मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जितविहीन रहँदै आइसिसी यु–१९ विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौँ – आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।

अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रनको योगफल तयार गरेको थियो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् भने सीमना केसीले दुई र रिया शर्माले एक विकेट झारेकी थिइन् । विश्वकपमा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

यो जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा अपराजित रहँदै सुपर सिक्समा छनोट भएको छ । अष्ट्रेलियाले यसअघि स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?