनले ‘फूल’ नामक पात्रको भूमिका निभाएकी छन्, जसले मनको कुरा फ्याट्टै भन्ने र परिणाम नसोच्ने स्वभाव बोकेको छ। वास्तविक जीवनभन्दा भिन्न पात्र भएकाले सुरुआती चरणमा केही डर लागेको उल्लेख गरिन्। “बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले ग्रामीण जीवन बुझ्न पाइएकी थिइनँ, तर यो भूमिकामार्फत नेपाली कला र संस्कृतिसँग जोडिन पाएँ,” मगरले भनिन्।

निर्देशक नवीन चौहानका अनुसार चलचित्रको कथा मुलायम शैलीमा तयार गरिएको छ। “मैले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको हुँ। चार वर्षअघि सोचेको कथा अब चलचित्रका रूपमा आउँदैछ,” उनले भने।

साङ्गीतिक श्रव्यदृश्य निर्माणबाट चलचित्र निर्देशनतर्फ आकर्षण बढेको उल्लेख गरेका छन्। “गीत र श्रव्यदृश्यभन्दा चलचित्र फरक माध्यम हो भन्ने बुझेर निर्देशनमा होमिएको हुँ,” चौहानले स्पष्ट पारे।

‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता र संस्कृतिको झल्को पाइनेछ। पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ। निर्माण पक्षका अनुसार चलचित्र यही वैशाख २६ गते नेपाल र विदेशमा प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?