काठमाडौँ– चित्रकार र मूर्तिकार ओसवाल्डो ग्वायासामिनले आफ्ना सिर्जनाहरुमा ल्याटिन अमेरिकाका आदिवासीहरूको पीडालाई आफ्नो कलामा चित्रण गरेका छन् ।
२० औं शताब्दीको गरिबी, युद्ध र क्रान्तिका बाछिटाहरुले उनको कला सिर्जनामा गहिरो प्रभाव पारेको देखिन्छ । उनका सिर्जनाहरुमा आदिवासी श्रमजीवी वर्गका श्रम र पीडा अझै जीवन्त रुपमा चित्रण भएका छन् ।
आदिवासी सम्पदा, सौन्दर्य र तिनका पीडाहरुमा उनको भावनात्मक चिन्तनको गहिरो छाप उनका कलाकृतिहरुमा इंगित भएका छन् । उनी कला मार्फत मानव आदर्शलाई स्थापित गर्ने महान सर्जक रहेको ल्याटिन अमेरिकी कलाकार मात्र नभएर सिङ्गो कला जगतले मानेका छन् ।
इक्वेडरको राजधानी क्विटोमा ६ जुलाई, १९१९ मा आदिवासी (क्वेचुआभाषी) बुबा र मेस्टिजा (मिश्रित जाति) आमाका दशमध्ये ग्वायासामिन पहिलो सन्तानका रुपमा जन्मेका हुन् ।
गरीब परिवार त्यसमा पनि जेठो सन्तान भएकोले ठूलो कठिनाइ र सङ्घर्षहरुमा उनको बाल्यकाल बित्यो ।
उनले बाल्यकालमै आमा गुमाएका थिए । गरिबी र अभावले सानैमा ठूलो जिम्मेवारी लिए तापनि उनले सानैदेखि सिर्जना कर्मलाई निकै रुचिपूर्ण तवरले अगाडि बढाए । ६ वर्षकै उमेरमा उनले पानी रङकै माध्यममा चित्र सिर्जनालाई प्रारम्भ गरेका थिए ।
परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण उनले काम गर्न सक्ने उमेर भएपछि आफू र आफ्नो परिवारकालाई धान्न ट्याक्सी एवं ट्रक चालकका रुपमा समेत काम गरे । त्यसै समयमा उनी ‘क्विटो स्कूल अफ आर्ट’मा अध्ययनरत थिए ।
यद्यपि उक्त स्कूलमा उनले छ/सात वर्ष मात्र अध्ययन गरे ।
त्यही स्कूलमै उनले चित्रकला, मूर्तिकला र वास्तुकलाको अध्ययन गर्ने मौका पाए । यही अवधिमा १९३२ मा उनको सबैभन्दा मिल्ने साथी क्विटोमा राजनीतिक प्रदर्शनका क्रममा मारिएको थियो ।
यही दु:खद् घटना, आमाको वियोग, पारिवारिक गरीबी, आदिवासी स्थितिजस्ता उतारचढावहरुको गहिरो प्रभावले उनको सिर्जना अझै विश्व दृष्टिकोणकै स्वरुपमा फैलावट भयो ।
कलामार्फत काल्पनिकता, मानवता र इतिहासको उत्खननमा ग्वायासामिन निकै अगाडि छन् । उनको कलाको ब्रम्हाण्डले जति मानवताको सृष्टिलाई खोजी गरेको छ, त्यति नै यसको प्रकोपप्रति मानव समुदायलाई सचेत गरेको छ ।
उनका चित्रकलाहरुमा महिला र मातृत्वका भावहरु अन्तरघुलित भएका छन् । त्यसैमा मानवता, सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणहरु छताछुल्ल भएका छन् ।
१९४२ मा ग्वायासामिनले आफ्नो पहिलो एकल कला प्रदर्शनी गरेका थिए । तत्कालीन सामाजिक र राजनीतक विषय समावेश गरिएको उनको अभिव्यक्तिवादी शैलीका सिर्जना त्यतिबेला निकै चर्चा र विवाद दुवै बटुल्ने काम गर्यो । यसले गर्दा इक्वेडोरका अन्य कलाकारहरूभन्दा उनको छवि बेग्लै रुपमा माथि उठेको थियो ।
यही प्रदर्शनी नै उनको कलायात्राका लागि कोशेढुंगो सावित भयो । संयोगवश उनको पहिलो प्रदर्शनीलाई तत्कालीन न्यूयोर्कका परोपकारी र कला कलेक्टर नेल्सन रकफेलरले अवलोकन गरेका थिए ।
रकफेलरले उक्त प्रदर्शनीका धेरै चित्रहरू खरिद गर्नुका साथै उनलाई संयुक्त राज्य अमेरिकामै काम गर्न र छात्रवृत्तिमार्फत अध्ययन गर्ने अवसर समेत दिए । यसपछि उनको कला यात्राले अझै तीव्र गतिको उडान लियो । यस अवधिमा उनले ल्याटिन अमेरिका, संयुक्त राज्य अमेरिका र युरोपमा एक सय ८१ पटक एकल प्रदर्शनीहरू गरे ।
कला अध्ययनकै क्रममा उनले ल्याटिन अमेरिकाको आदिवासी समुदायकै पुगेर तिनको यथास्थितिबारे अध्ययन र अवलोकन गरेका थिए । त्यतिबेला उनले आदिवासी परम्परा, कला, शिल्प र ज्ञानलाई उनले नजिकैबाट नियाले ।
आर्थिक रुपमा आफूलाई सहज भएपछि उनले ती कोलम्बियन कलाकृतिहरुलाई सङ्कलन गर्ने काम गरे । ती कलाकृतिहरु क्विटोस्थित उनको घरको संग्रहालयमा सङ्ग्रहित छन् ।
उनको कला सिर्जनाको क्षमता उनको साथीभाइ र कला क्षेत्रमा समेत स्थापित थियो । १९५५ मा बार्सिलोना, स्पेनमा भएको तेस्रो हिस्पानो(अमेरिकन बेनाले)मा उनले प्रथम पुरस्कार प्राप्त गरे । त्यस्तै, १९५७ मा साओ पाउलो, ब्राजिलमा भएको चौथो बेनालेमा उनी उत्कृष्ट दक्षिण अमेरिकी चित्रकार समेत बन्न सफल भए ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)द्वारा ‘शान्तिको लागि सम्पूर्ण जीवन कार्य’को लागि समेत उनलाई पुरस्कार प्रदान गरिएको थियो ।
ग्वायासामिनको कला सिर्जनाहरुमा ‘द एज अफ एङ्गर’ सिरिजका कलाकृतिहरु निकै महत्वपूर्ण कलाकृतिका रुपमा लिइन्छ । जुन कलाकृतिहरुमा तत्कालीन समयको राजनीतिक चेतना, विश्व परिवेश र मानवताका अवशेषहरु अभिव्यक्त भएका छन् । ‘टियर्स अफ ब्लड’ जस्ता चित्र सिर्जनामा उनले क्युविजम शैलीमा मानवीय संवेदना, शोक र हृदयविदारक भावालाई प्रस्तुत गरेका छन् ।
उनले आफ्नो जीवनको उत्तरार्द्धमा सिर्जना गरेका कामहरुमा मातृत्वको भावलाई अझै जीवन्त रुपमा उतारेका छन् । जसमा आमा र सन्तानबिचको ममता, न्यानोपना झल्केका छन् । १९८८ देखि जीवनको अन्तिम घडी १९९९ सम्ममा सिर्जना भएका सय भन्दा बढी उनका कलाहरुलाई उनले आफ्नी आमाप्रति समर्पित गरेका छन् ।
जीवनको उत्तरार्धमा उनले आफ्नै मुहार चित्रलाई उतारेका छन् । जसमा उनले जीवनको थकान र कठिनाइलाई प्रतिबिम्बित गरेका छन् ।
सन् १९९९ मा निधन भएका ग्वायासामिन एक कलाकार र आम मान्छे मात्र नभएर इक्वेडरका निधि बने । उनले आफ्नो जीवनकालमा सिर्जना गरेका कलाकृतिहरु इक्वेडरमा मात्र नभएर भित्तेचित्रका रुपमा समेत म्याड्रिडस्थित ‘एडोल्फो सुआरेज एयरपोर्ट’ र पेरिसको युनेस्को मुख्यालयमा समेत सजिएका छन् ।
उनका अधिकांश सिर्जनाहरु क्विटोस्थित ‘ग्वायासामिन फाउण्डेसन’मा सङ्ग्रहित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया