मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सात तलाबाट हाम फालेर एकाएक उदाएका निखिल

काठमाडौँ– एक जमाना थियो, निखिल उप्रेतीको तस्वीर पोस्टरमा भयो भने त्यो फिल्म ‘सुपरहिट’ हुन्थ्यो । त्यो बेला मल्टिप्लेक्स हलको कन्सेप्ट अझै नेपालमा भित्रिएको थिएन ।

निखिल उप्रेती र उनको खतरनाक स्टन्टले गर्दा लुरे ज्यान भए पनि उनी निकै परिचित थिए । अधिकांश एक्सनप्रधान फिल्ममा समय मिलेसम्म निखिलको अभिनय हुन्थ्यो । एक्सन अभिनेता भन्नबित्तिकै दिमागमा निखिल उप्रेतीको स्केच बन्थ्यो ।

उनले अभिनय गरेको पहिलो फिल्म थियो, पिँजडा । उक्त फिल्ममा निखिलले सात तलाबाट हाम फालेका थिए । त्यो एक्सन दृश्यको अहिले पनि फिल्म वृत्तमा चर्चा चलिरहन्छ । निखिलको पहिलो फिल्म नै हिट भएपछि उनले लामो समय पछाडि फर्केर हेर्नु परेन । त्यसपछि उनी प्राय: एक्सन फिल्ममा देखिने थाले । कतिमा त उनले दोहोरो भूमिका पनि निर्वाह गरे ।

सानै देखि उत्सुक स्वभावका अभिनेता निखिल हरेक फिल्म वा अभिनयमा नयाँपन ल्याउन चाहन्थे । त्यसैले पनि उनको हरेक फिल्ममा नयाँपन हुन्थ्यो । शुरुमै सात तले घरबाट हाम फालेर ‘क्रेज’ बटुलिसकेका उनले कहिले बाइक उडाएर होस् या त कहिले पोलमा खाली खुट्टाले हिँडेर दर्शकलाई आफूतर्फ ध्यानाकर्षण गरिहाल्थे । त्यसैले पनि होला उनलाई हरेक फिल्ममा केही नयाँपन ल्याउने तत्परता भइहाल्थ्यो ।

सर्लाहीमा जन्मिएका निखिललाई सानैदेखि कलाकार गर्ने इच्छा गर्ने थियो । सोही इच्छा पूरा गर्नका लागि उनी भारतको मुम्बईतिर लागे । त्यहाँ उनले अभिनय सँगसँगै मार्सल आर्ट सिके । त्यहाँ उनले केही समय स्टन्टकर्ता र सहायक द्वन्द्व निर्देशकको भूमिकामा काम गरे । उनले सानैमा कराँतेमा ‘ब्ल्याक बेल्टֹ’ हासिल गरिसकेका थिए ।

भारतमा रहँदा विभिन्न फिल्ममा सहायक डाइरेक्टर भएर काम गरेका निखिल उतै व्यस्त थिए । भारतमा फाइट डिजाइनमा काम गरेका उनी संयोगले पवन मैनालीसँग भेट भयो र उनले नेपाली फिल्ममा काम गर्ने प्रस्ताव गरे ।

पवनको अनुरोधमा नेपाली फिल्म क्षेत्रमा काम गर्न आएका उनलाई शुरुवाती चरणमा खिस्सीट्युरी र हेपाइ सहन बाध्य भए । पातलो ज्यान भएका उनलाई एक्सन हिरोको रुपमा परिचय गराउँदा हाँस्ने र खिस्सी गर्नेको कमी थिएन ।

सात तलाबाट हाम फालेर बटुलेको क्रेज

नयाँ परिवेश र नयाँ स्थानमा आएका निखिल हरेक कुरालाई सहेर पनि काम गर्न थाले । नेपाली फिल्ममा केही नयाँ गर्ने सोच बनाएका निखिलले फिल्म ‘पिँजडा’ मा सात तलामाथि हाम फाल्ने निधो गरे । त्यो बेला काठमाडौँमा ठूलो घर थिएनन् ।

धरहराबाट हाम फाल्ने योजना बनाए पनि पुरातत्व विभाग तथा विभिन्न निकायसँग अनुमति लिनुपर्ने र धरहराको संरचनाको कारणले सम्भव भएन । धरहराबाट सम्भव नभएपछि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशनको भवनबाट हाम्फाल्ने निर्णय भयो ।

सोही बमोजिम आवश्यक सुरक्षाको तयारी गरी उनी सो भवनबाट हाम फाले । त्यसबेला पत्रकारहरूको भीड लागेको थियो उनी हाम फालेको तस्वीर र भिडियो कैद गर्नका लागि ।

भोलिपल्ट उनी हाम फालेको समाचार अधिकांश सञ्चार माध्यमले प्रकाशन गर्‍यो । अनलाइनको समय नभए पनि सो कुरा हावासरी गाउँसम्म फैलियो । फिल्म पनि सोचेभन्दा निकै राम्रोसँग चल्यो । अझ भनौँ, उनको क्रेज नै बढयो ।

सात तलाबाट हाम फालेका निखिलले नयाँ ठाउँ र परिवेशमा आफ्नो परिचय पनि फेरे ।

कलिउड र बलिउडको अनुभव

निखिल उप्रेती नेपाली फिल्ममा एक्सन स्टार भए पनि उनको अभिनयको करिअर भारतबाट शुरु भएको थियो । उनी भारतमा सहायक निर्देशकको भूमिकामा काम गरेका थिए । अझ विशेष गरी उनी एक्सन अर्थात् फाइट सिकाउँथे ।

सानैमा कराँतेको ब्ल्याक बेल्ड हासिल गरेका उनलाई एक्सनप्रधान अभिनय गर्न खासै समस्या नभएको अनुभव छ ।

उनले भारतमा बलिउडसँगै साउथ सिनेमा पनि स्टन्ट कम्पोज गरेका थिए । त्यसैले पनि उनलाई नेपालमा स्टन्ट गर्नका लागि खासै समस्या थिएन ।

भारतमा विभिन्न एक्सन गरेका अभिनेता निखिल निर्देशक बन्नका लागि नेपाल आएका थिए । तर उनलाई हिरोको अभिनय गर्न दिइएको थियो ।

लामो समय साउथ र बलिउडमा विभिन्न अभिनेतालाई फाइट सिकाए उनले नेपालमा अरुसँग सिक्थे । कतिपय अवस्थामा भारतमा आफूले गरेको फाइट पनि नेपालमा कपी गरेर गर्न लगाएको अनुभवसमेत छ उनीसँग ।

भारतमा स–सम्मानका साथ अभिनय गर्दै आएका उनले नेपालका निर्देशकको अपमान सहन बाध्य भएको थियो । ज्यानको कारण फिल्म ‘पिँजडा’ नै अपमान सहन बाध्य भएका उनले पछिल्ला फिल्महरुमा पनि निर्देशकहरुको हेपाही प्रवृति भोग्न बाध्य भएको विभिन्न अन्तर्वार्ताहरुमा सुनाउँदै आएका छन् ।

साथै नेपालको कैयन फिल्मको सुटिङमा खाजाको मेनुमा चाउचाउको भरमा पनि काम गरेको उनी बताउँछन् ।

दुई दशकमा एक सयभन्दा बढी फिल्म

फिल्म ‘पिँजडा’ बाट अभिनय यात्रा गरेका अभिनेता निखिल उप्रेतीले पछाडि कहिल्यै फर्केर हेर्न परेन । नृत्यमा केही कमजोर देखिए पनि उनी एक्सन स्टारका रूपमा स्थापित भएका थिए ।

शुरुकै फिल्ममा सात तला घरबाट हामफाल्ने हिरोको रुपमा नाम कमाएका उनले पछिल्लो फिल्महरूमा पनि नयाँ नयाँ अभ्यास गरी दर्शकको ध्यान तान्न सफल थिए । त्यसैले पनि उनको फिल्ममा हलमा लाग्ने बित्तिकै दर्शकको ओइरो लाग्ने गर्थ्यो ।

उनले पिँजडा, हामी तीन भाई, धड्कन, पापी मान्छे, शिवशक्तिलगायत चर्चित फिल्म दिएका छन् । फिल्म ‘हामी तीन भाइ’ मा उनले राष्ट्रिय चलचित्र पुरस्कार २०६२ मा सर्वोत्कृष्ट अभिनेताको  पुरस्कार जितेका छन् । यसका साथै उनले राष्ट्रिय नागरिक स्वर्ण सम्मानसमेत प्राप्त गरेका छन् ।

पछिल्लो समय भने नेपाली फिल्मले धार परिवर्तन गरेसँगै निखिलका फिल्मले पनि बिस्तारै दर्शक पाउँदै जान छाडे । उनले आफैले निर्माण गरेका फिल्मले पनि खासै कमाइ गर्न सकेनन् भने पछिल्लो समय उनी फिल्ममा भन्दा बढी अध्यात्मतर्फ लागिपरेका छन् । फिल्म निर्माणको घोषणा गरे पनि उनले फिल्म भने अझै निर्माण गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?