मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्माताले आफूले मात्र बुझ्ने फिल्म बनाएर दर्शक भाँडे

दर्शकले मलाई बिर्सिनुभएको छैन, मिस गरिरहनुभएको छ

जोयनेपाल
26
Shares
तस्वीर– अनिल थापा

काठमाडौं– केही दशकअघि नेपालका फिल्म हलमा भारतीय फिल्म प्रदर्शनमा त आउँथे तर ती फिल्म कुन हलमा प्रदर्शन भइरहेका छन् भन्ने दर्शकलाई खासै महत्त्व हुँदैनथ्यो ।

त्यतिबेला नेपाली फिल्मको क्रेज यस्तो थियो कि, विदेशी फिल्म हेर्न दर्शकलाई खासै रुचि थिएन । गाउँदेखि शहरसम्म नेपाली फिल्मको बाक्लो क्रेज थियो ।

हलमा आफ्नो प्रिय कलाकारको ‘इन्ट्री’ हुँदा दर्शकले हुटिङ गर्थे । तर, भारतीय फिल्म कुन कुन हलमा प्रदर्शन भइरहेका छन् भन्नेले नेपाली कलाकारको क्रेजलाई कुनै असर पारेको थिएन ।

तर, अहिले समय फेरिएको छ ।

अहिले नेपाली फिल्म विदेशी फिल्मको चेपुवामा त परेका छन् नै दर्शक र कलाकारबीच ‘अपनत्व’ पनि छैन । नेपाली कलाकारलाई हेर्ने दर्शकको दृष्टिकोण नै बदलिएको छ ।

अभिनेता विराज भट्टले पनि क्रेजमा आफूलाई पाए । उनले नेपाली फिल्ममा मात्र अभिनय गरेनन् । भोजपुरी फिल्म उद्योगमा पनि आफ्नो गहिरो छाप पारे ।

बरु नेपाली फिल्मका दर्शकले उनलाई बिर्सिसकेका छन् । कुनै समय शहरका गल्लीहरुमा टाँसिएका विराज भट्टका फिल्मका पोस्टरहरु हेरेरै दर्शकले हलसम्म पुग्थे ।

विराज भट्ट भने दर्शकलाई नबिर्सेको बरु मिस गरिरहेको बताउँछन् ।

‘दर्शकले मलाई बिर्सिनुभएको छैन, मिस गरिरहनुभएको छ,’ भट्ट भन्छन् ।

त्यसो त सामाजिक सञ्जाल र युट्युबमा आएका भट्टका फिल्ममा अहिले पनि विराज भट्टको खोजी भइरहन्छ । उनलाई दर्शकले ‘एक्सन हिरो’ का रुपमा खोजिरहेका छन् ।

‘मलाई करिअरकै उचाइमा पुर्‍याएको दर्शकले नै हो, भोजपुरी फिल्म उद्योगमा पछि गए पनि मेरो पहिलो घर नेपाली फिल्म नै हो,’ भट्ट भन्छन् ।

विराजलाई अहिलेको फिल्म बजारले लय समात्न नसक्नुको कारण उही शैलीका फिल्म निर्माण हुनु भन्ने लाग्छ । नेपालमा पछिल्लो समय एकै खालका फिल्म निर्माण भइरहेको उनको तर्क छ ।


‘हिजो नेपाली सिनेमाको बजार धेरै राम्रो थियो, तर अहिले झनै खस्किँदै गएको छ,’ उनी भन्छन् ।

हुन पनि कुनै समय यस्तो थियो कि, विराज भट्टको फिल्म भन्नासाथ सीधै हिट हुन्थे । विराज भन्छन्, ‘निर्माताले हामीलाई फिल्ममा लिनका लागि पालो कुर्नुपर्थ्यो, हामीलाई पनि समय मिलाउन निकै गाह्रो हुन्थ्यो ।’

भोजपुरी फिल्ममा एकपछि अर्को फिल्ममा समय दिन थालेपछि विराज उता त लोकप्रिय भए तर नेपाली फिल्मका दर्शकले उनलाई माया मार्दै गए । त्यतिबेलासम्म दर्शकको फिल्मको स्वाद पनि फेरिएको थियो ।

लामो समयपछि विराज ‘जय परशुराम’ फिल्ममार्फत नेपाली फिल्ममा कमब्याक भए । तर, उनको फिल्म खासै चलेन । त्यसपछि आफैले निर्देशन गरेको फिल्म ‘साङ्लो’ ले पनि औसत व्यापार गर्‍यो ।

विराजको बुझाइमा आजभोलि नेपाली फिल्म नचल्नुको कारण पछिल्लो समयको फिल्म मेकिङ हो । उनका अनुसार एक समय नेपालमा एउटै खाले फिल्म निर्माणको बाढी आयो ।

फिल्म चेत भएका समीक्षकहरुले पनि त्यस्तै फिल्म राम्रा भनेर समीक्षा गर्न थाले । यही समयमा नेपालमा विदेशी फिल्मको क्रेज बढ्न थाल्यो ।

‘पछिल्लो समय उदाएका जति पनि कलाकार छन्, उनीहरुले निकै कम मिहिनेत गर्छन्, न अभिनय छ, न एक्सन छ,’ उनी भन्छन्, ‘हिरो भनेपछि वर्षौं मिहिनेत गरेर ज्यान पनि बनाउनुपर्छ, तर अहिलेका कलाकार जस्तो छ, त्यस्तै हुनुपर्छ भन्ने सोच्छन् ।’

उनको बुझाइमा विदेशी फिल्मले नेपाली फिल्मलाई पेलिरहेका त छन् तर ‘एक्सन ड्रामा’ का फिल्मले मात्र पेलिरहेका छन् ।

बलिउड र साउथ इन्डियन फिल्म उद्योगका एक्सन फिल्मले नेपाली फिल्मको बजार खोसेका छन् । अरु फिल्मबाट अझै पनि नेपाली फिल्म क्षेत्रलाई त्यति असहज छैन ।

‘अहिले हिन्दी तथा अङ्ग्रेजी सिनेमा नेपाली बजारमा हाबी भएका छन्, यसको कारण नेपाली फिल्मको मेकिङ मात्र होइन, नयाँ कलाकारको मेहनतको कमीले पनि हो,’ विराजको तर्क छ ।

फिल्म ‘लूट’ पनि नेपालमा त्यस्तै सिनेको लहर नै चल्यो । त्यसपछि धेरै वर्ष एकै खालको फिल्म निर्माण हुन थाल्यो । कलाकार पनि उस्तै आए । मेकरले पनि त्यस्तै फिल्ममा मात्र लगानी गर्न थाले ।

‘फिल्म मेकरले आफूले मात्र बुझ्ने फिल्म बनाए,’ विराज अगाडि थप्छन्, ‘त्यसपछि नेपाली फिल्म क्षेत्र डिजास्टर भयो, दर्शक भाँडिनुभयो ।’

उनका अनुसार एकाध फिल्म चल्दैमा सिनेमा क्षेत्र बाँच्दैन । एकै खाले फिल्म निर्माण हुँदा बलिउडका एक्सन फिल्म दर्शकको रोजाइमा परे । र, अहिले नेपाली फिल्म क्षेत्र नै आफ्नो अस्तित्व जोगाउनुपर्ने अवस्थामा पुग्यो ।

‘पहिले हाम्रा फिल्म रिलिज हुँदा हिन्दी फिल्म पनि रिलिज भएका हुन्थे, तर हामीलाई कुन हलमा फिल्म रिलिज हुँदैछन् भन्ने थाहा हुँदैनथ्यो, जताततै नेपाली फिल्मकै क्रेज थियो,’ विराज सुनाउँछन् ।

विराज अहिले व्यावसायिक कमाइ गर्ने फिल्म निर्माण हुनुपर्ने तर्क गर्छन् । उनी मेकिङ शैलीमा परिवर्तन ल्याएर पहिलेका जस्ता फिल्म पनि निर्माण हुनुपर्ने बताउँछन् ।

‘अहिले पनि विश्वमा धेरै बन्ने जानरा भनेको फ्यामिली ड्रामा, लभ रोमान्स र एक्सन फिल्म नै हो, हामीले यस्ता फिल्म निर्माण गर्नै छोड्यौँ,’ उनी भन्छन् ।

उनी सामाजिक र मौलिक फिल्म भन्दै त्यसैको पछि नदौडेर ‘लार्जर देन लाइफ’ शैलीका फिल्म पनि निर्माण हुनुपर्ने बताउँछन् ।

उनको बुझाइमा अहिले सलमान खान, शाहरुख खान, दक्षिण भारतीय अभिनेता प्रभास, अल्लु अर्जुन लगायतका कैयन् अभिनेताहरु एक्सन र अभिनयकै भरमा विश्वभर लोकप्रिय बनेका छन् ।

उनका अनुसार फिल्म उद्योगमा सबै खालका फिल्म निर्माण भए भने ती फिल्मले दर्शकलाई फरक स्वाद दिन्छन् । र, फिल्म उद्योग बाँच्छ ।

‘हुन त मेरो फिल्म जय परशुरामलाई पनि फ्लप फिल्म भनिन्छ तर कम्तीमा त्यसले निर्माताको लगानी चाहिँ डुबाएको थिएन,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?