काठमाडौँ– अमेरिकी महादेशकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अमेरिकाका १४ शहरले २०२४ को कोपा अमेरिका आयोजना गरिरहेका छन् ।
कोपा अमेरिकाको क्वार्टरफाइनलमा अर्जेन्टिना, इक्वेडोर, भेनेजुएला, क्यानाडा, कोलम्बिया, पानामा, उरुग्वे र ब्राजिल पुगेका छन् ।
क्वार्टरफाइनलको पहिलो खेलमा अर्जेन्टिना र इक्वेडोर भिड्दैछन् । अर्जेन्टिना समूह एको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
समूह चरणमा अर्जेन्टिनाले खेलका तीन खेलमा शत प्रतिशत नतिजा निकाल्यो । उसले क्यानाडा, चिली र पेरुलाई पराजित गर्यो । उता इक्वेडोर भने समूह बीको उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको हो ।
समूह चरणमा इक्वेडोरले एक खेलमा जित, एकमा बराबरी र एकमा हार व्यहोर्यो । समूह चरणमा इक्वेडोरले जमैकालाई पराजित गरेको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।
भेनेजुएलासँगको खेलमा भने इक्वेडोर २–१ गोलअन्तरले पराजित भएको थियो । अर्जेन्टिना र इक्वेडोरबीचको खेल अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा रहेको एनआरजी रंगशाला नेपाली समयअनुसार भोलि बिहान पौने ७ बजे शुरु हुनेछ ।
कोपा अमेरिकाको दोस्रो क्वार्टरफाइनलमा भेनेजुएला र क्यानाडाबीच प्रतिस्पर्धा हुनेछ । समूह बीको विजेता बन्दै भेनेजुएला क्वार्टरफाइनल प्रवेश गरेको हो ।
समूह चरणमा भेनेजुएलाले खेलेका तीन खेलमध्ये तीन वटै खेलमा जित हासिल गर्यो । समूह चरणमा भेनेजुएलाले इक्वेडोर, मेक्सिको र जमैकालाई पराजित गर्यो ।
उता क्यानाडा भने समूह एको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको हो । समूह चरणमा क्यानाडाले एक खेलमा जित एकमा बराबरी र एक खेलमा पराजय व्यहोर्यो ।
समूह चरणमा क्यानाडाले पेरुलाई पराजित गरेको थियो भने अर्जेन्टिनासँग २–० गोलअन्तरले हार व्यहोरेको थियो । चिलीसँग भने क्यानाडाले गोलरहित बराबरी खेलेको थियो ।
भेनेजुएला र क्यानाडाबीचको क्वार्टरफाइनल खेल शनिबार बिहान पौने ७ बजे टेक्सस राज्यस्थित डालस फोर्टवर्थ एरियाको एटीएण्डटी रंगशालामा शुरु हुनेछ ।
क्वार्टरफाइनलको तेस्रो खेलमा कोलम्बिया र पानामाबीच भिडन्त हुनेछ । समूह डीको विजेता बन्दै कोलम्बिया क्वार्टरफाइनल प्रवेश गरेको हो ।
समूह चरणमा कोलम्बियाले खेलेका तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो । समूह चरणमा कोलम्बियाले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको थियो भने पारग्वे र कोस्टा रिकालाई पराजित गरेको थियो ।
उता पानामा भने समूह सीको उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको हो । समूह चरणमा पानामाले तीन खेल खेलेकोमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । समूह चरणमा पानामाले उरुग्वेसँग पराजय व्यहोरेको थियो भने अमेरिका र बोलिभियालाई पराजित गरेको थियो ।
पानामा र कोलम्बियाबीचको खेल नेपाली समयअनुसार आइतबार सबेरै पौने ४ बजे एरिजोना राज्यको फिनिक्समा रहेको स्टेट फार्म रंगशालामा शुरु हुनेछ ।
कोपा अमेरिकाको अन्तिम क्वार्टरफाइनल खेल भने उरुग्वे र ब्राजिलबीच हुनेछ । उरुग्वे समूह सीको विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
समूह चरणमा उरुग्वेले तीन खेल खेलेकोमा तीन वटै खेलमा जित हासिल गरेको थियो । समूह चरणमा उरुग्वेले पानामा, अमेरिका र बोलिभियालाई पराजित गरेको थियो ।
उता ब्राजिल भने समूह डीको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको हो । क्वार्टरफाइनलमा पुग्न ब्राजिलले एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाल्यो ।
समूह चरणमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको थियो भने कोस्टा रिका र कोलम्बियासँग बराबरी खेलेको थियो । ब्राजिल र उरुग्वेबीचको क्वार्टरफाइनल खेल अमेरिकाको नेभादा राज्यस्थित पाराडाइजमा रहेको एलिजायन्ट रंगशालामा आइतबार बिहान पौने ७ बजे शुरु हुनेछ ।
सेमिफाइनलका खेलहरु भने जुलाई १० र ११ मा आयोजना हुनेछ । प्रतियोगिताको तेस्रो स्थानको खेल जुलाई १४ मा हुनेछ भने फाइनल जुलाई १५ मा पौने ६ बजे फ्लोरिडाको मायामीमा रहेको हार्ड रक रंगशालामा आयोजना हुनेछ ।
सन् १९१६ देखि आयोजना हुन थालेको कोपा अमेरिकाको सबैभन्दा धेरै उपाधि अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उचालेका छन् । त्यसपछि ब्राजिलले सबैभन्दा धेरै ९ पटक कोपा अमेरिका जितेको छ ।
त्यस्तै, पाराग्वे, चिली र पेरुले समान दुई पटक कोपा अमेरिका जितेका छन् । बोलिभिया र कोलम्बियाले भने समान एक पटक कोपा अमेरिकाको उपाधि जितेका छन् ।
क्वार्टरफाइनलका खेलहरु शुरु हुँदै गर्दा आम फुटबल पारखीमाझ यसपालीको कोपा अमेरिकाको उपाधि कसले उचाल्छ भन्ने चासो सर्वत्र छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया