मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्य

बाल साहित्यका स्रष्टा भन्छन्, ‘बालबालिकालाई चाहिने लेखन सिर्जनाको अभाव छ’

काठमाडौँ– पछिल्लो समयमा साहित्यिक क्षेत्रमा नयाँ नयाँ कृतिहरु प्रकाशन भइरहेका छन् । साहित्यका विविध विधाका पुस्तक प्रकाशनसँगै हुने पुस्तक विमोचन, त्यसपछि कृतिमाथि हुने चर्चा तथा परिचर्चा कार्यक्रमहरुको माहोल समेत उत्साहजनक नै देखिन्छ ।

प्रत्यक्ष रुपमा नियाल्दा प्रौढ साहित्य सिर्जनाको माहोल फैलिरहेको अवस्थामा बाल साहित्य क्षेत्र पनि सुस्ताएको भने छैन । कथालय इन्क, रुम टु रिड नेपाल जस्ता संस्थाहरु बाल साहित्यलाई माथि उठान लामो समयदेखि लागिपरेका छन् ।

भुँडीपुराण, सांग्रिला बुक्स, परिचय पब्लिकेशन जस्ता प्रकाशन गृहहरुले समेत बालसाहित्यका पुस्तकहरु प्रकाशन गरिरहेका छन् । यद्यपि तुलानात्मक रुपमा हेर्दा प्रौढ साहित्यको तुलनामा बाल साहित्य लेखनको सक्रियता भने न्यून नै रहेको स्वयं बाल साहित्य सिर्जनाका सर्जकहरु स्वीकार्छन् ।

बाल साहित्य सिर्जनालाई झण्डै डेढ दशकदेखि निरन्तरता दिइरहेका बाल साहित्यकार नेत्र तामाङका अनुसार बालबालिकाहरुको आवश्यकता र उनीहरुको स्वाद अनुसारको बाल साहित्य सिर्जनाको अभाव नै छ ।

बालबालिकाहरुको रुची, स्वाद तथा उनीहरुको उमेर समूह र क्षमता अनुकुल बाल पुस्तकहरु प्रकाशन नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘बालबालिकाहरु लार्भा जस्तै हुन् । उनीहरुलाई नयाँ नयाँ स्वादका पुस्तकहरु धेरै नै चाहिन्छ । त्यसका लागि पुस्तकको उत्पादन नै छैन ।’

अहिले आएका पुस्तकहरुमा लेखेक स्वयंले भोगेको ५० वर्ष अघिको भोगाइहरु आइरहेको उनको भनाइ छ । लेखकले भोगेका कथा र बिताएको समय नै बाल सिर्जनाहरुमा आइरहेकाले गुणात्मक बाल साहित्य सिर्जनाको अभाव भएको हो भन्ने उनलाई लाग्छ ।

बालबालिकाहरुलाई पुस्तकतिर आकर्षित गर्ने राज्यको नीति, कार्यक्रम तथा पुस्तकको पहुँचमा पुर्‍याउने माध्यमहरु नहुँदा बाल साहित्यले सोचेको जस्तो फड्को मार्न नसकेको अर्का बाल साहित्यकार आन्विका गिरीको ठम्याइँ छ । उनका अनुसार पूर्व प्राथमिक तहलाई पुग्ने बाल साहित्य सिर्जनाकै अभाव छ ।

बाल साहित्य सिर्जना वर्तमान समय र भविश्यभन्दा विगततिर ढल्किँदा बालबालिकाहरुको रुची र उनीहरुको समकालीन भोगाइभन्दा अलग हुन पुगेको बाल साहित्यका स्रष्टाहरु सुनाउँछन् ।

एक त लेखकहरुले विगतको भोगाइ लेख्नु अर्कोेतिर समाजमा व्याप्त सामाजिक प्रथा, समस्या र मुद्दाहरु केन्द्रीत भएर बाल साहित्य सिर्जना हुँदा ती सामग्रीहरु बालबालिकाका लागि मनोरञ्जन र ज्ञानभन्दा पनि बढी उपदेश जस्तो बन्न पुगेको विशेषत बाल रङ्गमञ्च सिर्जना, बाल तथा पौढ साहित्य लेखनमा सक्रिय रहेका रङ्गकर्मी एवं लेखक टंक चौलागाईंको बुझाइ छ ।

विश्वस्तरमा बाल साहित्यको स्तर र प्रकाशन भएका पुस्तकहरु बेस्ट सेलरको सूचीमा परिरहँदा नेपालमा किन माथि आउन सकेन भन्ने कुरामा नै प्रश्नचिन्ह खडा हुने चौलागाईं बताउँछन् ।

बालबालिकाहरुका लागि चाहिने बालसाहित्य सिर्जनामा राज्यको लगानी र अपनत्व नभएसम्म चाहिने पुस्तकहरुको अभावै हुने तामाङको ठम्याइँ छ ।

‘बाल साहित्य लेखन सजिलो छैन । यो बच्चालाई लिटो बनाए जस्तै हो । यसमा धेरै निफन्नुपर्छ । यसका लागि बालबालिकाहरुको अध्ययन, अनुसन्धान हुनैपर्छ । यसमा आर्थिक पक्ष नै आउँछ । बजार, पाठक, उपभोक्ता जस्ता कुरामा राज्यको सहायता भएमा लेखकहरुलाई पनि सहज हुन्छ,’ उनी भन्छन् ।

तामाङकै धारणा जस्तै चौलागाईं पनि बाल साहित्य लेखन सजिलो नभएको सुनाउँछन् । उनका अनुसार बालबालिकाहरुलाई कुनै पनि विषयमा विश्वास दिलाउनै कठिन हुन्छ । एक त बालबालिकाहरुको जिज्ञासु स्वभाव अर्कोतिर प्रविधिको तीव्र विकासले उनीहरुलाई अहिले नयाँ कुरा थाहा पाउन पुस्तकमै मात्र भर पर्नुपर्ने अवस्था छैन ।

भाषागत हिसाबमा पनि अहिलेका बालबालिकाहरु नेपाली भन्दा पनि अंग्रेजी भाषातिर बढी मोहित छन् । उनी भन्छन्, ‘तीन सय शब्दको किताब ल्याउनका लागि लेखक, सम्पादक, चित्रकाहरु सबै बसेर वर्कशप नै गरिन्छ  र सुझावहरु सहित लेखिन्छ । बरु प्रौढ साहित्य लेखनमा यस्तो गरिँदैन ।’

बालबालिकाहरुले आफ्नो क्षमता अनुसार लेख्ने बाल सिर्जना र  बालबालिकाहरुका लागि प्रौढहरुले लेखिने सामग्रीहरुलाई बाल साहित्यको रुपमा चिनिदै आएको पाइन्छ । प्रौढहरुले  बालबालिकाहरुका लागि लेखिने सामग्रीहरु जति सरल छन्, त्यति नै जटिल रहेको बाल साहित्यका स्रष्टाहरुको अनुभव छ ।

जसमा बालबालिकाहरुको उमेर र उनीहरुको मनोविज्ञानलाई बुझेर लेख्नुपर्ने हुन्छ । यद्यपि कतिपय प्रौढ साहित्य सिर्जना गर्ने स्रष्टाहरुले नै बाल साहित्य लेखनको गहिराइलाई हलका रुपमा हेरेको देखिन्छ । जसमा मूलधारका भनिएको साहित्य अर्थात् प्रौढ साहित्य सिर्जना गर्ने स्रष्टाहरुले बाल साहित्यलाई स्वीकार नगरेको हो कि भन्ने भान हुन्छ । यसमा भने चौलागाईंको असहमति छ । उनी भन्छन्, ‘प्रौढ साहित्य सिर्जना गर्नेहरुले पनि बाल साहित्यका पुस्तकहरु लेख्नुभएको छ । प्रौढ साहित्यमा स्थापित सरुभक्त, नयनराज पाण्डे, बुद्धिसागर, अमर न्यौपाने जस्ता थुप्रै लेखकहरुले बाल साहित्यका पुस्तकहरु लेख्नुभएको छ । त्यसैले प्रौढ साहित्य सिर्जना गर्ने स्रष्टाहरुले बाल साहित्यलाई बेवास्ता गरेको वा स्वीकार नगरेको भन्न मिल्दैन ।’

शुरुवाती चरणमा बाल साहित्य अपहेलित नै भएपनि विगतको तुलनामा मूलधारका भनिएको साहित्यमा स्वीकार्य हुन थालेको बाल साहित्य लेखन, अनुसन्धानमा सक्रिय स्रष्टा तथा ‘नेपाल बाल साहित्य समाज’का अध्यक्ष प्रमोद प्रधानको भनाइ छ ।

उनका अनुसार बाल साहित्यकै क्षेत्रमा लेखनसँगै अध्ययन, अनुसन्धान तथा यसैमा विद्यावारिधि गर्नेको संख्या समेत बढिरहेको छ ।

बाल साहित्यको क्षेत्रले मारेको फड्कोलाई हेर्ने हो भने ६० को दशक देखि नै लेखनको परम्परागत आधारशिलामा नै टेकेर नयाँ नयाँ आयामहरु र शैलीहरु भित्रिएको देखिन्छ । धार्मिक तथा लोककथाहरुबाट माथि उठेर बाल साहित्य मौलिकतातिर उन्मुख भएको छ ।

जसमा बालबालिकाहरुको उमेरगत हिसाबमा विषय, विधा र शैलीमा समेत परिवर्तन गरी हालको पर्यावरण, विज्ञान, स्वास्थ्य, संस्कृति र सांस्कृतिक मान्यताहरुमा समेत सिर्जनाहरु केन्द्रीत हुन थालेका छन् । हिजो उपदेशमूलक सिर्जनाहरु आज सन्देशमूलक बनिरहेका छन् । संस्थागत रुपमा हेर्ने हो भने बाल साहित्यलाई स्थान दिएको देखिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले बाल साहित्य विभाग नै खडा गरेको छ भने स्रष्टाहरुका निम्ति ‘प्रज्ञा बाल  पुरस्कार’ समेत स्थापना गरेको छ । हालै मात्र प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा असोज ४ र ५ गते पहिलोपल्ट दुई दिवसीय अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न गरियो ।

नेपालसहित भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया लगायतका देशबाट सहभागी स्रष्टाहरुले बाल साहित्यको आयाम र यसको विस्तारबारे चर्चा तथा परिचर्चा गरे ।

झट्ट देख्दा बाल साहित्यको स्तर माथि उठेको जस्तो देखिएपनि अझै पनि दूर दराजमा यसको प्रभाव नपरेको बाल साहित्यकार गिरी सुनाउँछिन् । उनका अनुसार शहरी क्षेत्रमा बाल साहित्यको प्रभाव परेको देखिएपनि ग्रामिण इलाकासम्म यसको पहुँच पुगेको छैन ।

राज्यले विद्यालयहरुमा पुस्तकालयको नीति र बजेट विनियोजन गरेपनि पुस्तक थुपार्ने मात्र काम भइरहेको उनको मत छ ।

उनी भन्छिन्, ‘अहिले स्कूलका लाइब्रेरीहरुमा कथा, कविताका किताबहरु थुपार्ने काम भएको छ । राज्यले कार्यक्रम त ल्यायो तर त्यसमा कार्यान्वयन र सतर्कताको कुरा भएन ।’ अभिभावकहरुमा नै पठन संस्कृति नहुँदा राज्यले ल्याएको कार्यक्रम र नीति पूर्ण रुपमा सफल हुन नसकेको उनको भनाइ छ । यसमा सामाजिक, आर्थिक, राजनीतिक सबै कुराले प्रभाव पारेको उनी बताउँछिन् ।

बालबालिकाहरुले रहस्यमयी सिर्जनासँगै विविधता समेत रुचाउने तामाङ सुनाउँछन् । उनी भन्छन्, ‘बाल साहित्यमा अझै समुदाय स्तरमा पुगेको छैन । हरेक भाषा र शिक्षाका लागि राज्यको लगानी नभएकै कारण भाषागत समस्या हुँदा बिचमै स्कूल छोड्नेहरु धेरै छन् । हरेक समुदायको भाषामा कथ्य, लिरिक्स जस्ता माध्यमहरुबाट सिर्जनाहरुमा विविधता ल्याउन र पाठ्यक्रममै जान राज्यको लगानी हुनुपर्छ ।’

बालबालिकाहरु उमेर र रुची अनुसार मनोरञ्जनसँगै शिक्षा प्रदान गर्ने ध्येयले बि.एस. जस्ता पब्लिकेशनहरुले पूर्व प्राथमिक र प्राथमिक तहका बालबालिकाहरुका लागि चित्रकथाका पुस्तकहरु प्रकाशन गर्दै आएको छ ।

बालबालिकाहरुका लागि चाहिने विषयवस्तु समेटिएको पुस्तकको एकमदै अभाव रहेको बि.एस.निर्देशक विवेक आचार्य सुनाउँछन् ।

यस्तो अवस्थामा राज्यस्तरबाट नै गुणस्तरीय बाल साहित्य सिर्जनाका निम्ति जोड दिनुपर्ने प्रधानको मत छ । उनको विचारमा राज्यले बाल साहित्य उत्थानका लागि गरेका कामहरुमा समेत अनुगमन हुनुपर्छ र बाल साहित्यको पहुँचसम्म पुग्ने बाटो फराकिलो बनाउनुपर्छ ।

यसमा लेखकहरुले पनि आफ्नो लेखनमा भाषा, शैली र विषयगत हिसाबले विविधता ल्याउने जमर्को गर्नुपर्छ । बाल साहित्यको स्तर उन्नतिकै लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट बाल सिर्जना लेखनको मापदण्ड बनाउने प्रक्रिया समेत भइरहेको उनले सुनाए । यसकारण बाल साहित्यले अझै फड्को मार्छ भन्ने उनको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?