मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आठ वर्षदेखि अभिनय यात्रा थालेका आमिर खान, डिप्रेसनमा हुँदा आएका थिए नेपाल

काठमाडौँ– बलिउड अभिनेता आमिर खानलाई नचिन्ने विरलै होलान् । यी भारतीय अभिनेताका फ्यान नेपालमा पनि धेरै छन् । उनी अभिनेताका साथै निर्माता, समाजसेवी र टेलिभिजन प्रस्तोता पनि हुन् । उनी केही वर्षअघि पोषण सुधार कार्यक्रमको सिलसिलामा नेपालमा पनि आएका थिए ।

सन् १९६५ मार्च १४ मा मुस्लिम परिवारमा जन्मिएका आमिरको वास्तविक नाम मोहम्मद आमिर हुसैन खान हो । अभिनयमा सानैदेखि रुचि रहेका उनले फिल्मी क्षेत्रमा प्रवेश गरेसँगै आफूलाई आमिर खानका रूपमा स्थापित गरे ।

ताहिर हुसैन र जीनत हुसैनको कोखबाट जन्मिएका आमिरका एक भाइ र दुई बहिनी छन् । पारिवारिक पृष्ठभूमि नै फिल्मी क्षेत्रमा भएका आमिरले सानैदेखि अभिनय गर्ने मौका पाएका थिए । उनले आठ वर्षको उमेरमा ‘यादोँ की बारात’ मा बाल कलाकारका रुपमा काम गरेका थिए ।

उनले प्रारम्भिक शिक्षा जेबी पेटिट स्कूलबाट शुरु गरेका थिए । साथै उनले सेन्ट एन हाईस्कूलबाट कक्षा आठसम्मको अध्ययन र बम्बे स्कटिस स्कूलमा १० कक्षासम्म अध्ययन गरे । त्यसपछि उनले नरसी मुन्जी कलेजबाट कक्षा १२ को पढाइ पूरा गरे ।

उनका बुबा ताहिर हुसैन खान फिल्म निर्माता थिए । उनका काका नासिर हुसेन निर्माता र निर्देशक थिए । यसका साथै उनका भतिजा इमरान खान पनि बलिउड क्षेत्रमा काम गरिसकेका थिए । तर, उनले अभिनय क्षेत्रलाई लामो समयसम्म निरन्तरता दिन सकेनन् । आमिरको करिअर यात्रा उनकै काकाको सहयोगमा भएको थियो । उनका काकाले अधिकांश प्रोजेक्टमा आमिरलाई लिने गर्दथे ।

दुई विवाह तीन सन्तान

आमिर खानले दुई विवाह गरेका छन् । उनले पहिलो विवाह रीना दत्तसँग गरेका थिए । प्रेम सम्बन्धमा रहेको उनीहरुले भागेर विवाह गरेका थिए । अभिनेता खान मुस्लिम र दत्त हिन्दू थिए । आमिर मुस्लिम भएकाले रीनाका बुवा विवाहको लागि राजी थिएनन् । त्यसैले उनीहरुले भागेर विवाह गरेका थिए ।

यी दुईबाट एक छोरा जुनैद र छोरी इराको जन्म भयो । छोरी जन्मिएको केही वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद भयो । छोरी इरा बलिउडमा सक्रिय छिन् ।

रीनासँगको डिभोर्सपछि आमिरले आफ्नी साथी किरण रावसँग विवाह गरे । सन् २०११ मा आमिर र किरणले सरोगेसी आमाबाट आजाद राव खानलाई जन्माए । सन् २०२१ मा उनीहरूको पनि सम्बन्ध विच्छेद भयो ।

डिप्रेसनसम्बन्धी कार्यक्रम

उनले मानसिक स्वास्थ्य सम्बन्धी अभियान पनि सञ्चालन गरेका थिए । सो अभियानअन्तर्गत उनले पीडित र डाक्टरबीच अन्तरक्रिया गर्दै आएका छन् । भारतीय मिडिया एबीपी न्यूजमा ‘मुमकिन है’ नामक कार्यक्रममार्फत सो अभियान सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा पीडित वा पीडितका आफन्तले टेलिफोन तथा म्यासेजमार्फत सम्पर्क गर्छन् र समस्याबारे जानकारी दिन्छन् । पीडितलाई आमिर र डाक्टरले सुझाव पनि दिने गर्छन् ।

उनी केही वर्षसम्म मानसिक रोगको पनि बिरामी भएका थिए । सोको उपचारको लागि सन् २०२३ मा उनी नेपालमा आएर विपश्यना पनि गएका थिए । १० दिनका लागि काठमाडौँ आएका उनी बाल्यकालदेखिको मिल्ने साथीको मृत्यु भएपछि चार दिनमै फर्किएका थिए ।

उनका अनुसार मानसिक रोगको कुनै पनि दोष हुँदैन । उनीहरुलाई अरुको सहयोग र साथको आवश्यकता पर्छ । उनीहरुलाई कुनै पनि कुराको दोष लगाउनु हुँदैन । ‘बरु समयमा उपचारको लागि डाक्टरकहाँ लैजानु पर्छ’, उनले भन्दै आएका छन्, ‘मानसिक रोग अन्य सामान्य रोगजस्तै हो । यसलाई पनि अन्य रोगको जस्तै उपचार गर्नुपर्छ ।’

फिल्म ‘गजनी’ बाट बदलिएको दैनिकी

फिल्म ‘यादोँ की बारात’ बाट फिल्मी करिअर शुरु गरेका उनले ‘होली’ मा अभिनय गरेका थिए । तर फिल्म खासै चलेन । त्यसपछि करीब चार वर्ष उनी अभिनय सिक्न थाले ।

यससँगै आमिरले फिल्म ‘कयामत से कयामत तक’ फिल्ममा मूख्य भूमिकामा काम गर्ने अवसर पाए । यसैगरी उनले फिल्म ‘राख’, ‘दिल’, ‘रंगीला’ र ‘सरफरोशा’ लगायत विभिन्न फिल्ममा अभिनय गरे । फिल्मले राम्रो व्यापार गरे पनि उनी खासै व्यस्त हुन पाएनन् ।

यसैगरी उनले सन् १९९९ मा आमिर खान प्रोडक्सन स्थापना गरे । प्रोडक्सन स्थापना गरेसँगै उनले फिल्म ‘लगान’ निर्माण गरे । सन् २००१ मा रिलिज भएको यो फिल्मले राम्रो व्यापार मात्रै गरेन सर्वश्रेष्ठ विदेशी भाषा फिल्मको लागि एकेडेमी पुरस्कारको लागि मनोनित समेत भयो ।

केही वर्षपछि उनले फिल्म ‘गजनी’ मा काम गर्ने मौका पाए । सो फिल्ममा उनको अभिनय उत्कृष्ट मात्रै भएन । धेरै पैसा कमाउने फिल्मको रुपमा पनि नाम दर्ता भयो । तत्कालीन वर्षको सबैभन्दा बढी कमाउने फिल्मको रुपमा स्थापित भएको थियो ।

सो फिल्मबाट उनको व्यस्तता बढ्न थाल्यो । ‘गजनी’पछि उनले फिल्म ‘थ्री इडिएट’ मा काम गरे । सो फिल्मले पनि राम्रो व्यापार गर्‍यो । बलिउडमा धेरै पैसा कमाउने फिल्मका रुपमा स्थापित भयो । त्यसपछि उनले कैयन् ब्लक बस्टर फिल्महरु दिए ।

अभिनयसँगै अन्य क्षेत्रमा पनि सक्रिय

अभिनेता आमिर खान अभिनय मात्रै सक्रिय छैनन् । उनी निर्माता र निर्देशक पनि भएर काम गरेका छन् । यसका साथै उनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छन् । 

उनले शिक्षा, स्वास्थ्य तथा बालबालिका क्षेत्रमा काम पनि गरेका छन् । सोही क्रममा उनी केही समय नेपालमा आएका थिए । यसैगरी उनले बालबालिकामा हुने कुपोषणको क्षेत्रमा पनि काम गरेका थिए ।

आमिरले सञ्चालन गरेको ‘मुमकिन है’ कार्यक्रम भारतको चर्चित कार्यक्रम अन्तर्गत पर्दछ । उनले फिल्मी क्षेत्रबाट विभिन्न अवार्डहरु पनि जित्न सफल भएका छन् । भारतीय क्षेत्रबाट मात्रै नभई चीनले पनि उनलाई अवार्ड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?