काठमाडौँ – दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ले विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा चर्चाको शिखर चुमेको छ ।
नेपाली समयानुसार बिहीबार बेलुका भेनिसको हलमा भएको वर्ल्ड प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको हो ।
प्राप्त भिडियो र तस्वीरमा फिल्म हेर्न दर्शकको घुइँचो लागेको देख्न सकिन्छ । निर्माण टिमका अनुसार दर्शकले फिल्मलाई १० मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए ।
यहि फेस्टिभलका लागि यतिबेला फिल्मको कास्ट एण्ड क्रू भेनिसमा छ । फेस्टिभलको ओरिजोन्टी विधामा फिल्म छनोट भएको हो ।
फिल्ममा आशासहित पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ ।
यो फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।
सांसदको छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथामा फिल्म बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया