काठमाडौँ– राजस्थानी राजसी शैलीमा ठाँठिएर बसेका एक पुरुषको काखको आडैमा पाको उमेरकी महिला (हजुरआमा) छिन् । उनको कपाललाई पुरुषले सुम्सुम्याइरहेका छन् ।
पुरुष र महिलाको स्वरुपलाई नियाल्दै गर्दा पहिरन होस् या भावभङ्गीहरुमा ती दुईबीच निकै अन्तर भेटिन्छन् । ती अन्तरमा कलाकार मुना भँडेलले चित्रकलाको स्वरुपमै आत्मीय प्रेम र स्नेहका मुहानहरुलाई खोतलेकी छिन् ।
झट्ट देखिँदा आम दर्शकलाई महिला र पुरुष फिगरलाई समेटिएको चित्र सिर्जना मात्र लाग्न सक्ला । तथापि भँडेलले यसमा आफ्नो दिवंगत हजुरआमाको स्मरण र उनले भोगेकी सिङ्गो जीवनलाई देखेकी छिन् । बाल्यकालमै विवाह बन्धनमा बाँधिनुपर्ने हजुरआमाहरुको बाध्यता, घरपरिवारको लालनपालनमै सीमित जीवन एवम् भोगाइमा पतिको न्यानो काख र ममता हजुरआमा पुस्ताले कमै पाए भन्ने भँडेललाई लाग्छ ।
उनका अनुसार पतिको न्यानो प्रेम र स्नेहलाई यो समयको दम्पत्तिहरुले जस्तै आदानप्रदान गर्ने अवसर नपाए पनि हजुरआमाहरुको मनमा पक्कै पनि पतिप्रेमको अभिलाषाहरु थिए । मात्र ती अनुभूतिहरु अभिव्यक्त भएनन् । तिनै हजुरआमाहरुका अनुभूतिहरुलाई उनले कलामार्फत व्यक्त गरेकी छिन् ।
आइतबारदेखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘साइलेन्ट विशपर्स’ शीर्षकमा शुरु भएको भँडेलको एकल कला प्रदर्शनीमा झण्डै दुई दर्जन कला सिर्जनामा उनले आफ्नो हजुरआमालाई केन्द्रमा राखेकी छिन् । उनको यो तेस्रो एकल कला प्रदर्शनी हो ।
विशेषत: उनले हजुरआमामार्फत स्वयम् व्यक्त हुन नसकेका अनुभूतिहरुलाई दम्पत्तिकै स्वरुपमै सिर्जना भएका चित्रहरु चित्रण गरेकी छिन् । पति होस् या सासुको पाउ छोएको चित्र, पतिको काखमा बसेकी महिलामा उनले आफ्नी हजुरआमाकै स्वरुप देखेकी छिन् ।
हजुरआमाका हात, औंलाहरुको स्वरुप र तिनै औंलाहरुमा आफ्नो स्पर्शलाई समेत उनले कलाकृतिहरुमा उतारेकी छिन् । आफ्नो घरकी हजुरआमाबाहेक उनले मामाघर र अन्य छिमेकी हजुरआमाहरुलाई समेत उनका सिर्जनाहरुमा उतारेकी छिन् ।
यसर्थमा उनका लागि ग्यालरीमा प्रदर्शनरत सम्पूर्ण कला सिर्जनाहरु आफ्नी हजुरआमाहरुप्रतिको समर्पण हो । उनका कलाकृतिहरुमा पुरुष अर्थात् हजुरबुवालाई राजसी शैली र अनि हजुरआमाको स्वरुपमा आम महिलाकै चित्रण छन् ।
उनको यो शैलीले पितृसत्तामा हजुरबुवाहरु राजामहाजाकै दर्जामा थिए भने हजुरआमाहरु केवल एउटी सामान्य महिलाकै स्थानमा थिए भन्ने समेत संकेत गर्छ ।
भक्तपुर चाँगुनारायणकी भँडेलको बाल्यकाल धेरैजसो हजुरआमासँगै बित्यो । उनका अनुसार उनकी हजुरआमाको विवाह ८ वर्षको उमेरमै १३ वर्षीय युवकसँग भयो । उनले हजुरबुवा र हजुरआमाको आत्मीय प्रेमलाई उनले कहिल्यै देखिनन् ।
हजुरबुवाको मृत्युपछिको वियोगमा पनि उनले हजुरआमामा त्यो प्रेम र आत्मीयता देखिनन् । उनी आकलझुकल हजुरआमालाई उनको विवाह, प्रेम जीवनबारे खोजीनिती पनि गर्थिन् । तर हजुरआमाले कहिल्यै व्यक्त गरिनन् ।
हजुरआमाले आफूले भोगेको कालखण्ड र अहिलेको समयमा निकै अन्तर रहेको कुरा सुनाएको उनी स्मरण गर्छिन् । ‘हाम्रो पालामा तिमीहरुको जस्तो कहाँ हुन्थ्यो र भनेर हजुरआमाले सुनाउनुहुन्थ्यो,’ उनले स्मरण गरिन्, ‘म हजुरआमा र हजुरबुवाबीचको दम्पत्ति प्रेम खोज्थेँ तर त्यसमा कुनै प्रेम, रोमाञ्चकता भन्ने केही थिएन । यसमा मैले र हजुरआमाले भोगेको समय निकै परिवर्तन भएर नै होला ।’
उनी सोच्छिन्, त्यतिबेलाको पितृसत्तामा घरभित्रकै सीमानामा रहनुपर्ने महिलाहरुको बाध्यता, पतिलाई जीवन सहकार्यका लागि साथीभन्दा सम्मानित व्यक्तिको हैसियतमा राख्नुपर्ने परम्पराहरुले पनि हजुरआमाहरुमा प्रेम खुल्ला रुपमा अभिव्यक्त भएनन् र गर्न सकेनन् ।
यद्यपि महिला हुनु, त्यसैमा कुनै पनि पुरुषको अर्धाङ्गिनी हुनुमा मनभित्र उब्जिने हजुरआमाका प्रेमिल भावहरु अहिलेकै जस्तै हुन्थे होला भन्ने उनी कल्पना गर्छिन् । त्यही उनले कल्पना गरेका हजुरआमाका प्रेमिल क्षणहरुलाई नै उनले कलामा उतारेकी छिन् ।
कलाकार भँडेल आफैं विवाहित र आमा पनि हुन् । हजुरआमाका जीवन र प्रेमलाई खोतल्ने क्रममा आफ्नै पनि कतिपय भावनाहरु सिर्जनामा मिसिएको उनी स्वीकार्छिन् ।
२०६२ सालपछि शुरु भएको उनको कलायात्रामा आफैं महिला हुनुका थुप्रै भावहरु प्रतिबिम्बित भएका छन् । २०४४ साल साउन २३ गते प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा सम्पन्न चाँगुनारायण क्षेत्रमा नेवार परिवारमा जन्मिएकी उनले सानैदेखि नेवारी परम्परा र संस्कारलाई नजिकैबाट नियालिन् ।
चाँगुनारायण क्षेत्रमा हुने विभिन्न जात्रा, पर्वका झलक र कलाहरुले उनको ध्यान तान्यो । उनका बुवा नारायणभक्त भँडेल र पति अनिल शाही पनि कलाकार नै भएकोले उनको कलायात्रामा अझै बल पुगेको छ ।
ललितकला क्याम्पसबाट स्नाकोत्तर गरेकी उनले विशेषत बाहिरी प्रकृतिभन्दा पनि मानव शरीर र भावनाहरुलाई केन्द्रमा राखेर कला सिर्जनालाई अगाडि बढाएकी छिन् । जसमा महिलाका शरीर, पहिरन र अनुभूतिहरुलाई उनले भावनाका डुबुल्की मार्दै क्यानभासमा सजाएकी छिन् ।
त्यसमा पनि राजस्थानी मुगल शैलीको उनको कला सिर्जना छवि कला फाँटमा बेग्लै रुपमा स्थापित छ । ‘कला सिर्जनमा यो शैलीको प्रभाव कसरी आयो ?’ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘पुरानोे कुराहरु खोज्दै जाँदा नै यो शैली निकै मन पर्यो । त्यसपछि यसैमा काम गर्दै जाँदा बानी बस्यो ।’
कला सिर्जनालाई उनी आफैंभित्रको यात्राका रुपमा लिन्छिन् । आफूभित्रका अनगिन्ति भावनाहरु कलामार्फत अभिव्यक्त हुने उनी सुनाउँछिन् । आफू कलाकार भएरै आफू मात्र नभएर हजुरआमाका भावनाहरुलाई समेत कलामा उतार्न पाउँदा उनी निकै सन्तुष्ट छिन् ।
यस अघिका कलासिर्जनाहरुमा पनि उनले हजुरआमालाई उतारिसकेकी छिन् । उनका अनुसार हजुरआमादेखि समकालीन महिलाहरुका जीवन र अनुभूतिहरुलाई कलामा उतार्न निकै थाँती छन् । तमाम महिलाका अनुभूतिहरु मात्र नभएर अवस्था समेत कलामा आउनुपर्ने उनको मत छ । अझ हजुरआमा पुस्ताका कतिपय कुराहरु यो समयले सिक्नुपर्ने कुरामा उनको जोड छ ।
भन्छिन्, ‘हजुरआमाहरुको जीवन फिजिकल रुपमा हेर्दा निकै दुःख जस्तो लागेपनि मेन्टल्ली भने उहाँहरु सुखी हुनुहुन्थ्यो जस्तो मलाई लाग्छ । त्यतिबेला घर परिवारमा मात्र उहाँहरुको ध्यान हुन्थ्यो । अहिले हामी जस्तो बाहिरको काममा उहाँहरुलाई चिन्ता थिएन ।’
पुराना पुस्तामा कुरा साझा गर्न छरछिमेक र साथीभाइ थिए । हजुरआमाहरु फल्चा र घरका पिँढीहरुमा बसेर एक आपसमा कुराकानी गरेको दृश्य उनले प्रत्यक्ष देखेकी छिन् । अहिलेको समयमा महिलाहरुले त्यो अवसर नपाएको उनी सुनाउँछिन् ।
हजुरआमाको समयलाई सुखद स्मरणका रुपमा समेत उनले कलामा उतारेकी छिन् । जुन कलाकृतिहरुमा चाँगुनारायण मात्र नभएर उनले नेवा परम्परा र संस्कारहरुको झलकलाई देखाएकी छिन् ।
सिद्धार्थ आर्ट फाउण्डेसनकै पहलमा नेपालका कलाकारहरुलाई प्रदान गरिँदै आएको ‘अस्ट्रेलियन हिमालयन अवार्ड–२०२२’ का विजेता भँडेलले राष्ट्रिय स्तरका थुप्रै कला प्रदर्शनीहरुमा सहभागिता जनाएकी छिन् भने इन्डोनेसिया आर्ट बेनालेमा समेत उनी सहभागी भएकी छिन् ।
भँडेलको कला सिर्जना यात्रा अत्यन्तै उत्कृष्ट र उत्साहजनक रुपमा आएको ग्यालरीका निर्देशक संगीता थापाले बताइन् । समकालीन तथा आधुनिक कलामा उनको सक्रियता र कला शिल्पलाई लामो समयदेखि नियाल्दै आएको बताउँदै उनले भँडेलको सिर्जनायात्राको प्रशंसा गरिन् ।
कला प्रदर्शनी असोज २ गतेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया