काठमाडौँ– अभिनेता तथा निर्देशक प्रकाश सपूतले निर्देशन गरेको फिल्म ‘बसन्त’ मा समावेश गीत ‘साँझ पर्यो झमक्कै’ नेपालमा युट्युबको ट्रेण्डिङमा छ । यो गीत रिलिजको केही दिनमै शीर्ष स्थानमा उक्लिएको थियो ।
शान्तिश्री परियार र प्रकाश सपूतको आवाज रहेको यो गीतको भिडियोमा स्वस्तिमा खड्का र प्रकाश सपूतलाई शीर्ष भूमिकामा अभिनय गरेको देख्न सकिन्छ । गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ भने यो समाचार तयार पार्दासम्म ४४ लाखभन्दा बढीले हेरेका छन् । यो गीत करोड क्लबमा पुग्ने निश्चित छ ।
बाग्लुङको गाउँले परिवेशको कथानक टिपिएको यो गीतमा गाउँतिर हुने रोदीको संस्कृतिलाई देखाइएको छ । गीतमा शीर्ष भूमिकामा अभिनय गरेका प्रकाश र स्वस्तिमाको अभिनयलाई पनि दर्शकले उत्तिकै रुचाएका छन् ।
यस्तै युट्युबको दोस्रो नम्बरमा दुई हप्ताअघि रिलिज गरिएको ‘माया जालैमा’ बोलको गीत परेको छ । पप र्याप शैलीको यो गीतमा पनि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । विजेश बज्राचार्यले निर्देशन गरेको गीतको भिडियोमा सविना लिम्बु, सृष्टि श्रेष्ठ, सरोज बज्राचार्य लगायतलाई देख्न सकिन्छ ।
लिल झोला, युवी द गोट र क्रिजनको स्वर रहेको यो गीतलाई लिल झोलाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस्तै नेपालमा युट्युबको तेस्रो नम्बर ट्रेण्डिङमा गायक तथा मोडल दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ रहेको छ । गीतमा दुर्गेश र समीक्षा अधिकारीले स्वर दिएका छन् भने भिडियोमा प्रियंका कार्की, कविता नेपाली लगायतको अभिनय छ ।
शान्तिश्री परियारको समेत आवाज रहेको हेमन्त शर्माको गीत ‘नम्बरी सुन हो नि म त’ बोलको गीत नेपालमा युट्युबको चौथो नम्बरमा छ । लोक शैलीको यो गीतमा खड्ग बुढा मगर, रोशन बुढा मगर, जुना विश्वकर्मा लगायतले अभिनय गरेका छन् ।
यस्तै नेपालको ट्रेण्डिङ नम्बर ५ मा फिल्म ‘फेरि रेशम फिलिली’ मा समावेश गीत ‘फेरि जालमा’ रहेको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा विनय श्रेष्ठ र सुपुष्पा भट्टको शीर्ष भूमिका देख्न सकिन्छ । यो गीतले रिलिजको दुई दिनमै दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया