काठमाडौँ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् ।
टोरन्टोबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको ब्राम्पटन सहरका स्थानीयको प्रदर्शनका क्रममा शान्ति कायम गर्न हिन्दू सभा मन्दिर बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् ।
पील रिजनल पुलिसका प्रवक्ताका अनुसार अहिलेसम्म हिंसात्मक कार्यमा सहभागी भएका कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले हिंसामा कुनै समूहको संलग्नता रहेको किटानीसाथ आरोप लगाउन अस्वीकार गरेको छ ।
“ब्रैम्पटनस्थित हिन्दू सभा मन्दिरमा आज भएको हिंसात्मक कार्य अस्वीकार्य छ। प्रत्येक क्यानेडियालीलाई आफ्नो विश्वासलाई स्वतन्त्र र सुरक्षित रूपमा अभ्यास गर्ने अधिकार छ,” ट्रुडोले एक्समा लेखेका छन् ।
एक संघीय सांसद तथा ट्रुडोको लिबरल पार्टीका सदस्य चन्द्र आर्याले भारतको पञ्जाब राज्यमा स्वतन्त्र सिख मातृभूमिका लागि पृथकतावादी आन्दोलनका समर्थकहरूलाई सङ्केत गर्दै ‘खालिस्तानी’लाई यो घटनाका लागि जिम्मेवार ठहराउनु भएको छ ।
ओटावाले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय अङ्गीकृत क्यानेडियाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारले षडयन्त्र गरेको आरोप लगाएपछि क्यानडा र भारतबीचको सम्बन्धमा खटपट आएको छ ।
निज्जरको हत्यापछि क्यानडाले भारतमाथि क्यानडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गरी व्यापक अभियान चलाएको आरोप लगाएको छ ।
“क्यानडाका खालिस्तानी अतिवादीहरूले आज सुरक्षाको सीमा पार गरेका छन्,” आर्याले एक्समा लेखेका छन्। “ब्राम्पटनस्थित हिन्दू सभा मन्दिर परिसरभित्र क्यानेडियाली हिन्दू भक्तजनमाथि खालिस्तानीहरूले गरेको आक्रमणले क्यानाडामा खालिस्तानी हिंसात्मक अतिवाद कति गहिरो र निर्लज्ज भएको छ भन्ने देखाउँछ,” उनले भने ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ‘खालिस्तानको पहेँलो झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिसहित एक प्रतिद्वन्द्वी समूहसँग भिडन्त गरिरहेको देखिन्छ’।
ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले क्यानडाको सार्वभौमिकताको उल्लङ्घन गरेको आरोप लगाएका छन् । भारतले उक्त आरोप अस्वीकार गर्दै आएको छ । दिल्ली र ओटावाले यसै महिनाको सुरुमा एकअर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया