मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

छालालाई घामबाट जोगाउन कस्तो ‘सनस्क्रिन’ प्रयोग गर्ने ?

छालालाई घामबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्ने चलन बढ्दै गइरहेको छ । यसको प्रयोगले घामबाट छालामा पार्ने नकारात्मक असर कम हुने धेरैको विश्वास छ । चर्को घामको विकिरणले छालामा सनबर्न, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् ।

छालालाई घामको सम्पर्कबाट जोगाउन सनस्क्रिनको प्रयोग गर्नुपर्छ भन्ने जानकारी त धेरैलाई छ नै । तर, कस्तो सनस्क्रिन कसरी प्रयोग गर्ने भन्नेबारे सबैलाई थाहा नहुन सक्छ । यसै सन्दर्भमा सनस्क्रिनको प्रयोग कसरी गर्ने, कस्तो अवस्थामा गर्ने, दिनमा कतिपटक गर्ने भन्ने विषयमा छाला तथा यौनरोग विशेषज्ञ डा.अनिलकुमार भट्टसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ-

सनस्क्रिन किन लगाउने ?

घामबाट आउने किरणमा यूभीए, यूभीबी, यूभीसी, भिजिबल लाइट लगायत विभिन्न लाइट हुन्छन् । जसमध्ये परावैजनी किरण पनि हुन्छन् । तीमध्ये यूभीए र यूभीबीले छालालाई नकारात्मक असर पार्ने हुन्छ । ती परावैजनी किरणबाट बच्न सनस्क्रिन लगाइन्छ ।

प्रायः गर्मीयामको समयमा र घरबाट बाहिर निस्कँदा मात्रै सनस्क्रिनको प्रयोग गरिन्छ । के यो सही हो ?

गर्मी मौसममा मात्र होइन बाह्रै महिना सनस्क्रिन लगाउनु राम्रो हुन्छ । किनभने जाडोको समयमा पनि सूर्यबाट आउने किरणमा यूभीए र यूभीबीजस्ता हानिकारक किरण आइरहेको हुन्छ । घाममा घरबाहिर निस्कँदा मात्रै नभएर घरमै रहँदा पनि यसको प्रयोग गर्नु राम्रो हो ।

बजारमा धेरै किसिमका सनस्क्रिन पाइन्छ, कस्तो सनस्क्रिन छनौट गर्दा राम्रो हुन्छ ?

एसपीएफ ३० र एसपीएफ ५० कतिको सनस्क्रिन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ । एसपीएफ ३० र एसपीएफ ५० मा खासै धेरै फरक हुँदैन । साधारणतया ३० एसपीएफ लगाउँदा पनि हुन्छ ।

तर जसको अनुहारमा चाया, पोतो, कालो दाग छ, जसले दिनभरि घाममा काम गर्नुपर्छ उनीहरूले एसपीएफ ५० लगाउँदा राम्रो हुन्छ । घामको एलर्जी हुनेले एसपीएफ ८० भएको सनस्क्रिन लगाउन सक्छन् । सामान्य धेरै समस्या नहुने छालाका लागि एसपीएफ ३० लगाउँदा उत्तम हुन्छ ।

कस्तो सनस्क्रिन लगाउने ?

सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो, त्यो थाहा पाउनुपर्छ । त्यसैअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै–कसैको छाला धेरै संवेदनशील छ भने मिनिरस सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

प्रयोग कसरी गर्ने ? कस्तो अवस्थामा गर्ने ?

घरबाट निस्कनुभन्दा १०–१५ मिनेटअघि सधैं सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि प्रत्येक दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । वाटर प्रुफ सनस्क्रिन पानीमा भएको लगभग ४० देखि ८० मिनेटको लागि प्रभावकारी हुन्छ ।

घरबाट बाहिर निस्कँदा मात्र होइन घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

सनस्क्रिन लगाउँदा ध्यान दिनुपर्ने कुराहरु के–कस्ता छन् ?

एसपीएफ कति छ र तपाईं कति घामको सम्पर्कमा आउनुहुन्छ भन्ने कुरा ध्यान दिएर मात्र सनस्क्रिन किन्नुपर्छ । सनस्क्रिन किन्दा एसपीएफ मात्र नभइ पराबैजनी किरण ए पनि भएको हेर्नुपर्छ । यदि चारवटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुन्छ ।

घाममा निस्कँदा छालाको हेरचाहको लागि के–के कुरामा ध्यान दिने ? यसले कस्ता जटिलताहरु निम्त्याउन सक्छ ?

सनस्क्रिनको साथै घाममा निस्कनुअघि टोपी, चस्मा र पूरा बाहुला भएका लुगा पनि लगाउनुपर्छ । यसले तपाईंको छालालाई घामको प्रभावबाट जोगाउछ ।

घामको विकरणले छालाको क्यान्सर गराउने, एलर्जी हुने, बिमिरा, डाबर, कालोपोतो, सानो–सानो तिलकोठीहरु पनि बढाउन सक्छन् । यसकारण यी सबैबाट बच्न सनस्क्रिनको प्रयोग आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?