मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनन्त अम्बानीको ‘महङ्गो’ बिहे आज, को हुन् बेहुली ? खर्च कति ?

काठमाडौँ– एसियाकै सबैभन्दा धनी भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले आज भव्य बिहे गर्दैछन् ।

महाराष्ट्रको मुम्बईमा भइरहेको अनन्तको विवाहको चर्चाले उनीहरुको परिवार र आफन्त मात्रै होइन । भारत र विश्वभरी नै ख्याति बटुलिरहेको छ । विवाहका तस्बिर सामाजिक सञ्जालभर भाइरल छन् । यो विवाहमा उपस्थित पहुना, विवाहको खर्च, परिकार, पहिरन, निमन्त्रणा कार्डजस्ता विषयबारे संसारका हरेक पत्रिकाले समाचार छापेका छन् ।

किनकि, यो बिहे आम मानिसले सोचेभन्दा पनि महङ्गो बिहे हो ।

महङ्गो बिहे र चिया पसल र घर–घरमा कुरा गर्ने विषय बनिरहेको छ । सन् २०२४ को सबैभन्दा महङ्गो विवाह समारोह मात्रै होइन, विवाहअघिका अनेक रश्म र सँस्कारले पनि विश्वलाई चकित पारिरहेको छ ।

अर्बपति मुकेश अम्बानीका २९ वर्षीय छोरा अनन्त अम्बानी र अर्का व्यवसायी विरेन मर्चेन्टकी उही उमेरकी छोरी राधिका मर्चेन्टको विवाहका रश्म विगत ७ महिनादेखि चलिरहेको छ ।

उनीहरुले गत डिसेम्बर २९ मा इङ्गेजमेन्ट गरेका थिए । राजस्थानमा रहेको श्रीनाथजी मन्दिरमा दुवै परिवार, आफन्त र नजिकका साथीभाइको सहभागितामा ससानो समारोहमाझ उनीहरुले इङ्गेजमेन्ट गरेका थिए ।

उनीहरुले जनवरी १८ मा इङ्गेजमेन्टको भोज आयोजना गरेका थिए । त्यही समारोहमा राधिकाको मेहँदी भएको थियो ।

मार्चमा आयोजना गरिएको विवाहपूर्वको समारोहले पनि संसारकै ध्यान तानेको थियो । तीन दिनसम्म चलेको त्यो समारोहमा बलिउडका हस्तीहरु, खेलाडी, राष्ट्रिय अन्तर्राष्ट्रिय सेलिब्रेटीसहित १२ सय जनालाई निम्तो दिइएको थियो ।

डेभिड गुएटा, केटी पेरी, पिटबुलजस्ता कलाकारले साङ्गीतिक प्रस्तुति दिएको त्यो समारोहमा १ सय जना भान्सेले ५ सयभन्दा धेरै परिकार पकाएर भोज खुवाइएको थियो । त्यसबेला अम्बानी परिवारले गुजरातको जामनगरनजिकका ५० हजारभन्दा धेरै गाउँलेलाई सामूहिक भोज पनि खुवाएका थिए ।

त्यसपछि मे महिनामा अम्बानी–मर्चेन्टको जोडी युरोपेली विलासी क्रुज सफरमा गएका थिए । इटालीको सिसिलीस्थित पालेर्मोदेखि रोमसम्म चार दिन लामो समुद्री सफरमा ब्याकस्ट्रिट ब्वाइज, पिटबुल, डेभिड गुएटाजस्ता कलाकारले साङ्गीतिक प्रस्तुति दिएको भिडियो इन्टरनेटमा भाइरल भएका थिए । पछि जुलाई २ मा उनीहरुले सिमान्त परिवारका ५० जोडीको सामूहिक विवाह गराइदिएका थिए ।

मुम्बईबाट ११२ किलोमिटर टाढा रहेको पालघरमा आयोजित सामूहिक विवाह समारोहमा गरगहनादेखि उपहार र खानेकुराको खर्चसमेत उनीहरुले नै व्यहोरेका थिए ।

त्यसको केही दिनपछि उनीहरुको विवाहपूर्वको ‘सङ्गीत’ समारोह आयोजना गरिएको थियो । त्यस समारोहमा अम्बानी परिवारका सदस्यले पहुनाका लागि गीत सङ्गीत प्रस्तुत गर्दै नृत्य गरेका थिए ।

सो समारोहमा जस्टिन बिबरजस्ता विख्यात कलाकार र सेलिब्रेटीले प्रस्तुती दिएका थिए । उनले एक प्रस्तुतिका लागि निकै महङ्गो पारिश्रमिक लिएका थिए ।

केही दिनअघि जुलाई ८ का दिन उनीहरुले हल्दी समारोहको आयोजना गरेका थिए । त्यसपछि मुम्बईमा रहेको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आज उनीहरुको विवाह हुँदैछ । शनिबार नवविवाहित जोडीलाई पाहुनाले आर्शिवाद दिने कार्यक्रम तय भएको छ । आइतबार भने विवाहभोजको आयोजना हुनेछ ।

बेहुला बेहुलीको परिवार

बेहुलाका बाबु मुकेश अम्बानी एसियाका सबैभन्दा धनी र विश्वका नवौँ धनी अर्बपति हुन् । अमेरिकी अखबार फोब्र्सका अनुसार ६६ वर्षे अम्बानीको कुल सम्पत्ति १ खर्ब १६ अर्ब अमेरिकी डलर छ । उनको स्वामित्वमा रहेको रिलायन्स इण्डस्ट्रिजले तेल, ग्यास, टेलिकमजस्ता कैयौँ व्यवसाय सञ्चालन गर्दै आएको छ ।

मुकेश अम्बानीका छोराछोरी पनि व्यवसायमा संलग्न छन् । उनका जेठा छोरा आकाश अम्बानी रिलायन्स जियोका अध्यक्ष छन् भने छोरी ईशा खुद्रा व्यवसाय हेर्दै आएकी छिन् । नवदुलाहा कान्छा छोरा रिलायन्सको ऊर्जा व्यवसायमा संलग्न छन् । बेहुला अनन्तले ब्राउन विश्वविद्यालयबाट ब्याचलर्स डिग्री हासिल गरेका छन् । उनले गुजरातस्थित जामनगरमा जनवरका लागि आश्रयस्थल पनि बनाएका छन् ।

नवदुलही राधिका मर्चेन्टका बाबु विरेन मर्चेन्ट औषधि उद्योग सञ्चालन गर्दै आएका छन् । राधिका भने बाबुकै इनकोर हेल्थकेयर कम्पनीमै बजार निर्देशकको भूमिका छिन् । उनी न्यूयोर्क विश्वविद्यालयबाट ग्राजुएट भएकी हुन् । उनी शास्त्रीय नृत्यमा पनि निपुण छिन् ।

भोग म्यागजिनका अनुसार आकाश र राधिकाबीच सन् २०१७ मा एक जना साझा साथीमार्फत् चिनजान भएको थियो । पहिलो पटक भेट भएदेखि नै आफूहरुमा ‘केही विशेष रहेको’ अनुभव गरेको राधिकाले भोग म्यागजिनलाई बताएकी छिन् । त्यसको केही समयलगत्तै आफूहरु डेटिङ जान थालेको उनले बताएकी छिन् ।

को को छन् पाहुना ?

यस विवाह समारोहमा विश्वविख्यात नेता, व्यवसायी, सेलिब्रेटी, खेलाडीलाई निम्तो दिइएको छ । विवाहमा १२ सय जनालाई निम्तो दिइएको छ । निम्ता पाउनेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन् । मोदी विवाहमा जाने निश्चित रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

अम्बानीले कांग्रेस पार्टीको नेतृत्वमा रहेका गान्धी परिवारलाई पनि निम्ता दिएको भएपनि उनीहरु भने विवाहमा नआउने जनाइएको छ ।

अम्बानीको विवाहको निम्तो पाउने अन्य भारतीय राजनीतिक नेताहरुमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडु, तामिल नाडुका मुख्यमन्त्री एमके स्टालिन पनि छन् ।

त्यसबाहेक बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन, टोनी ब्लेयर, अमेरिकी नेतृ हिलारी क्लिन्टन, सेलिब्रेटीहरु किम र कोले कर्डशियन, सामसुङका प्रमुख जे ली, साउदीको आराम्को तेल कम्पनीका अमिन नासेर, लकहिड मार्टिन कम्पनीका जिम टाइक्लेट, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका प्रमुख गियान्नी इन्फान्टिनोलाई पनि निम्ता दिइएको छ ।

विवाह समारोहमा बलिउडका प्रायः सबै सेलिब्रेटीलाई निम्ता पठाइएको छ । अम्बानीले एशियाका दोस्रो धनी गौतम अडानीलाई पनि निम्ता दिएका छन् भने क्यानाडाका पूर्वप्रधानमन्त्री स्टिभन हार्पर, अमेरिकाका पूर्वविदेशमन्त्री जोन केरीलाई पनि विवाहको निम्तो दिइएको छ ।

विवाहमा आउने पाहुनाका लागि एक सयभन्दा धेरै निजी जहाजको प्रयोग हुने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । त्यसबाहेक अम्बानीले पाहुनाका लागि तीन वटा फाल्कन २००० जेट पनि उडाउने र ती जेटले भारतका विभिन्न ठाउँबाट पाहुनालाई विवाह समारोहस्थल लैजाने बताइएको छ ।

खर्च कति ?

अम्बानीले आफ्ना छोराको बिहेमा ५ हजार करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ । यो रकम अमेरिकामा हरेक वर्ष आयोजना हुने १० वटा ओस्कर समारोहको कुल खर्च बराबर हुन आउँछ । तैपनि यो खर्च अम्बानी परिवारको कुल सम्पत्तिको केबल शून्य दशमलब ५ प्रतिशत हो ।

सुन्दा धेरै सुनिएपनि अम्बानी परिवारले अनन्तको बिहेमा औसत भारतीय परिवारभन्दा कम खर्च गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । औसतमा भारतीय परिवारले बिहेका लागि ५ देखि १५ प्रतिशत खर्च गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?