काठमाडौँ – सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकी, यस वर्ष उहाँहरुले सोचेअनुसारको कमाइ भएन ।
गत वर्ष सुन्तला उत्पादनबाट रु पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै रु दुई करोडमा चित्त बुझाउन बाध्य भएका छन् । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनासो गरेका छन् ।
सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिए ।
यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौँ पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएको माछापुच्छे« सुन्तला सहकारी संस्थाका पूर्वअध्यक्ष दाताराम चापागाईँले बताए ।
स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए ।
सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया