मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रम्पले सोमबार लिने सपथमा कुन कुन कलाकारले दिँदैछन् प्रस्तुति?

काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा सोमबार शपथ लिँदैछन् । यससँगै उनी ह्वाइट हाउस सर्ने छन्। उक्त दिनमा औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको ‘परेड’ र साँझमा औपचारिक ‘बल डान्स’ पनि हुने छ।

स्थानीय र सङ्घीय अधिकारीहरूले करिब २,००,००० मानिसहरू वाशिङ्टन डीसीमा उपस्थित हुने ठानेका छन्। त्यसरी उपस्थित हुनेमा उनका समर्थक र प्रदर्शन गर्नेहरू दुवै हुन सक्छन्।

थुप्रै अमेरिकी सिनेटर र सांसदहरू, लगायत आउँदो प्रशासनका अतिथिहरू पनि त्यहाँ उपस्थित हुने छन्।

ट्रम्प, भान्स र उनीहरूका परिवार, बाहिरिँदै गरेका राष्ट्रपति र उपराष्ट्रपतिहरू उपस्थित हुने छन्। यसको अर्थ हामीले राष्ट्रपति बाइडन र उनी पत्नी जिल बाइडन अनि उपराष्ट्रपति कमला ह्यारिस र उनका श्रीमान्लाई पनि त्यहाँ देख्नेछौँ।

पूर्व राष्ट्रपतिहरू र उनीहरूका श्रीमतीहरू पनि उक्त समारोहमा प्राय उपस्थित हुने गर्छन्।

यो वर्ष जर्ज र लउरा बुशले पनि उपस्थिति जनाउने ठानिएको छ मिसेल ओबामाले भने उपस्थिति नजनाउने ठानिएको छ।

उक्त समारोहमा पूर्व अमेरिकन आइडल विजेता तथा गायिका केरी अन्डरवूडले अमेरिका द ब्यूटिफूल गीत गाउने कार्यक्रम तय गरिएको छ।

“म मेरो देशलाई माया गर्छु र समारोहमा गाउन भनिएको कुरालाई मैले सम्मानको रूपमा लिएकी छु। यो ऐतिहासिक कार्यक्रमको म सानो हिस्सा हुन पाउनेछु,” सोमवारको विज्ञप्तिमा न्डरवूडले भनिन्।

“एकता र भविष्यका लागि हामी सबै एक हुनुपर्ने बेला उक्त प्रस्ताव स्वीकार गर्न सक्नुले मलाई असाध्यै खुसी दिलाएको छ।”

अमेरिकी डिस्को समूह द भिलेज पिपलले पनि ट्रम्प उपस्थित हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ।

चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्‍यालीहरूमा उक्त समूहका वाइएमसीए र माचो म्यान गीतहरू बजाएका थिए।

“हामीलाई थाहा छ कि यो कुरा सुन्दा केहीलाई खुसी नलाग्न सक्छ, तर हामी विश्वास गर्छौँ कि सङ्गीतलाई राजनीतिसँग नजोडी प्रस्तुति दिनुपर्छ,” उक्त ब्यान्डले सोमवार आफ्नो फेसबुक पेजमा लेखेको छ।

“हाम्रो गीत वाइएमसीए एक विश्वव्यापी गीत हो र हामीले चाहेको उम्मेदवार पराजित भए पनि यो गीतले उथलपुथल र विभाजनयुक्त चुनावी अभियानपछि देशलाई एक ठाउँमा ल्याउन सहयोग पुर्‍यायो।”

ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनवूड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिनेछन्।

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?