मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

काठमाडौँ- यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो । बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । य

सबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउँछन् । उनले भने, “मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आएका थिए ।

केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ । खंगले दशैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाएका थिए । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उनले भने ।

फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उनले बताए । सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाएका थिए । उनको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उनी भन्छन्, “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उनको भनाइ छ ।

हनुमाननगर कङ्कालिनी–१ कोसी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए । हनुमाननगर कङ्कालिनी–२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोसी नदीको किनारमा १० बिघामा केराखेती गरेका थिए । सबै नष्ट भएपछि उनी अहिले चिन्तामा छन् ।

“दशैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दशैँ सुरु हुनु अगाडि नै दसा लाग्यो”, राउतले भने– “केराखेतीकै आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो ।” केराखेतीमा पसेको बाढी सुकेपनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन् ।

भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गरेकी थिइन् । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उनका सात दिदीबहिनी मिलेर केराखेती गरेका थिए । केराखेती नष्ट भएपछि लगानी डुबेको उनले बताइन् । केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाले बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?