रङ्गमञ्च र सिने क्षेत्रमा झण्डै दुई दशक अभिनयमा बिताएका अभिनेता विजय बराललाई नचिन्ने दर्शक शायदै होलान् । रङ्गमञ्च र फिल्मको दुनियाँमा उनले बाँचेका कैयौं पात्र र उनको उम्दा अभिनय क्षमताले उनी आम दर्शकबीच लोकप्रिय छन् ।
रामबाबु गुरुङको फिल्म ‘कबड्डी’ ले विजयलाई थप चर्चा दिलायो । रङ्गमञ्चमा स्थापित नाम भए पनि फिल्ममा भने केही वर्षयता मात्र उनको लोकप्रियता बढेको हो । कैयन् फिल्ममा अभिनय गरेका विजय फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा भने केन्द्रीय भूमिकामा देखिएका छन् ।
फिल्ममा विजयका अलावा प्रकाश सपूत, अञ्जना बराइली, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । सिनेमा क्षेत्रको दशकभन्दा लामो अभिनय यात्रामा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा मुख्य भूमिका निर्वाह गर्दै गर्दा बरालले यसलाई चुनौती र अवसर दुवैका रुपमा स्वीकार गरेका छन् । आजदेखि प्रदर्शनमा आएको सोही फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को सेरोफेरोमा रहेर जोय नेपालकर्मी सुशीला तामाङले अभिनेता बरालसँग गरेको कुराकानी:
रङ्गमञ्चतिरको सङ्घर्षमा ‘चरणदास चोर’ र यता सिने क्षेत्रमा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा मुख्य भूमिकाका लागि पाउनुभएको अवसरलाई तुलनात्मक रुपमा कसरी लिनुभएको छ ?
त्यतिबेला नाटक ‘चरणदास चोर’मा दया दाइ (दयाहाङ राई) फिल्म ‘लुट’का लागि बिजी हुनुभएकोले अपर्झट पाइहालेँ । त्यो हिसाबमा म त लक्की मान्छे हुँ । त्यतिबेला त राजन दाइ (राजन खतिवडा) गुरु हुनुहुन्थ्यो । उहाँसँगै खेल्न पाएँ । त्यतिबेला म मात्र नयाँ थिएँ । त्यो बेला लिड रोलमा पाउँदाको खुसी अहिले पूर्णबहादुरको खुसी उस्तै बराबर छ । त्यतिबेला पनि मलाई अलिकति डर र जिम्मेवारी सहितको खुसी थियो भने यो पनि त्यस्तै छ । तर परिपक्कताको हिसाबले अहिले आएको छ ।
अभिनय, सोच, बुझाइमा यति लामो जर्नीमा म परिपक्क भएँ । अहिले मेरो नेचर यस्तै होला तर अभिनयका लागि मेरो सोच्ने लेभल चेन्ज भएर आयो । तर ‘चरणदास चोर’मा लिड रोल पाउनु र अहिले ‘पूर्णबहादुरको सारङ्गी’मा पाउनुको अवस्था चाहिँ ठ्याक्कै उस्तै छ । मेरोमा उत्साह त्यस्तै छ ।
‘पूर्णबहादुरको सारङ्गी’मा गर्नुभएको मुख्य भूमिका तपाईंको लागि किन विशेष भयो ? फिल्मको कथावस्तुको हिसाबले हेर्ने हो भने अरु पनि फिल्ममा तपाईंको भूमिका त मुख्य नै देखिन्थ्यो नि होइन ?
अरु फिल्महरुमा लिडरोल भन्दा पनि समान रोल नै थियो । जस्तो पण्डित बाजेको लौरोमा टाइटल भन्दा पनि पात्र पाएको थिएँ । तर यहाँ पात्र र टाइटल सबै पाएँ । यो फिल्ममा मेरो चार्म किन पनि छ भने फिल्ममा थुप्रै पात्रहरु भएपनि टाइटल अनुसार पात्र मैले पाएको छु । आफैं लिड भएपछि अरु पात्रबारे पनि गर्न पाइयो । यसमा आफू अनुकुलताको पात्र मात्र छैन । यसमा थ्रि लियर पात्र भएकोले अलि बढी नै चर्चा भएको हो कि जस्तो मलाई लाग्छ ।
भनेपछि फिल्मी यात्राको दशकभन्दा लामो करिअरमा तपाईंले चाहेको जस्तो गरी यहाँ पोखिन पाउनुभयो होला नि ?
यसमा मानेमा हेर्दा मैले चाहेको कुरा यहाँ पाएँ । थिएटरमा त मैले गरि नै रहेको थिएँ । बुढोको रोल गर्नु मेरो लागि ठूलो कुरो होइन । अरुका लागि गाह्रो भएपनि मेरो लागि सहज हो । किनकि यो त मैले थिएटरमा गरिरहेकै काम हो । तर सिनेमाका लागि मलाई चाहिरहेको रोल यस्तै थियो र हो । एक्टरको आफ्नो एक्टिङ देखाउने काम भनेको यस्तैबाट हो ।
म जति उमेरको छु त्यो भन्दा बढी पनि छु र उमेरभन्दा कम पनि देखिएको छु । मिडिल एजका लागि त अहिलेकै उमेर छँदैछ । यसमा चाहिँ बल्ल मलाई आफूले एक्टिङ देखाउने ठाउँ भयो । अरु त म कम्फर्ट जोनमै गरिरहेको थिएँ । ती सबै मलाई सजिलै लाग्थ्यो । तर यसमा मलाई कम्फर्ट जोनसहित अडियन्स र मेरो लागि पनि फरक स्वाद भयो । त्यो हिसाबले मेरो लागि राम्रो भयो ।
यो स्थान ओगट्न तपाईंलाई यति लामो समय किन लाग्यो होला ?
यसमा म पनि तयार थिइँन होला र मलाई भन्ने मान्छे पनि तयार हुनुहुन्न थियो होला । अहिलेको हिसाबमा हेर्दा विश्वास नै हो । अभिनयको हिसाबमा त थिएटरमा गरिरहेकै हुँ । तर मुख्य चरित्रको हिसाबले चाहिँ विश्वास नभएको हुनसक्छ । टाइटल रोल, त्यत्रो लगानी, भयंकर अरु चरित्रहरु हुँदाहुँदै पनि मलाई विश्वास गर्नु भनेको एउटा चुनौतीपूर्ण काम नै हो । अभिनयको हिसाबले फरक चीज होला तर सिनेमाको कमर्सियल रुपमा हेरेर उहाँहरुले मलाई दिनुभएको होइन होला ।
यो फिल्म तपाईंका लागि अवसर हो या चुनौती ? कुन रुपमा लिनुभएको छ ?
मेरो लागि यो फिल्म चुनौती र अवसर दुवै हो । मेरो लागि अहिलेको अवसर सफलता र असफलताबिचको सहजता हो । किनकी यही कुरा मेरो लागि १० वर्ष अगाडि हुन्थ्यो भने मेरो जीन्दगी के होला, कसो होला भनेर म फ्रस्टेड पनि हुन्थेँ होला । तर अहिले म सहजै छु । मैले जुन यात्रा तय गरेर आएको छु, त्यसले मलाई सफल, असफल जे पनि हुनसक्छ । अहिलेको समयमा सहज हुन जरुरी छ भनेर सिकाएको छ । मेरो यात्रा त्यसरी तयार भएको छ । त्यसकारण यसमा कमर्सियल चुनौती त होला तर मेरो कामको हिसाबले गरेँ हुँला जस्तो लाग्छ । तर, अरुको नजरबाट हेर्दा अभिनयको हिसाबमै पनि छुटपुटको कुरा त होलान् । तर मैले आफूले सक्ने प्रयास गरेको छु ।
रिलमा पूर्णबहादुरको जीवन बाँच्नलाई कति सहज र असहज भयो ?
मैले बाँचेको जीवन हेर्ने हो भने पूर्णबहादुको जीवन धेरै कष्टकर छ । म मध्यमपरिवारको विजय बराल पूर्णबहादुर निम्न परिवारमा हुर्केको छ । उसको जीवनमा नै म्युजिकल जर्नी छ । विजय बराल पात्र मैले बुवा बैंकमा जागीरे हुनुभएकोले पैसा कमाउनुपर्छ भन्ने हुर्काइ भयो । यता पूर्णबहादुर जिम्मेवारी लिनुपर्छ र आफ्नो कल्चरलाई पुस्तान्तरण गर्नुपर्छ भन्ने सोचको मान्छे । तर विजय बराल आफूलाई फरक गर्नुपर्छ, गाउँबाट शहर छिर्नुपर्छ, राम्रो एक्टर बनुपर्छ र ऊ आफैं जागीर खाएर कमाउनुपर्छ भनेर सोचेको मान्छे हो ।
पूर्णबहादर कलामार्फत गीत गाएर गिताङ्गे भएर काम गरेको मान्छे । उसको सपना भनेको आफ्नो छोरालाई अरुजस्तै ठूलो मान्छे बनाउनु हो । हुन त सबै बाउहरुको सपना त उही हो । आफ्नो छोरा ठूलै होस् भन्ने चाहन्छ । विजय र पूर्णबहादुरमा मेल चाहिँ कहाँ खान्छ भने मेरो बुवाले देखेको र मैले मेरो छोराका लागि देखेको सपनामा पूर्णबहादुरको स्थिति उस्तै हो । तर परिस्थिति चाहिँ फरक हो ।
पूर्णबहादुरको जीवन बाँच्न कठिन छ । त्यो कठिनतालाई ट्रेलरमा पनि देखाइएको छ । अहिलेको समयमा पनि यस्तो किन भनेर नयाँ पुस्ताले प्रश्न गर्न सक्ला तर त्यो समयको अवस्थालाई बुझेर राम्रो सोच्ला कि भन्ने हो । यहाँ २०४५ सालतिरैको कथा हो । त्यो कथा हुर्काइले समयकाललाई देखाउँछ । त्यो समयकालमा त्यो परिस्थिति थियो भन्ने बुझाउँछ ।
सुटिङका लागि मैले सारङ्गी बोक्दा कुम नै दुख्यो । बजाउँदाखेरी हात दुख्थ्यो । मैले सारङ्गीको भार बोक्दा यति गाह्रो हुन्छ भने जीवनभरी अरुले दबाएको भार, अरुले भनेको तनाव कति हुन्छ होला । त्यो कुरा त मैले जति पात्रमा बाँचेपनि बुझ्न सक्दिन । आखिर म त कलाकार न हुँ ।
आफ्नो पुर्ख्यौली पेसा जोगाउनकै लागि सारङ्गी बोकेर पूर्णबहादुरहरुको जीवनलाई चाहिँ आफैंले कति नियाल्नुभएको छ ? यो फिल्मपछि तपाईंको दृष्टिकोणलाई कति प्रभाव पर्यो ?
जहिले पनि एउटा कल्चर र नयाँ ठाउँमा पुग्दा नयाँ चीज सिकिँदो रहेछ । यसमा सकारात्मक अनुभव नै भयो । म यसै पनि लक्की मान्छे । म तराईको मैथिली बोल्ने मान्छे पाँचथरको लिम्बु बोलिरहेको छु । मैले बच्चा बेलामा चाहिँ गन्धर्व सुमदायलाई देखेको र बजाउँदै हिँडेको सुनेको थिएँ ।
त्यही पात्र गरिरहँदा धेरै डिटेलमा नभएपनि समाजप्रतिको दृष्टिकोण, हेर्ने सोचाइमा चाहिँ फरक हुने रहेछ । यहि फिल्मैकै सन्दर्भमा मैले गन्धर्व संस्कारमा हुर्केर यो संस्कृतिलाई अझैपनि निरन्तरता दिइरहनुका साथै ठूलो लेभलमा पुग्नुभएको धेरैजनासँग गफ पनि गरेँ । अहिलेसम्म बजाएर हिँड्नुभएको अवस्थालाई पनि बुझेँ ।
त्यसरी हेर्दा यो समाज र हाम्रो आँखाले दृष्टिकोणमा फरक रहेछ भन्ने भयो । यो समुदायको गम्भीरता, निर्दोषपना र कला सबैलाई हेरेँ । यो समुदाय भगवानको पालादेखि नै सांगीतिक समूह वा जातिको रुपमा स्थापित गरेको हो । समाजमा कथा भन्ने, सञ्चारको काम गर्ने भगवान नारद जस्तै हो । तर यही कुरालाई समाजले गाइने, माग्ने काम भनेर तल्लो वर्ग जस्तो बनाइदियो ।
सांस्कृतिक रुपमा हेर्दा उहाँहरुको जीवन सहज भइपनि समाजले पेल्दै तल पारिदियो । यसकारण कोही कोहीले समयको पुस्तान्तरणसँगै आफूलाई रुपान्तरण गर्नुभयो । तर कोही कोही चाहिँ त्यही बिचमा बस्नुभयो । झलकमान गन्धर्वको लाइन समातेर कसैले यसैमा राम्रै गर्नुभएको पनि छ ।
यही फिल्मकै लागि मैले धेरैजना बुझेँ र ठमेलतिर पनि गएँ । १० दिन सारङ्गी सिकेँ पनि । ठमेलमा बसेर बजाउने र विदेशीलाई सारङ्गी बेचिरहनुभएकाहरुसँग पनि बसेँ । त्यो देख्दा भित्रैबाट उहाँहरुप्रति सम्मान भाव जाग्यो । गन्धर्व समाजलाई विभेद गरेको होइन भनेर यही समुदायका धेरैले सोध्नुभएको छ । तर सङ्गीतकै माध्यममा चिनिएको समुदायलाई परसम्म लैजाने फिल्मको प्रयास हो । झलकमानले सारङ्गीमा दिनुभएको कोर कुरा, गन्धर्व समुदायका गहिराइमा जान खोजिएको छ ।
यो फिल्म प्रदर्शनमा आएपछि समुदायमा कस्तो सन्देश प्रभाव होला ? समुदायले यो फिल्म हेर्नुपर्छ कि पर्दैन ?
समुदायले यो फिल्म हेर्नुपर्छ । समुदायले आफू को हो र आफ्नो लागि के गरिदिएको छ भन्ने कुरा त थाहा पाउनुपर्छ । कसैलाई कमर्सियल रुपमा हामीलाई नै प्रयोग गरेर हामीलाई नै नराम्रो भनेको छ कि भन्ने पनि हुनसक्छ । तर यहाँ टाइटल पूर्णबहादुरको सारङ्गी भनेपछि त्यो एउटा व्यक्तिको सारङ्गी हो । जुन सारङ्गीको प्रयोग गरेर उसले आफ्नो छोरालाई ठूलो मान्छे बनाउने सपना देख्छ । कथा यति हो । त्यो भित्र गन्धर्व समुदायको मूल जरोतिर पनि छिर्छौं तर मुख्य रुपमा बाउछोरासँगको सम्बन्ध हो । त्यसकारण समुदायसँगै सबैले हेर्दा बाउ र छोराबिचको सम्बन्ध, प्रेमका कुरा देखिन्छ ।
हामीले केही गल्ती गर्यौं कि भन्ने हिसाबमा चाहिँ समुदायले हेर्नैपर्छ । बच्चामा गाउँदै हिँडको गिताङ्गे सारङ्गी बोकी हिँड्ने मान्छे अहिले आएर कस्तो भयो, के भयो, त्यसको रुट लाइन के हो भन्ने कुरा समाज बुझ्नकै लागि भएपनि थाहा पाउन जरुरी छ ।
पूर्णबहादुरको जीवन बाँच्दा समेट्नुभएको स्मरणीय क्षणहरु पनि त होलान् नी ?
फिल्ममा बुढोको जीवन बाँच्दा छुट्टै किसिमको अनुभव भयो । बुढोको उमेरमा बाँच्दा म धेरैसँग बोल्दिन थिएँ । किनकी यो रोलको इमोसन नै त्यही थियो । छोरासँग पढाउने क्रममा छुट्टिने, आउने, तन्किने, भेट, नभेट सबै हुन्छन् । त्यो हुँदाखेरी मैले मेरो बुवा, हजुरबुवासँगको सम्बन्ध हेर्थेँ । धेरैलाई विजय त यस्तो थिएन भन्ने फिल हुन्थ्यो । त्यसलाई मैले अध्यात्मिक बाटोमा लगेँ ।
त्यो पात्रमा बाचिरहँदा मैले ध्यान गरेजस्तै गरेँ । जिउने पात्र हेपिएको थियो । उसको बडी ल्याङ्गोज यस्तो हुन्छ, दबिएको मान्छेको कुम झरिरहेको हुन्छ, टाउको झुकिरहेको हुन्छ, नतमस्तक हुन्छ, दुःखी हुन्छ । त्यो सोचले म हरेक दिन हिँड्थेँ । रुँदा पनि मलाई आफैं रुन मन लाग्थ्यो । १५ दिनको त्यो मुड बनाउँदा को एक्टरले हेर्दा पनि मलाई रुन मन लाग्थ्यो । मेरो जीवनमा १५ दिनको त्यो मुड आध्यात्मिक थियो । पछि मिडिल एजको पात्रमा अलि फ्रेस भएँ । योङ्ग एजको पात्रमा फेरि आफ्नै लयमा फर्किएँ ।
‘पूर्णबहादुरको सारङ्गी’ फिल्म सफल हुनु र नहुनुमा कलाकारका रुपमा ‘विजय बराल’लाई फरक पार्छ कि पार्दैन ?
सफल र असफल हुन र नहुनमा कलाकार ‘विजय बराल’लाई फरक पारेन । यही कुरा पहिले भएको भए चिन्नुपर्छ, हिट हुनुपर्छ भन्ने कुराहरु हुन्थे । अहिले फिल्मको सफलता र असफलता भन्दा पनि मेरो कामको आधारमा मुल्यांकन हुनुपर्ने हो । मासमा सिनेमा कम चल्यो भन्दैमा त्यो झुर पनि होइन । सिनेमा क्षेत्रमा विश्लेषणात्मक तरिकाबाट हेर्ने मान्छेहरुले मेरो कामका लागि थोरै प्रोत्साहन र मैले गरेको कामप्रति विश्वास भएपनि मलाई पुग्छ ।
धेरै मान्छेले हेरेर चिन्नुपर्छ भन्ने मान्यता अब सायदै छैन होला । यसले अर्थ पनि राख्दैन । तर यसमा कमर्सियल रुपमा हेर्दा प्रोडुसरलाई यसको अर्थ लाग्छ र यसमा म पनि जिम्मेवार हुनुपर्ने हो । तर अभिनयको हिसाबले विजय बराललाई त्यसले असर गर्दैन । धेरैले हेर्नुभयो भने फिल्म मासमा पुग्छ । त्यो फाइदाजनक कुरा नै भयो । तर थोरैले विश्लेषणात्मक दृष्टिकोणमा हेरेर ‘यसले काम चाहिँ गरेको हो है’ भनेर तारिफ भयो भने मलाई अर्को तरिकाले सकारात्मक रुपमा बाँच्ने प्रेरणा मिल्छ ।
निर्माताका लागि बजार र दर्शक मुख्य कुरा होला नि त ?
पक्कै मार्केट त हेरिन्छ । एकदमै पिँध, ग्रास लेभलको कथा उठानुभएको छ । यो कथालाई हेर्न रुचाउने मान्छे पनि हुनुहुन्छ । सिनेमाको माहोल छ । यो फिल्मले जारी जस्तै बिस्तारै क्रेज पनि लिन सक्छ । हाम्रो कथा शान्तपनको हो । दर्शकले बिस्तारै हेर्नुहुन्छ या हुँदैन त्यो अहिले भन्न सक्ने अवस्था छैन ।
प्रमुख भूमिकामा रहँदा दर्शकप्रतिको डर कति हुने रहेछ ?
शीर्ष रोलमा हुँदा अलिकति डर चाहिँ हुने रहेछ । यसभन्दा अगाडि म कहिल्यै डराइन् । फिल्मले कमाउँछ या कमाउँदैन भन्ने मेरो हातको कुरा होइन भन्ने लाग्थ्यो । यसमा चाहिँ कमाउनुपर्छ र प्रोडुसर बाँच्छ र उहाँहरुलाई पनि मप्रति विश्वास बढ्छ भन्ने हुने रहेछ । त्यही भएर यो सिनेमा गर्दै गर्दा अहिले म यो करिअरको एकदमै पिक पोइन्ट बिचको लाइनमा उभिएको छु ।
यो फिल्मले राम्रो कमायो भने म कमर्सियल रुपमा पनि हिट हुने भएँ । कामको हिसाबमा पनि म तारिफयोग्य हुन्छु । यदि काममात्र तारिफ भयो कमर्सियल रुपमा हिट भएन भने मेरो लागि कसैले चुनौती मोल्दैन । नामको हिसाबले त म छँदैछु । कमर्सियल रुपमा गएन भने प्रोडुसरलाई प्रभाव त पर्ने नै भयो । कमर्सियल रुपमा हेर्दा मलाई केही प्रभाव त पर्ला ।
आम दर्शकले यो फिल्म किन हेर्नुपर्छ ?
मुख्य कुरा जहिल्यै पनि सिनेमा किन हेर्ने भन्ने कुरामा नै अड्किन्छ । सिनेमा भनेको समाज र परिवर्तन पनि हो । पहिलेको पुस्ताले के गर्यो भन्ने कथा थाहा पाउनका लागि पनि यो फिल्म हेर्नुपर्छ । हाम्रो बुवाहरुलाई यो फिल्मले नोस्टाल्जियामा पुर्याउँछ । पहिलाको पुरानो कुरा, त्यो बेलाको हुर्काइ र त्यो माहोललाई देखाउँछ ।
अर्को कुरा यो सिनेमा किन हेर्ने भन्दा सम्बन्ध भनेको के हो, सम्बन्ध किन आवश्यक छ, सम्बन्धले मान्छेलाई कहाँसम्म पुर्याउँछ भन्ने कुरा बुझ्नलाई पनि यो फिल्मले बुझाउँछ । अहिलेको समयमा हामी हतारमा छौं । हामीमा स्थिरपना छैन । तर यो सिनेमा हेरेपछि आफूले छुटाइरहेको सम्बन्ध या बनाउनुपर्ने कुरामा मनभित्रै छुने महसूस गर्ने अवसर यसले दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया