मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अपाङ्गता भएका दश जनालाई उन्नत जातका बाख्रा वितरण

तनहुँ – जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई÷दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो । 

अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय अपांगता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले बताए । उनका अनुसार घिरिङ–१ बाट तुलसी कुमाल, बिष्ने दमाई, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाई, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको छ । 

वडा नं ५ निवासी २८ वर्षीय संगीता नेपाली दुवै खुट्टा टेक्न नसक्ने अशक्त रहेकीले दुईवटा ‘क्यालिपर’ खुट्टा जडान गर्ने पहल भइरहेको श्रेष्ठले बताउनुभयो । योसँगै नेपाली वैशाखीको प्रयोगले सामान्य हिँडडुल गर्न सक्ने उनको भनाइ छ ।

‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिका लागि राज्यले मासिक भत्ताको व्यवस्था गरेको छ, समिति सदस्य सचिव श्रेष्ठले भने, ग र घ वर्गका अपांगता भएकालाई यस वर्षदेखि गाउँपालिकाले आयआर्जनतर्फ उन्मुख गराउन थालेको हो । गाउँपालिकाभित्र दुई सय ८२ जनाले विभिन्न किसिमका अपांगता परिचयपत्र लिइसकेका छन् । 

ग वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपांगता रहेका अपांगता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपांगता भएका व्यक्तिमा थप उत्साह मिलेको छ । गाउँपालिकाले उदाहरणीय कार्य सुरु गरेको छ, यसबाट अपांगता भएका व्यक्तिले राहतको महसुस गरेका छन् । 

शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न गाउँपालिकाले पहलकदमी गर्दै आएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । मध्यम र सामान्य गरी ६२ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्न पालिकाले प्रक्रिया अगाडि बढाइसकेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?