काठमाडौँ– थिएटरप्रति नयाँ पुस्ताको आकर्षण उल्लासमय छ । राजधानीमा नाम चलेका मण्डला, सर्वनाम, शिल्पी जस्ता थिएटरले निरन्तर नाटकमा नयाँ पुस्ताहरु भित्राइरहेका छन् ।
यी बाहेक एक्टर्स स्टुडियो, ‘ज्ञ’ थिएटर, थिएटर भिलेज, ओजस लगायतका थिएटरहरुले विशेषत तीन महिने थिएटर कक्षा मार्फत युवा पुस्तालाई नाटकको ज्ञान दिइरहेका छन् । मण्डलाले एक वर्षे ड्रामा स्कूलमार्फत पनि नाटकका लागि युवा पुस्ता जन्माइरहेको छ ।
यीमध्ये आरोहण गुरुकुलले रङ्गमञ्चमा रङ्गकर्मीहरु उत्पादनमा विशेष भूमिका खेलेको छ । जहाँबाट उत्पादन भएकाहरुको नै अहिले फिल्मी क्षेत्रमा रजगज छ । राजधानीमा मात्र नभएर यसबाहिर पनि चुलाचुली रङ्गमञ्च, पोखरा थिएटर, आरोहण गुरुकुल विराटनगर लगायतका थिएटरहरुले पनि थिएटरकै लागि रङ्गकर्मीहरु जन्माइ नै रहेका छन् ।
रङ्गमञ्चमा रङ्गकर्मीहरुको जनसङ्ख्या थपेर मात्र नाट्य क्षेत्रको विकास सम्भव छ र ? जन्माइएका रङ्गकर्मीहरु कहाँ र कुन अवस्थामा छन् भन्ने बारे अग्रज रङ्गकर्मीहरुले कतिको हेक्का राख्छन् ? तीन महिने कक्षामा हुलिदिने सबैमा साँच्चिकै थिएटर मोह नै छ त ?
थिएटरमा होमिएका नयाँ पुस्ताहरुले यी तमाम प्रश्नहरु अग्रज पुस्तालाई नै तेर्साइरहेका छन् ।
रङ्गकर्मी विजय तामाङ कोरियोग्राफरका रुपमा थिए । फिल्मका थुप्रै सेलिब्रेटीसँग सहकार्य गरेका उनी त्यही आकर्षणले थिएटरसम्म आइपुगे । एक/डेढ वर्षको अवधिमा नाटक सिकेपछि छुट्टै संसार र यसको सौन्दर्यभित्र छिरेको उनलाई बल्ल आभास भएको छ ।
राम्रो लुक्स र अभिनयप्रतिको आत्मबलले यदि कुनै मौका पाइयो भने फिल्मतिरै काम गर्न पाइएला कि भन्ने उनको आशा छ ।
यद्यपि नाटक, अभिनय र फिल्म भन्ने सबै फरक कुरा रहेछन् भन्ने कुरा उनले बल्ल बुझेका छन् । उनी जस्तै सपना बोकेर थिएटरमा आएका नयाँ पुस्ता हुन्, सुशान्त बस्नेत । विजय र सुशान्त यी दुवै जना मण्डला ब्याच १३ का विद्यार्थी हुन् ।
सुशान्त भन्छन्, ‘म थिएटरमा फिल्म बनाउँछु भनेर सपना बोकेरै आएको मान्छे हुँ । सानैदेखि अभिनयमा रचि भएकोले मेरो एक्टिङ खरो बनाउनुछ भनेर थिएटर जोइन गरेँ ।’
उनका अनुसार उनी दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल जस्ता अभिनेताहरुबाट प्रभावित छन् । थिएटरमा आएपछि यताको संसारबाट अब ओझेल पर्छु भन्ने उनलाई लागेको छैन ।
भन्छन्, ‘मलाई यहाँभित्र छिरेपछि आफैं नाटक बनाउँछु भन्ने भयो । एउटा यस्तो नाटक बनाऊँ, जुन अहिलेको युथहरुलाई पनि आकर्षित गर्न सकोस् भन्ने मलाई लाग्छ ।’
विजय र सुशान्त दुवैले मण्डलामा भएको म्याड फेस्टमा युवाहरुलाई केन्द्रमा राखेर क्रमशः ‘नुग्ध’ र ‘मिरर’ नाटकहरु प्रस्तुत गरेका थिए । त्यस्तै, रङ्गमञ्चमै छिरेकी नयाँ पुस्ताकी रङ्गकर्मी हुन्, प्रितिशा अधिकारी । उनी पनि एक्टर नै बन्ने सपना बोकेर थिएटर छिरेकी थिइन् ।
फिल्मी क्षेत्रमा अभिनेत्रीहरुलाई ग्लामरसँग मात्र जोडेर हेर्ने प्रवृत्तिलाई चिर्न भएपनि उनलाई अभिनयमा आउनु थियो । थिएटरमा छिरेपछि उनले पनि यहाँ अलग्गै संसारको अनुभव गरेकी छिन् । अब यसबाट अलग हुन्छु भन्ने उनलाई लागेको छैन ।
म्याड फेस्टमा उनको लेखन तथा निर्देशनमा नाटक ‘अगम’ मञ्चन गरिएको थियो ।
रङ्गकर्मीहरुलाई यसैमा जीवन निर्वाह गर्ने बाटो बनिसकेको छैन भनेर अशेष मल्लदेखि सुनिल पोखरेल, निर्शा शर्मा, अनुप बराल, दयाहाङ जस्ता थिएटरमा पकड जमाएकाहरुले पटक पटक सार्वजनिक रुपमै भन्दै आएका छन् । यद्यपि यी रङ्गकर्मीहरुले नयाँ पुस्ताहरु धमाधम जन्माइ नै रहेका छन् ।
ती नयाँ आएकाहरूले थिएटरमा ‘सर्भाइभ’ हुन नसकेपछि जीवनदेखि नै विरक्तिएको सुनाइरहेका छन् । थिएटरभित्रको दुनियाँ जति रङ्गीन र उज्यालो देखिए पनि यसभित्र ठूलो सङ्घर्ष र दलदलको स्वरुप भयङ्कर रहेको रङ्गकर्मी संयोग गुरागाईं स्वीकार्छन् ।
विगत एक दशकदेखि नाट्य क्षेत्रमा रहेका उनी भन्छन्, ‘बाहिरबाट देख्दा कस्तो राम्रो चिटिक्क परेको लाइफ पनि राम्रै देखिन्छ । बाहिरबाट स्टेज पनि राम्रो देखिन्छ । तर यहाँ भित्र आइसकेपछि यहाँको दुनियाँ, सङ्घर्ष छुट्टै छ । यहाँभित्र डिप्रेसन, दलदल, तनाव सबै कुरा छन् ।’
उनका अनुसार थिएटरमा आउने नयाँ पुस्ताहरु दयाहाङ, बुद्धि, विपिन, सौगात, सिर्जना सुब्बा, विजय बराल नै बन्छु भनेर आइरहेका छन् । शुरुवाती अडिसनमा दयाहाङ, बुद्धि, विजय, सिर्जना जस्ता रङ्गकर्मीहरु नै अगाडि हुन्छन् ।
उनी थप्छन्, ‘उहाँहरु अगाडि लाइनमा देखेपछि थिएटर पढ्दिन भनेर कसैले भन्दै भन्दैनन् । उहाँहरु जस्तो नबने पनि फोटो खिचेर साथीभाइहरुलाई देखाउनकै लागि पनि नयाँ आउनेहरु थिएटर पढ्छन् ।’
दयाहाङको स्टारडम, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने जस्ता अभिनेताहरुको पृष्ठभूमि रङ्गमञ्च नै भएकाले फिल्मतिरको ग्यामरले नै थिएटरमा युवा पुस्ताको उपस्थिति बढेको उनी सुनाउँछन् ।
‘तोकेरै भन्दा अहिले सिरियसली थिएटर नै गर्छु भन्ने मान्छे नै घटेका छन् । सबैलाई नाटक हुँदै फिल्मतिर जान्छु नै भन्ने छ,’ उनी थप प्रस्ट्याउँछन् ।
पछिल्लो समयको पुस्ताले थिएटरलाई बोक्न सक्छ कि सक्दैनन्, थिएटरमै रहनेहरुलाई अब ल्याउन सकिन्छ कि सकिँदैन भन्ने ठूलो प्रश्न अहिले खढा भएको अर्का रङ्गकर्मी सागर कार्कीको मत छ । थिएटरमा आउने नयाँ पुस्तामा ठूलो भ्रम पैदा भइरहेको उनले अनुभव गरेका छन् ।
थिएटर भनेको अभिनय मात्र हो भन्ने भ्रम अधिकांशमा रहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘अहिले आउनेलाई थिएटर पनि फिल्म हो, फिल्म पनि थिएटर हो भन्ने भ्रम भएको छ । यही भ्रम बोकेर आउनेहरु थिएटरकै लागि भनेर बसिरहँदैनन् ।’ यही भ्रमलाई तोड्न ‘फिल्म कि थिएटर’ भनेर शुरुवाती चरणमै छनोट गर्नुपर्ने उनको मत छ ।
यद्यपि अग्रजहरुले थिएटरको विस्तार र पुस्ता हस्तान्तरण भन्दा पनि आफू बाँच्न र नाटकघरहरु चलाउनै नयाँ पुस्तालाई रङ्गमञ्चको दुनियाँमा होमिरहेको उनको आरोप छ । यी सबै कुरा नजानिकनै थिएटरमा छिर्नेहरुलाई असाध्यै कठिन अवस्था रहेको उनले देखेका छन् ।
संयोगका अनुसार रङ्गमञ्चमा अहिलेको मूल मुद्दा भनेको थिएटरलाई कसरी बजारीकरण र व्यावसायीकरण गर्ने भन्ने हो ।
‘थिएटरसँग को को मान्छे र संस्थाले सहकार्य गर्न सक्छ ? मार्केटिङ गर्ने मान्छेले किन थिएटरसँग सहकार्य गर्न सक्दैन ? फाइन आर्ट गर्ने, सेट डिजाइनमा इन्टेरियल डिजाइन कम्पनि, मिडिया किन थिएटरमा जोड्न सकिएन ?’ उनको जिज्ञासा छ ।
यी सबैसँग जोडिएमा एक महिना नाटक गरेपछि एक्टरको खल्तीमा एक महिनाको खाना र कोठा भाडा तिर्ने जुगाड हुन सक्ने उनको बुझाइ छ ।
हिजोको पुस्ताले दालमोट चिउरा खाएर नाटक खेल्यो गर्यो भन्दैमा आजको पुस्ताले गर्नुपर्छ भन्ने पक्षमा रङ्गकर्मी सागर छैनन् ।
नयाँ पुस्तालाई थिएटरको ज्ञानले आ–आफ्नो विचार र सिर्जना बेच्न अग्रजहरुले प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ ।
यसका लागि बाहिरी संस्था तथा परिवेशसँगको सहकार्यमा समेत लगाउन सकिन्छ भन्ने उनलाई लाग्छ । थिएटरमा संस्थागत मात्र नभएर व्यक्तिवादी चित्रण रहेको उनको भनाइ छ । व्यक्तिवादी सोच हटेन भने कालान्तरमा थिएटरको अस्तित्व नै नरहला भन्ने उनको चिन्ता छ ।
उनका अनुसार अहिले भइरहेको अभ्यास थिएटरको नाममा एक किसिमको व्यापार नै हो । थिएटरमा व्यावसायिकता छैन भनेर हिजोको विचार र दृष्टिकोण नै आजका पुस्तालाई लाद्न खोज्ने प्रवृत्तिप्रति संयोग र सागर दुवैको असहमति छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया