काठमाडौँ– कुनै फिल्म यस्ता हुन्छन्, जसले मनोरञ्जन मात्र दिँदैनन् । ती फिल्म हेरिसक्दा नराम्रोसँग मथिङ्गल हल्लाइदिन्छन् । र, पटक–पटक सोच्न बाध्य पार्छन् ।
मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ एउटा त्यस्तो खजाना हो । जसलाई मन्थन गर्न सकियो भने बेग्लै तत्त्व बोध हुन्छ । सतही रूपमा बुझियो भने यो केही पनि होइन भन्ने लाग्छ ।
फिल्मको कहानी हिमाली भेगको संस्कृतिसँगै शुरु हुन्छ । पेमा (थिन्ले ल्हामो) ले विवाह गरेर पराइ घरमा जाने निश्चित भइसकेपछि उनका बाबुआमाले ‘भाग्यमानी छोरी’ भन्दै तारिफ गरेको दृश्यबाट फिल्म शुरु हुन्छ ।
बहुपति प्रथाको कथामा आधारित यो फिल्ममा पेमाले तीन दाजुभाइसँग बिहे गर्छे । परिवारको जेठो छोरा टासीसँग पहिलेबाटै प्रेममा रहेकी पेमाले विवाहको प्रस्तावलाई सहजताका साथ स्वीकार गर्छे ।
पेमाको टासी (तेन्जिङ दाल्हा), कर्म (सोनम तोप्देन) र दावा (कर्म वाङयाल गुरुङ) सँग एकैपटक बिहे हुन्छ । बिहेपछि पेमाले तीनजना पतिलाई कस्तो व्यवहार गर्छे र त्यसपछि आइपर्ने सामाजिक सङ्कटसँग ऊ कसरी जुध्छे भन्ने फिल्ममा कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ ।
निर्देशकले रिम्पोछेमार्फत आध्यात्मिक पाटो, टासीमार्फत सामाजिक पाटो र पेमामार्फत ‘जीवनको सार र स्वतन्त्रता’ लाई उनेर फिल्मको कथानक अगाडि बढाएका छन् ।
टासीले पेमालाई असाध्यै मन पराउँछ । उसले पेमामा आफ्ना बा–आमा मात्र होइन । पूरै जीवन देख्छ । श्रीमानहरूले पेमालाई भन्छन्– तिमी आएपछि बल्ल हाम्रो परिवार पूर्ण भयो ।
यसरी मिलेको एउटा सामान्य परिवारमा समस्या त त्यतिबेला निम्तिन्छ । जब, टासी व्यापार गर्न केही महिनाका लागि तिब्बतको ल्हासातर्फ जान्छ । यता पेमाको गर्भमा बच्चा हुर्किँदै गरेको हुन्छ । गाउँलेले बच्चाको बाबुको खोजी गर्न थाल्छन् । पेमाको गर्भमा हुर्किँदै गरेको बच्चाका बारेमा टासीले पनि ‘तीर्थयात्रामा हिँडेका’ पल्लो गाउँका गाउँलेको कुरा सुन्छ र उतै हराउँछ ।
त्यसपछि समाजलाई विश्वास दिलाउन पेमा स्वयम् हिउँका पहाडहरू उक्लिँदै टासीको खोजीमा निस्किनुपर्ने अवस्था आइलाग्छ । त्यो यात्रामा भिक्षु बनेका दोस्रो श्रीमान् कर्मले पनि पेमालाई साथ दिन्छ ।
फिल्मको दृश्यभाषा यति सशक्त छ कि, ‘शाम्बाला’ हेरिसक्दा यसले दिमागमा निकै गहिरो छाप छोड्छ । कर्णालीको हिमाली भेगको कथा भए पनि मानवीय संवेदना जहाँ पनि एउटै हुने भएकाले यसले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि निकै चर्चा कमाइसकेको छ ।
फिल्मको आँखाबाट निर्देशक तथा लेखक मीनबहादुर भामले पितृसत्तात्मक समाज, महिलालाई समाजले हेर्ने दृष्टिकोणलाई निकै मिहिन ढङ्गले केलाएका छन् । त्यति मात्र होइन, उनले सांसारिक मोह जालले समाज कसरी जेलिएको छ र मोक्ष प्राप्तिको बाटो के हो भन्ने कुरालाई निकै सरल र सरस ढङ्गले प्रस्तुत गरेका छन् ।
फिल्ममा निर्देशक भामले हिमाली समुदायको संस्कृतिलाई बडो गज्जबका साथ देखाएका छन् । फिल्म हेर्दा यस्तो लाग्छ, मानौँ हामी त्यतिबेला कर्णालीमै पुगिरहेका छौँ । र, त्यहाँका मानिससँग साक्षात्कार गरिरहेका छौँ ।
पेमाको नजरबाट समाज देखाइएको ‘शाम्बाला’ मा उसलाई यति प्रभावकारी तबरले देखाइएको छ कि, ऊ एक आमा पनि हो । परिवारको जिम्मेवारी बहन गर्न सक्ने एक सशक्त नारी हो । त्यति मात्र नभएर ऊ आफूमाथि आइपरेका सङ्घर्षसँग लड्न सधै तयार हुने एक हिम्मतवाली युवती पनि हो । जसले शान्त रहेर क्रान्ति गरिरहेकी हुन्छे ।
ऊ ल्हासा हिँडेका मदन घर फर्किने पर्खाइमा बाटो कुरेर बस्ने मुना होइन । पेमा हो ।
बिहेपछि पेमाको जीवनमा आइपरेका हिमालभन्दा अग्ला समस्यासँग जुध्न ऊ सधै तत्पर हुन्छे । उसले समाज र आफ्ना तीन श्रीमानको मन जित्न रोनाधोना गर्नुपर्दैन ।
बरु आफ्नो सबैभन्दा प्रिय साथी घोडालाई हिमाली ब्वाँसोले खाइदिँदा उसका गहभरि आँसु हुन्छन् । ती आँसुहरू घोडाजस्तै गरी हिउँमा हराउँछन् ।
बिहेअघि ‘भाग्यमानी छोरी’ भनेकी पेमाकी आमाले गर्भवती अवस्थामा जेठा श्रीमानले छोडेर गएपछि ‘अभागी छोरी’ भन्छे । समय र परिस्थितिसँगै पात्रको मनोविज्ञान पनि फेरिँदै जान्छ । फिल्ममा घोडा र मान्छेको सम्बन्धमार्फत् संवेदनालाई उत्तिकै ओजपूर्ण देखाएको छ ।
टासीको खोजीमा पेमा र कर्मको यात्रा हिमाली खोँच हुँदै जति जति उकालो लाग्दै गर्छ । त्यति त्यति पेमालाई वास्तविक जीवनको तत्त्व बोध हुँदै जान्छ । समस्या त झन् ठूला आउँछन् तर ती समस्या उसलाई होचा लाग्दै जान्छन् । र, हिमालको टाकुरामा पुगेर खोजीको यात्रा पनि टुङ्गिन्छ ।
फिल्ममा कलाकारले गरेको अभिनय पनि उत्तिकै सशक्त छ । डोल्पाका विभिन्न भेगमा छायांकन गरिएको यो फिल्ममा कलाकारले त्यहीँको भेषभुषा प्रयोग गरेका छन् भने चरित्र चित्रणमा पनि निर्देशकले खुबै ध्यान दिएका छन् ।
शीर्ष भूमिकामा देखिएकी थिन्लेको अभिनय झनै सशक्त छ । त्यस्तै जेठो दाइको भूमिका निभाएका तेन्जिङले पनि आफ्नो चरित्रलाई जस्ताको तस्तै उतारेका छन् । भारतीय फिल्ममा समेत अभिनय गरेका तेन्जिङले ‘शाम्बाला’ मा टासीको पात्रलाई न्याय गरेका छन् ।
सोनम तोप्देनले कर्मको भूमिकालाई स्पष्ट र पूर्णता दिन कुनै कसर बाँकी राखेका छैनन् । घोडा चढ्न सिक्ने बेलामा लडेको दृश्य होस् या आफ्नै पत्नीसँग समय बिताउँदा जीवनमा सबैभन्दा बढी स्वतन्त्र र खुशी मिल्ने बताउँदाको क्षणमा किन नहोस्, उनको अभिनयमा छुट्टै शक्ति देखिन्छ ।
दावाको भूमिकामा देखिएका कर्म वाङयाल गुरुङले पनि आफ्नो भूमिकालाई उत्तिकै जिम्मेवारीका साथ निभाएका छन् । भविष्यमा विमान चालक (पाइलट) बन्ने लक्ष्य राखेको दावाको चरित्र दर्शकको मानसपटलमा स्थापित हुन्छ । दावा यस्तो पात्र हो, जसलाई आफूभन्दा जेठी युवती पनि श्रीमतीका रूपमा स्वीकार्नु छ । पेमाले भाइजस्तो माया गर्दा ऊ भने ‘बुढालाई पिटेर नर्क जालिस्’ भन्ने तर्क गर्छ ।
काठमाडौँबाट पढाउन गएका शिक्षकको भूमिकामा देखिएका कर्मा शाक्यको अभिनय पनि उत्तिकै जोडदार छ । पर्दामा उनको भूमिका त्यति नदेखिए पनि पेमाको जीवनमा प्रभावित पार्ने दृष्टिकोणका हिसाबले उनी महत्त्वपूर्ण भूमिकामा छन् ।
केही दृश्यमा मात्र नेपाली भाषा प्रयोग गरिएको ‘शाम्बाला’ मा तिब्बती भाषालाई प्राथमिकता दिइएको छ । तर, दृश्यभाषा यति बलियो छ कि, भाषा नबुझिए पनि फिल्म बुझ्न सकिन्छ । यद्यपि अङ्ग्रेजी र नेपाली दुवै भाषामा सबटाइटल (उपशीर्षक) राखिएको छ ।
पेमा र कर्मको यात्रा जब जब हिमालको उकालो यात्रा चढ्न थाल्छ, कथा उत्तिकै रोचक र पीडादायी हुँदै जान्छ । पेमाले आफ्नो पेटमा बच्चा बोकेर हिउँका उकालाहरू नाप्दै जाँदा उसले खोजेको स्वतन्त्रता नजिक हुँदै जान्छे ।
‘शाम्बाला’ मा समावेश गरिएका गीत व्यावसायिक फिल्ममा जस्तो धमाका मच्चाएर आउँदैनन् । ती गीत कथा र पात्र अनुसार बगिरहन्छन् । टुङ्नाको धुनसँगै बगिरहेको कथाले थाहै नदिई दर्शकलाई हिमाली संस्कृतिमा बाँचेको महसूस गराउँछ ।
फिल्मको कथावाचन र मेकिङमा निर्देशक भामले कतै पनि लोभ गरेका छैनन् । नेपालको परिवेशमा हालसम्मकै सबैभन्दा महङ्गो बजेटमा बनेको ‘शाम्बाला’ मा निर्देशकले आवश्यकताभन्दा बढी कुनै पनि शट राखेका छैनन् । फिल्ममा न उनले कुनै मुद्दा उठाएका छन् । न त आफ्नो धारणालाई थोपर्न नै खोजेका छन् ।
फिल्ममा प्रयोग गरिएका संवाद उत्तिकै प्रभावकारी र ओजपूर्ण छन् । ती संवाद कथाको मर्म र जीवन दर्शनसँग नजिक छन् भने कथानकलाई अझ ओजिलो बनाउन पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
‘शाम्बाला’ एउटै मात्र चश्मा लगाएर हेरिने फिल्म होइन । हरेक दृष्टिकोणबाट हेर्दा फिल्मको अर्थ र भाव फरक–फरक बुझ्न सकिन्छ । वास्तवमा के सही र के गलत भन्ने छुट्याउन निर्देशकले दर्शकलाई नै जिम्मा दिएका छन् । फिल्ममार्फत निर्देशकले कर्णालीको हिमाली भेगको कथा मात्र उठाएका छैनन् । त्यहाँको संस्कृति, जीवनशैली र मनोविज्ञानलाई पनि उत्तिकै सपाट तरिकाले पर्दामा उतारेका छन् ।
फिल्ममा छायांकन पक्ष पनि उत्तिकै दमदार छ । प्राय: वाइड शट र सिङ्क साउण्ड प्रयोग गरिएको ‘शाम्बाला’ मा सिनेमाटोग्राफी अब्बल छ । ४ हजार ५ सयदेखि ६ हजार मिटरमाथि प्राविधिक रूपमा त्यति सजिलो नभए पनि फिल्मको छायांकन साँच्चिकै तारिफयोग्य छ । फिल्ममा समावेश एक मिरर सट केही लामो छ र त्यसलाई प्राविधिक रूपमा मात्र नभएर बिम्बमा पनि देखाइएको छ । ‘देखेको कुरा सबै सत्य हुँदैन, पर्दापछाडिको सत्य फरक हुनसक्छ’ भन्ने अर्थ सो दृश्यले दिन्छ ।
कजाखिस्तानी सिनेमाटोग्राफर अजीज जम्बाकिएभले फिल्मका हरेक दृश्यलाई आश्चर्यजनक ढङ्गले क्यामेरामा कैद गरेका छन् । पृष्ठभूमिमा देखिने सेता हिमाल होऊन् या चिल उडिरहेको र अन्तिम संस्कारको दृश्य नै किन नहोस् । अझ टासी ल्हासा जान लागेको र पेमाले हेरिरहेको दृश्य त अझै रोमाञ्चक लाग्छ ।
यो फिल्म हेरिरहँदा दर्शकलाई कथा अलिक ढिलो बगेको भान हुनसक्छ । तर, फिल्ममा प्रयोग गरिएका बिम्ब र यसको मेकिङले पेमाले स्वीटर बुन्दै जतनसाथ राख्दै गरेझैँ बाँधेर राख्छ ।
पेमाले टासीका लागि महिनौँ लगाएर स्वीटर त बुन्छे । तर, त्यो स्वीटर टासीले लगाउँदैन । यसलाई एक हिसाबले पेमाको प्रेम भावका रुपमा पनि व्याख्या गर्न सकिन्छ । पेमाले टासीलाई एकोहोरो माया त गर्छे तर टासीले उसको मायालाई शंकाको दृष्टिले हेर्छ ।
फिल्ममा अनेक बिम्बको प्रयोग गरिएको त छ नै । निर्देशकले पेमालाई घोडा मर्दा मात्र रुवाएका छन् । पेमाको यात्रामा घोडा आफैंमा सशक्त बिम्ब हो । किनकि घोडालाई साहस, निरन्तर यात्रा र तीव्रताको प्रतीकात्मक बिम्बका रूपमा लिइन्छ ।
यद्यपि बीच बाटोमै घोडाको अन्त्य देखाउनु कतै पेमाको यात्रा र उद्देश्यको अन्त्य होइन भन्ने आम दर्शकले अनुमान लगाउँदै गर्दा यसपछि भामले चलाखीपूर्ण तवरले जीवन दर्शनसँगै अध्यात्मको बाटोलाई जोडिदिएका छन् । जसमा विशेष भएर जोडिन आउँछ, पेमाको हिउँको यात्राजस्तै कठिन जीवनको एक्लो सङ्घर्ष । अर्थात्, घोडा मरेपछि जसरी पेमाको एक्लो सङ्घर्षको यात्रा शुरु हुन्छ । त्यसरी नै प्रत्येक मान्छेका जीवनमा आफ्नै सङ्घर्ष हुन्छन् भन्ने स्थापित गर्न खोजिएको छ ।
जीवनमा सहयात्रा गर्न भेटिएका पात्र र सम्बन्धहरु केवल केही क्षणका लागि मात्र हुन् । आखिर मान्छेको यात्रा र सङ्घर्ष त आफैंभित्र सीमित छ र अन्त्यमा हुने पनि एक्लै नै हो भन्ने दर्शनलाई निर्देशकले देखाउन खोजेका छन् ।
अनेक आरोह र अवरोह भोगेकी पेमाको जीवन यात्राले अन्तिममा कुन रूप लिन्छ र समाजलाई दिने परीक्षामा ऊ पास हुन्छे कि हुँदैन, त्यो अर्को रोचक पक्ष छ ।
पेमाको जिन्दगीसँगै फूल र हरियाली बिस्तारै रुखो स्थलसम्मको दृश्य बिम्बात्मक रूपमा देखाइएको छ । कर्म र पेमाको यात्राका क्रममा दुवैले गुम्बाको दर्शन गर्दा विस्तारै दृश्य गुम्बाका गजुरतर्फ लगेर उक्त शट टुङ्याइन्छ । यसलाई पनि पेमाको जीवनसँग जोडेर पर्दामा उतारिएको छ । अर्थात्, पेमाको जीवनमा अझै अग्ला पहाडहरू छन् ।
गीत गाउने पेमा र टुङ्ना बजाउने कर्मबीचको सम्बन्ध पछि गएर टुङ्ना बजाउने पेमा र गाउने कर्मको अवस्थामा रुपान्तरित हुन्छ । यो पनि अर्को सशक्त स्टोरी टेलिङ हो ।
भामको फिल्म प्रत्येक सन्तानको नाम र पहिचानका लागि बुवा नै खोज्ने पितृसत्तात्मक प्रवृत्तिप्रतिको व्यङ्ग्य पनि हो ।
‘सन्तान जसको भए पनि बच्चा जन्मने प्रक्रिया आफैंमा महत्वपूर्ण छ’ भन्ने संवादले महिलाको गर्भ र सन्तान जन्मने प्रक्रियालाई परम्परागत सोचलाई पर राखेर सुन्दर सिर्जनाका रूपमा प्रस्तुत गरिएको छ ।
इतिहासमा यस्ता ओजपूर्ण फिल्म बारम्बार बन्दैनन् । हेरिएन भने सबथोक छुट्ने त होइन तर हेरियो भने केही न केही त दिमागमा पक्कै प्रभाव पर्छ । आँखाले हेरेर मनको दृष्टिसम्म पुग्ने फिल्म हो, शाम्बाला । प्रत्येक मनका परिभाषा केलाउन पनि ‘शाम्बाला’ एकपटक हेर्नुपर्छ ।
पात्रको मनोविज्ञानलाई कसरी सशक्त ढंगले पर्दामा देखाउन सकिन्छ र कलाकारको अभिनयलाई कतिसम्म निखार्न सकिन्छ भन्ने बुझ्नका लागि पनि निर्देशक भामको यो फिल्म एउटा महत्त्वपूर्ण दस्तावेज बन्न सक्छ ।
केवल दुईवटा फिल्म निर्देशन गरेर आफूलाई अब्बल साबित गरेका मीनहादुर भाम मात्र होइन, फिल्मका हरेक पात्र तारिफका लागि योग्य छन् । कच्चा र व्यावसायिक फिल्मको बाढीमा ‘शाम्बाला’ ले बल्ल ‘सिनेमा समाजको ऐना हो’ भन्ने तथ्यलाई पूर्णता दिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया