काठमाडौँ– विगत सात दशकदेखि उत्तर र दक्षिण कोरिया दुई कट्टर दुश्मनका रुपमा रहँदै आएका छन् । सन् १९५० को दशकमा शुरु भएको कोरियाली युद्धयता यी दुई देश दुई विपरीत कित्तामा उभिएका छन् ।
साँच्चै भन्दा कोरियाली युद्ध अझै सकिएको छैन । युद्धविरामले रोकेको त्यो युद्धमा हालसम्म कुनै शान्ति सम्झौता भएको छैन ।
दक्षिण कोरिया लामो समयदेखि अमेरिकाको महत्वपूर्ण साझेदार मुलुकको रुपमा रहेको छ भने उत्तर कोरिया शुरुमा सोभियत संघ र अहिले आएर रुसको साझेदार बनेको छ । यी दुवै देशको सीमा क्षेत्रमा दशौँ हजारको सङ्ख्यामा सैनिकहरु परिचालित छन् ।
उत्तर कोरियामा कोरियाली वर्कर्स पार्टीको एकदलीय शासन कायम छ भने दक्षिण कोरियामा लोकतान्त्रिक शासन पद्धति छ । उत्तर कोरियाले आफ्नै शैलीको जुचे साम्यवाद लागू गरेको छ भने दक्षिण कोरियामा पुँजीवादी अर्थ व्यवस्था अङ्गालेको छ ।
त्यतिमात्रै होइन । दुवै देशले अर्काको अस्तित्व नै स्वीकार गर्न नसक्ने अवस्था छ । लामो समयदेखि दुवै मुलुकको उद्देश्य एउटै शासन व्यवस्था अन्तर्गत कोरियाली प्रायद्वीपलाई एकीकरण गर्नु रहेको छ ।
उत्तर कोरियाले आणविक हतियारको विकास गरेर दक्षिण कोरिया र उसका साझेदारहरुलाई बारम्बार धम्की दिने गरेको छ भने दक्षिण कोरियाले पनि सैन्य अभ्यास गर्दै उत्तर कोरियालाई उत्तेजित बनाउने गरेको छ । यति मात्रै होइन, दुवै मुलुक एक अर्काविरुद्ध कटु दुष्प्रचारमा पनि उत्रिँदै आएका छन् ।
झट्ट हेर्दा कुन बेला यी दुई देशबीच फेरि युद्ध चर्किन्छ र पूरै कोरियाली प्रायद्विप तहसनहस हुन्छ भन्ने अवस्था छैन ।
यथास्थितिको विश्लेषण गर्दा न त अहिले दक्षिण कोरियाले उत्तर कोरियामाथि हमला गरेर जित्न सक्ने अवस्था छ । न त उत्तर कोरियाले दक्षिणमाथि आक्रमण गरेर कुनै लाभ हासिल गर्ने अवस्था छ ।
तैपनि यी दुई देशले एक अर्काविरुद्ध आक्रमण गर्न शक्ति सञ्चय भने गरी नै रहेका छन् ।
हुन त यसै वर्षको शुरुमा उत्तर कोरियाले कोरियाली प्रायद्विलाई एकीकरण गर्ने उद्देश्यमा परिवर्तन गरेको घोषणा गरेको थियो । उसले दक्षिण कोरियालाई दुश्मन राष्ट्रको मान्यता दिँदै एकीकरण गर्नका लागि गठन गरिएका सरकारी निकायहरु भंग गरिदिएको थियो ।
केही समयअघि दक्षिण कोरियाले विशाल लाउडस्पिकरमार्फत उत्तर कोरियातर्फ उत्तेजक श्रव्यसामग्री प्रसारण शुरु गरेको थियो ।
त्यसबाहेक कोरियाली अभियन्ताहरुले दक्षिणबाट उत्तरतर्फ पर्चा, पैसा, प्रतिबन्धित सञ्चार सामग्रीजस्ता कुरा पठाउने गरेका थिए । त्यसको बदलामा उत्तर कोरियाले हजारौँको सङ्ख्यामा बेलुन दक्षिणतर्फ पठाएको थियो । फोहोरले भरिएका ती बेलुनमा दिसा, टोइलेट पेपर, बिग्रेर कामै नलाग्ने बेट्री, चुरोटका ठुटाजस्ता कुरा राखिएको थियो ।
तर, भू–राजनीतिक यथार्थ जे जस्तो भए पनि यी दुई देशबीच केही कुरा भने समान छन् । एक त यी दुवै मुलुकले कोरियाली साँस्कृतिक एवम् ऐतिहासिक परम्परा बोकेका छन् । दुबै देशका जनता कोरियाली हुनुमा गौरव गर्छन् । दुबै मुलुकका जनताको भाषा, सँस्कृति, परम्परा र रितिरिवाज समान छ ।
कुनै कुनै अवस्थामा त यी दुई मुलुकका जनताबीच पारिवारिक सम्बन्ध पनि रहेको पाइन्छ । उदाहरणका लागि दक्षिण कोरियाका पूर्वराष्ट्रपति मुन जाए इनका बाबुआमा उत्तर कोरियाबाट आएका शरणार्थी थिए । दुवै कोरियाले बेलाबेला कोरियाली युद्धका बेला बिछोड भएका पारिवारको पुनर्मिलन समेत गराउँदै आएका छन् ।
यतिमात्र होइन, कहिलेकाहीँ यी दुवै देशले खेलकुद प्रतियोगिताहरुमा संयुक्त टिम पनि पठाउँदै आएका छन् । सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा आयोजित शीतकालीन ओलम्पिकमा यी दुवै मुलुकले संयुक्त कोरियाली टिमको तर्फबाट प्रतिस्पर्धा गरेका थिए ।
सन् २०१८ मा नै दुई मुलुकबीच सम्बन्ध सुधारोन्मोख देखिएको थियो । त्यसबेला दुबै मुलुकका नेताबीच सीमा क्षेत्रमा भेटवार्ता पनि भएको थियो । तर, त्यो सम्बन्ध सुधारको त्यो पहल सफल भने हुन सकेन ।
खेलकुद कै कुरा गर्दा पेरिसमा जारी गृष्मकालीन ओलम्पिकको उद्घाटन सत्रमा उद्घोषकले झुक्किएर दक्षिण कोरियालाई ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया’ भनेर बोलाएपछि आलोचना भएको थियो । उत्तर कोरियामा आफ्नो मुलुकलाई ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया’ भन्ने चलन छ ।
दक्षिण कोरियामा भने ‘गणतन्त्र कोरिया’ प्रयोग हुन्छ । पछि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले यसलाई ‘मानवीय त्रुटि’ भन्दै क्षमा मागेको थियो ।
यस ओलम्पिकमा पनि उत्तर र दक्षिण कोरियाली खेलाडीबीच भातृत्वको उदाहरण देख्न पाइयो । गत जुलाई ३० मा ओलम्पिकको टेबल टेनिस प्रतियोगिताको ‘मिक्स्ड डबल्स’ विधामा चीनले स्वर्ण जित्दा उत्तर कोरियाले रजत र दक्षिण कोरियाले काँस्य पदक जिते ।
सन् २०१६ यता उत्तर कोरियाले ओलम्पिकमा पदक जितेको यो पहिलो अवसर थियो । तर, त्यसमा स्वर्ण जित्ने चिनियाँ खेलाडीभन्दा उत्तर र दक्षिण कोरियाली खेलाडीले बढी चर्चा बटुले । कारण थियो – सेल्फी । पदक वितरण समारोहमा कोरियाली टोलीका खेलाडीले सामूहिक सेल्फी खिचाएका थिए ।
अघिल्ला ओलम्पिकमा खेलाडीलाई सेल्फी खिच्न दिइएको थिएन । यद्यपि यस पटक भने अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पेरिस ओलम्पिकका पदक विजेता खेलाडीका लागि सामसुङले उत्पादन गरेको ग्यालेक्सी जेड फ्लिप ६ फोन उपलब्ध गराएको छ ।
दक्षिण कोरियाली टोलीका लिम जोङ हुनले सेल्फी खिच्दा दक्षिणी टोलीकी सदस्य शिन यु बिन र उत्तर कोरियाली खेलाडीहरु रि जोङ सिक र किम कुम योङ सँगै उभिएका थिए ।
त्यसैगरी सो सेल्फीमा चिनियाँ खेलाडीहरु वाङ चुचिन र सुन यिङशा पनि अटाए । लिम जोङ हुनले विजयी सेल्फीमा उत्तर कोरियाली टोलीलाई पनि समावेश गरेकोमा ओलम्पिक कमेन्टेटरले बारम्बार प्रसंशा गरेका थिए । दक्षिण कोरियाली टेलिभिजनले पनि यो दृश्य बारम्बार प्रसारण गरेका थिए ।
पछिल्लो पटक दुई कोरियाबीच देखिएको भातृत्व यतिमा मात्रै सीमित छैन । उत्तर कोरियाले हाल भयानक प्राकृतिक प्रकोपको सामना गरिरहेको छ । भारी वर्षासँगै उत्तर कोरियामा आएको बाढीले ४ हजारभन्दा धेरै घर डुबाएको छ भने सडक, रेलमार्गमा क्षति पुर्याएको छ ।
त्यस्तै, विशाल क्षेत्रफलमा फैलिएको खेतबारीमा पनि बाढीले क्षति पु¥याएको त्यहाँको राज्यसञ्चालित केसीएनए समाचार संस्थाले जनाएको छ ।
बाढीबाट प्रभावितलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ भने सर्वोच्च नेता किम जोङ उन आफैँ बाढीले क्षति पुर्याएका क्षेत्रको भ्रमणमा निस्केका छन् । उता उत्तर कोरियामा बाढी आएको घटनालाई लिएर दक्षिणले सहयोगको हात अघि बढाएको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बाढीबाट प्रभावित उत्तर कोरियालाई सहयोग गर्ने प्रस्ताव अघि सारेको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित उत्तर कोरियालीप्रति समवेदना जारी गर्दै मानवीय तथा बन्धुत्वको भावनाले सहयोग गर्न चाहेको उल्लेख गरेको छ । मन्त्रालयले खाद्यान्न र औषधिजस्ता अत्यावश्यक सामग्री सहयोग गर्न आफूहरु तयार रहेको र यसबारे दुवै मुलुकका रेडक्रस सोसाइटीबीच समन्वय आवश्यक रहेको उल्लेख गरेको छ । तर, उत्तर कोरियाले यसबारे कुनै प्रतिक्रिया भने दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया