काठमाडौँ– पछिल्ला केही दिनयता सुनको मूल्यले एकपछि अर्को कीर्तिमान राख्दै आएको छ । नेपालमा बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रहेको छापावाल सुनको मूल्य बुधबार २ हजारले बढेको हो । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
नेपालमा मात्रै होइन, संसारभर नै अहिले सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ । अमेरिकी बजारमा पनि सुनको भाउले कीर्तिमान राखेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी बजारमा तत्कालै किनबेच हुने सुनको भाउ १.८ प्रतिशतले बढ्दा प्रतिऔँस २ हजार ४ सय ६५ डलर ८२ सेन्ट पुगेको छ । त्यसैगरी, भविष्यमा किनबेच हुने सुनको भाउ पनि १.६ प्रतिशतले उकालो लागेर २ हजार ४ सय ६७ डलर ८० सेन्ट पुगेको रोयटर्सले जनाएको छ ।
सन् २०२३ मा अमेरिकी बजारमा सुनको मूल्य १३ प्रतिशतले बढेको थियो । सन् २०२४ मा भने हालसम्म सुनको मूल्य १९ प्रतिशत बढिसकेको छ ।
किन बढिरहेको छ सुनको भाउ ?
महङ्गो धातु सुनलाई गहनाका रुपमा वा धार्मिक कार्यका लागि मात्रै होइन, रणनीतिक अर्थ सञ्चयको माध्यम पनि मानिन्छ । सुनको विश्वव्यापी स्वीकार्यताका कारण यसलाई पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरुले सुनको सञ्चय बढाइरहेका छन् ।
पछिल्लो तथ्यांकअनुसार विश्वका केन्द्रीय बैंकमा ३५ हजार टनभन्दा धेरै सुनको सञ्चय रहेको छ । जसमा सबैभन्दा धेरै अमेरिकासँग ८ हजार १ सय ३३ टन सुनको मौज्दात रहेको छ । त्यस्तै, दोस्रोमा रहेको जर्मनीसँग ३ हजार ३ सय ५२, इटालीसँग २ हजार ४ सय ५१, फ्रान्ससँग २ हजार ४ सय ३७ टन सुनको मौज्दात रहेको विश्व सुन परिषदले उल्लेख गरेको छ ।
त्यसपछि रुससँग २ हजार ३ सय ३३ टन सुनको मौज्दात रहेको छ । रुसपछि चीनको ढुकुटीमा २ हजार २ सय ६२ टन सुनको सञ्चिती रहेको छ । भारतसँग ८ सय २२ टन सुनको मौज्दात रहँदा नेपालको ढुकुटीमा भने ८ टन सुन रहेको छ ।
ठूलो परिमाणमा सुनको सञ्चय गरे सम्भावित नाकाबन्दी वा प्रतिबन्ध छल्न सकिने हुँदा पनि विश्वका केन्द्रीय बैंकको ढुकुटीमा सुनको सञ्चय बढिरहेको छ । सन् २०२२ को शुरुवातबाट केन्द्रीय बैंकहरुले कीर्तिमानी परिमाणमा सुन खरिद गर्न थालेका थिए ।
विश्व सुन परिषदका अनुसार अनुसार सन् २०२२ मा १ हजार ८२ मेट्रिक टन सुन खरिद गरेका थिए । त्यस्तै, सन् २०२३ मा केन्द्रीय बैंकहरुले त्यसभन्दा केही कम १ हजार ३७ मेट्रिक टन सुन खरिद गरेका थिए ।
त्यसअघि सन् २०२१ मा केन्द्रीय बैंकहरुले केबल ४ सय ५५ मेट्रिक टन खरिद गरेका थिए । विश्व सुन परिषदका अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा मात्रै केन्द्रीय बैंकहरुले २ सय ९० मेट्रिक टन सुन खरिद गरिसकेका छन् । यसअघि अघिल्लो वर्षको पहिलो त्रैमासिकमा केन्द्रीय बैंकहरुले २ सय ८६ मेट्रिक टन सुन खरिद गरेका थिए ।
यो त्रैमासिकमा सबैभन्दा धेरै टर्कीको केन्द्रीय बैंकले ३०.१२ टन सुन खरिद गरेको छ । त्यसपछि चिनियाँ केन्द्रीय बैंकले २७.०६ र भारतले १८.५१ टन सुन खरिद गरेका छन् ।
यस वर्ष पनि केन्द्रीय बैंकहरुमा सुनको माग उच्च रहने विश्व सुन परिषदले उल्लेख गरेको छ । केन्द्रीय बैंकहरुले तीव्र स्तरमा सुनको सञ्चय गर्दा त्यसको असर विश्व बजारमा पर्दै गएको विश्लेषकहरु बताउँछन् ।
अमेरिकी केन्द्रीय बैंकको ब्याजदर
पछिल्लो समय सुनको भाउ बढ्नुको कारण भने अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले गर्न लागेको भनिएको ब्याजदरमा कटौती हो । सेप्टेम्बर महिनाका लागि फेडेरल रिजर्भले २५ आधार अंकमा कटौती गर्न लागेको अमेरिकी बजारमा हल्ला छ । फेडका प्रमुख जेरोम पावेलले गत सोमबार पछिल्लो समय मुलुकमा मुद्रास्फीतिदर सामान्य बन्दै गएको बताएका थिए । अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीतिदर २ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
ब्याजदर घट्दा त्यसले अमेरिकी डलर र ऋणपत्रको लाभदरमा दबाब पैदा गर्ने अर्थशास्त्रीहरु बताउँछन् । त्यसो हुँदा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुने गरेका छन् ।
सिटी इन्डेक्सका बजार विश्लेषक फवाद रजाकजादाले रोयटर्सलाई बताएअनुसार कमजोर आर्थिक तथ्यांक, मुद्रास्फीतिको घट्दो दबाबले ऋणपत्रको लाभदरमा दबाब परिरेहको छ । त्यसो हुँदा न्यून तथा शून्य लाभदर भएका सम्पत्तितर्फ लगानीकर्ता आकर्षित हुन थालेका छन् । सुनतर्फ अझै धेरै लगानीकर्ता आकर्षित हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया