काठमाडौँ- चर्चित भारतीय निर्देशक शेखर कपुरले काठमाडौँ नजिकैको भक्तपुर हुँदाहुँदै किन युरोप जानु ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा भक्तपुर दरबार क्षेत्रको तस्बिर पोस्ट गर्दै निर्देशक कपुरले भक्तपुरको तारिफ गरेका हुन् ।
केही दिनअघि उनी नेपाल भ्रमणमा आएका थिए । त्यस क्रममा उनी भक्तपुर दरबार क्षेत्र पनि पुगेका छन् । धेरै वर्षअघि आफू नेपाल आउँदाको क्षण स्मरण गर्दै उनले नेपाल सुन्दर र अध्यात्मिक भूमि रहेको टिप्पणी पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘काठमाडौँ नजिकैको भक्तपुर । धेरै वर्षपछि नेपाल आएको । यो भूमि कति सुन्दर र अध्यात्मिक छ भन्ने बिर्सिसकेको रहेछु । आफ्नो पहिलो फिल्ममा अभिनेता हुँदा म यहाँ आएको थिएँ, त्यसैबेला मेरो दिमागमा यो देश कोरिएको थियो ।’
साथै उनले युरोप किन जानु भन्दै प्रश्न पनि गरेका छन् । उनले लेखेका छन्, ‘युरोप किन जानु ? बारम्बार नेपाल जान्छु ।’
काठमाडौं बसाइका क्रममा उनले अभिनेत्री मनिषा कोइरालासँग पनि भेट गरेका थिए । सामाजिक सञ्जालमा मनिषा कोइरालाले पनि फोटो पोस्ट गर्दै भर्खरै शेखर यहाँ आएको जानकारी दिएकी छिन् ।
उनले शेखरका कारण आफ्नो घर पूर्ण भएको भन्दै शेखर आफ्नो आत्मीय साथी भएको उल्लेख गरेकी छिन् ।
शेखर कपुरले सन् १९८३ मा रिलिज भएको ‘मासुम’, सन् १९८७ मा रिलिज भएको ‘मिस्टर इण्डिया’, सन् १९९४ को ‘ब्यान्डिट क्विन’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया