काठमाडौँ – नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि आयोजना गर्न लागेको सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक सार्वजनिक गरेको हो। तालिका अनुसार उद्घाटन खेलमा चर्च ब्वाईज फुटबल क्लव र संकटा क्लवबीच खेल हुने छ।
त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लव, १२ गते पुलिस क्लव र बागमति क्लव र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लवबीच खेल हुने आयोजकले जनाएको छ।
लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ। उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको बिकासका साथै खेलाडीहरुलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको जानकारी दिए।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया