मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानसिक स्वास्थ्य

धेरै मोबाइल चलाउने बालबालिकामा हुनसक्छ डिजिटल अटिजम

अहिलेको युगमा हरेक व्यक्तिका हातमा मोबाइल हुनु सामान्यजस्तै भइसकेको छ । अब मोबाइलको काम फोनमा कुराकानी गर्नका लागि मात्र रहेन । एउटै मोबाइल फोनले तपाईँलाई कैयन् सुविधा दिएको हुन्छ ।

पछिल्लो समय अभिभावक पनि मोबाइलमा झुण्डिने र आफ्ना सन्तानलाई भुलाउनका लागि मोबाइल दिने प्रचलन छ । जसले गर्दा नजानिँदा पाराले बालबालिका मोबाइलको लतमा फस्छन् । यही लतले नै बच्चा हरेक समय मोबाइल चलाउन खोज्छ । मोबाइलको लत छुटाउन पनि निकै गाह्रो हुने मनोविदहरू बताउँछन् ।

मोबाइलको लतका कारण बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ । यसैमध्यको एक हो, डिजिटल अटिजम । ‘डिजिटल अटिजम के हो ? यो समस्या कसरी उत्पन्न हुन्छ र कसरी बच्ने? लगायतका विषयमा मनोविद् गोपाल ढकालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

डिजिटल अटिजम के हो ?

बालबालिकालाई स्क्रिनको लत लागेर दैनिक क्रियाकलापमा बाधा पुग्ने र सोही उमेरको अन्य बालबालिकासँग मित्रता गाँस्न, घुलमिल हुन, समयअनुसार परिस्थिति बुझ्न कठिन भइरहेको अवस्थालाई डिजिटल अटिजम नाम दिइएको छ । डिजिटल अटिजम पछिल्लो समय धेरै सुनिएको नाम हो । तर यो समस्यालाई अहिलेसम्म बाल मनोरोग भनेर आधिकारिक निकायले स्वीकृति दिइएको छैन ।

यद्यपि डिजिटल अटिजम वर्तमान अवस्थामा चुनौती बनिरहेको कुरामा भने विज्ञहरु सहमत छन् । यसलाई अटिजमकै एक भाग मानिन्छ ।

यस्तो स्वास्थ्य समस्या निम्तने कारण के हो ?

भर्चुअल अटिजमबाट पीडित बालबालिकाले भर्चुअल संसारलाई नै आफ्नो वास्तविक जीवन जस्तै ठान्छन् । त्यहाँ बच्चाहरूले जे चाहे त्यो हेर्न पाउँछन् । यसरी उनीहरू वास्तविक संसारबाट टाढा रहन्छन् र आफ्नो वरपरका परिवारका सदस्यहरूसँग घुलमिल हुँदैनन् । यस्तोमा उनीहरूको आवश्यक सामाजिक सीप र भावनात्मक विकासमा बाधा पु¥याउँछ । उनीहरूलाई कस्तो बेलामा कस्तो प्रतिक्रिया गर्नुपछ, के सही, के खराब भनेर पहिल्याउन कठिन हुन्छ ।

निरन्तर भर्चुअल वातावरणमा समय बिताउँदा बालबालिकाको देख्ने र सुन्ने क्षमतामा पनि असर पर्न थाल्छ । केही बच्चाहरू ८ देखि १० घण्टा स्क्रिनमा बिताउँछन् भने उनीहरूको अवस्था ५ देखि ६ घण्टा बिताउने बच्चाको भन्दा खराब हुनसक्छ । यो समस्या दुईदेखि पाँच वर्षसम्मका बालबालिकामा बढी देखिन्छ । यो क्रम चलिरहयो भने किशोरावस्थासम्म पनि यसको प्रभाव रहन्छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकामा एक वर्षमुनिका बालबालिकालाई मोबाइल, टेलिभिजन, ट्याब, कम्प्युटर जस्ता इलेक्ट्रोनिक्स डिभाइसको अगाडि राख्न नहुने र दुईदेखि पाँच वर्षका बालबालिकाको स्क्रिन टाइम एक घण्टामा सीमित गर्नुपर्ने भनिएको छ ।

किनकि यही उपकरणको कारणले बच्चामा लत बस्छ, जो उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्छ । बच्चालाई खाना खुवाउन, सुताउन, कुनै जिद्दी गरेको पूरा नगर्दा चुप गराउन, आफ्नो काममा डिस्टर्ब हुन नदिन मोबाइल, टिभी र ल्यापटपमै अभ्यस्त गराइन्छ ।

फलस्वरुप बच्चामा यी उपकरणको लत बस्छ । जसले नपत्याउँदो तरिकाले बच्चाको सिक्ने क्षमता, बोल्ने तरिका, उसको व्यवहारमा हुनुपर्ने जति विकास हुन पाइरहेको हुँदैन । त्यसकै उपजको रूपमा अहिले अधिकांश बच्चाहरू डिजिटल अटिजम ठूलो स्वास्थ्य चुनौतीको रुपमा देखिँदै गएको छ ।

डिजिटल अटिजम भएका बालबालिकाहरुमा के–कस्ता लक्षण देखा पर्छ ?

डिजिटल अटिजम भएका बालबालिकाको सिक्ने क्षमता कम हुन्छ । उनीहरू हाइपरएक्टिभ अर्थात् एकैछिनमा धेरै रिसाउने, एकैछिनमा अति खुसी हुने वा अति डराउने जस्तो प्रतिक्रिया दिने खालका हुन्छन् । त्यस्तै कतिपयमा कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने हुन्छ भने उनीहरूमा एउटै गतिविधिमा एकोहोरिने र पटकपटक उही काम गरिरहने समस्या देखा पर्छ । यस्तै बालबालिकाको शारीरिक गतिविधिमा पनि कमी आउँछ । कतिपयमा साथी बनाउन नखोज्ने, भीडभाड भएको ठाउँमा नजाने, आफूलाई मन लागेको कुरा पनि भन्न नसक्ने समस्या पनि देखा पर्छ ।

यसको उपचार विधि के–कस्तो छ ?

हालसम्म यसको पहिचान गर्न कुनै विशेष परीक्षण विधि छैन । यसका पहिचानका लागि बच्चाको हेर्ने, सुन्ने, बोल्ने र समन्वय गर्ने क्षमता चिकित्सकहरुले मूल्याङ्कन गर्छन् । यदि बच्चाको बोल्ने क्षमता कमजोर छ भने उसलाई वाककला कक्षा दिइन्छ । अन्तरक्रियात्मक उपचार तथा स्पीच थेरापी जस्ता विधिले पनि बच्चालाई पढ्न र लेख्न मद्दत गर्न सक्छ ।

शैक्षिक कार्यक्रम र व्यवहार उपचारका साथै, यसले बालबालिकाहरूलाई बोल्ने, सामाजिक व्यवहार र सकारात्मक मनोवृत्ति सिक्न मद्दत गर्ने सीप उन्मुख प्रशिक्षण सत्र पनि प्रदान हुन्छ । बच्चालाई सकारात्मक वातावरणमा राख्न बाबुआमालाई पनि बच्चासँग खेल्न र गुणस्तरीय समय बिताउन प्रोत्साहन गरिन्छ । यदि आवश्यक भएमा मनोचिकित्सकको सहयोगमा औषधि पनि दिइन्छ ।

यसमा अभिभावकको कस्तो भूमिका रहन्छ ?

पहिलो कुरा त भर्चुअल अटिजमको बारेमा अभिभावकले स्पष्टसँग बुझ्न आवश्यक छ  । ताकि बच्चाको व्यवहारलाई बुझ्न सहज होस् । बच्चाले मोबाइल लिन जति जिद्दी गरे पनि नदिने, बरु फकाउने र उनीहरूसँग समय बिताउने गर्नुपर्छ । बच्चाहरुलाई अन्य कामहरुमा सक्रिय बनाउने गर्नुपर्छ । बच्चालाई खाना दिने समयमा आफू पनि सँगै बसेर खाने र अभिभावकले पनि आफ्नो मोबाइल नचलाउने गर्नुपर्छ । बच्चालाई चित्रकला, खेलकुद, सङ्गीत र नृत्य जस्ता अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गरी त्यस्ता कक्षामा भर्ना गराउँदा पनि प्रतिभासँगै सामाजिक रुपमा अन्तरक्रिया गर्ने अभ्यास गराउनुपर्छ । यस्ता कक्षाले पनि उनीहरूलाई डिजिटल प्लेटफर्मबाट टाढा राख्न मद्दत गर्छ ।

धेरै मोबाइल हेर्ने समस्याले आँखामा कस्तो असर पर्छ ?

बालबालिकाले लगातार मोबाइल, ल्यापटप, टेलिभिजन जस्ता ग्याजेट्सहरुको  स्क्रिनमा हेर्दा त्यसबाट आउने हानिकारक किरणहरूले आँखा सुक्खा र रातो हुने समस्या पैदा हुन्छ । बच्चाको निरन्तर मोबाइल चलाउने बानीलाई नियन्त्रण गर्न सकिएन भने कालान्तरमा आँखासम्बन्धी अन्य समस्या पनि  निम्तिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?