काठमाडौँ – आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरूको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरूको मागमा कमी आएको देखाएको हो । गत वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरूको संयुक्त रूपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको देखिएको छ ।
यस अवधिमा उद्योगहरूको आयमा समेत ह्रास आएको पाईएको छ। सर्वेक्षणमा सहभागी उद्योगीहरूले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।८७ प्रतिशतले आय घटेको जनाएका छन्। यो भन्दा अघिल्लो त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास आएका जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरूमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् ।
उद्योगीहरूले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरूले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९५ ले वृद्धि भएको पनि जनाइको छ ।
सर्वेक्षणका सहभागी उद्योगहरूले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया